४५ दिनअघि एक सरकारी अस्पतालमा जाँच गराउँदा त्यहाँका डाक्टरले मलाई भिरिंगी (Syphilis) भएको कुरा बताउनुभयो । त्यसपछि मैले अरू अस्पतालमा गएर VDRL गराउँदा त्यस्तो रोग देखिएन । मैले यो रोगविरुद्ध इन्जेक्सन लिनुपर्छ कि के गर्दा राम्रो होला ?
–आभाष
भिरिंगी के हो ?
भिरिंगीलाई अंग्रेजीमा सिफिलिस (syphilis) भनिन्छ । यो रोग यौन सम्पर्कको माध्यमबाट सर्ने भएकाले हामी यसलाई यौनरोग भन्छौं । यो रोग गर्भवती महिलाबाट शिशुमा पनि सर्छ । यो Treponema pallidum भनिने सूक्ष्म जीवाणुका कारणले हुन्छ । कुनै बेला प्रमुख स्वास्थ्य समस्या मानिने सिफिलिस पेनेसिलिनजस्ता प्रतिजैविकी औषधीको विकास र प्रयोग पछि कम भएर गएको छ ।
भिरिंगी तीन stages मा हुन्छ । १. Early or primary syphilis: हुँदा नदुख्ने किसिमको घाउ देखिन्छ । प्रत्यक्ष सम्पर्कमा आएको यस्तै ३ हप्ता (१० देखि ९० दिनमा) यौनांग वा ओठमा घाउ देखिन्छन् । उपचार नगरेको अवस्थामा पनि यी घाउ यस्तै ६ हप्तामा हराएर जान्छन् । २. Secondary stage: प्रत्यक्ष सम्पर्कमा आएको ६ हप्तादेखि ६ महिनासम्ममा यसको सुरुवात हुन सक्छ र यसको अवधि यस्तै १ देखि ३ महिना सम्म हुन्छ । हत्केला वा पैतालामा तामा रंगको rashes आउँछ । अन्य लक्षणमा मुखभित्र सेतो दाग आउने, लसिका ग्रन्थि सुन्निने, ज्वरो आउने तथा तौल घट्ने हुन सक्छ । उपचार नगरेको स्थितिमा पनि यी सबै आफैं हराएर जान्छन् । एक थरीको सिफिलिस जसलाई latent syphilis भनिन्छ, मा भने कुनै किसिमको लक्षण देखिँदैन । ३.Tertiary syphilis : उपचार नगरिएको स्थितिमा सिफिलिस यो स्थितिमा पुग्छ र ह्दय, मस्तिष्क अनि स्नायुलाई असर गर्छ र गम्भीर असरहरू जस्तै कि पक्षाघात, बिर्सन रोग, अन्धोपन, बहिरोपन, लिंग उत्तेजना नहुनेदेखि मृत्युसम्म हुन सक्छ, तर अहिले आधुनिक औषधीको प्रयोग भएको युगमा विरलै मात्र त्यस्तो स्थिति सिर्जना भएको पाइन्छ ।
निदानका लागि परीक्षण
भिरिंगी हो कि होईन भनेर विभिन्न किसिमका रगत परीक्षण गरिन्छ । सामान्य रूपमा धेरै प्रयोग गरिने परिक्षणहरू Rapid Plasma Reagin (RPR) test, Veneral Disease Research Laboratory (VDRL) test, Treponema Pallidum-Particle Agglutination (TB-PA) test तथा Fluorescent Treponemal Antibody Absorption (FTA-ABS) test हुन् । सिफिलिस गराउने Treponema pallidum शरीरमा प्रवेश गरिसकेपछि हाम्रो शरीरले प्रवेश गरे पछि त्यसको विरुद्ध प्रतिजैविकी (antibodies) निकाल्छ । यसमध्ये RPR तथा VDRL परीक्षणमा भने ती प्रतिजैविकी रगतमा छ कि छैन भनेर हेरिन्छ । यी परिक्षण निकै संवेदनशील हुन्छन् अर्थात् रोग भएर पनि नभएको भनेर देखाउँदैन, तर यहाँ पनि केही कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । भर्खर संक्रमण भएका व्यक्तिमा घाउ (Chancre) देखिँदा यस्तै २५ प्रतिशतमा मात्र पोजिटिभ, एक हप्तापछि ५० प्रतिशत अनि २ हप्तामा ७५ प्रतिशत तथा ३ देखि ४ हप्तामा सबैजसोमा पोजिटिभ हुन्छ भने secondary syphilis हुँदासम्म १ सय प्रतिशत नै पोजिटिभ देखिन्छ । उपचारका क्रममा औषधी सही मात्रामा परेको छैन, रोगको विस्तार अनि देखिने लक्षण र परीक्षण दुवैमा गडबडी हुन सक्छ । संक्रमण भएको पक्का गर्न TP–PA jf FTA-ABS प्रयोग गरिन्छ ।
उपचारका कुरा
तपाईं आफ्नो उपचारका लागि अस्पताल वा क्लिनिक पुग्नुभएको पाइन्छ । तपाईं त्यहाँ किन जानुभयो ? खुलाउनुभएको छैन । तपाईं यसरी परिक्षण गराउन जानुको कुनै कारण त होला नै । कुनै पनि रोगको उपचार गराउनुभन्दा पहिले रोग भएको पक्का गरिने कार्य महत्वपूर्ण हुन्छ । तपाईंले आफ्नो यौन क्रियाकलाप, यौन संक्रमण सर्ने सन्दर्भमा जोखिमपूर्ण व्यवहार, तपाईंमा देखिएको संक्रमणका लक्षण आदिका सम्बन्धमा विस्तृत जानकारी दिनुभएको छैन । परीक्षण पक्कै महत्वपूर्ण पक्ष हो तर कुनै पनि रोगको निदान गर्न तपाईंको जोखिम पूर्ण यौन क्रियाकलापदेखि रोगको ईतिहास, के–कस्ता लक्षण देखिए जस्ता कुरा पनि महत्वपूर्ण हुन्छन् । तपाईंले आफ्नो प्रश्नमा यस विषयमा केही उल्लेख गर्नुभएको छैन ।
चिकित्सकले तपार्इंसँग यी सबैका बारेमा सोध्नुभयो होला, शारीरिक परीक्षण गर्नुभयो होला अनि पक्कै पनि प्रयोगशाला परीक्षणको सन्दर्भमा रगतको परिक्षण गराउनुभयो होला । तपाईंलाई अस्पतालमा भिरंगीको निदान गर्न केही परीक्षण गराइएको हुनुपर्छ । तपाईंले यसका बारेमा पनि केही लेख्नुभएको छैन । तपाईंको रोग भिरंगी हो भनेर निष्कर्षमा पुग्ने पक्कै पनि केही आधार हुनुपर्छ, त्यसै त पक्कै भन्नुभएन होला ।
यहाँ अर्को महत्वपूर्ण पक्ष तपाईंले किन अर्को ठाउँमा गएर VDRL जाँच गराउनुभयो भन्ने हो । आफूलाई भिरिंगी भएको विश्वास नलाग्ने आधारहरू पक्कै तपाईंसँग थिए वा छन् होलान् । तपाईंले त्यसका बारेमा पनि केही लेख्नुभएको छैन । खुलाएर लेख्नुभएको भए समाधानका बारेमा चर्चा गर्न सजिलो हुने थियो ।
VDRL परीक्षणले संक्रमणको सक्रियतालाई देखाउँछ । उपचारपछि बिस्तारै यी सामान्य अवस्थामा आउँछन् । पेनिसिलिन भिरिंगीको उपचारका लागि सबैभन्दा राम्रो औषधी मानिन्छ । यसको एलर्जी भयो भने अन्य वैकल्पिक प्रतिजैविकी औषधी प्रयोग गरिन्छ ।
तपाईंलाई यस विषयमा द्विविधा छ भने एकपटक यौन रोग विशेषज्ञकहाँ गै आफ्नो यौन क्रियाकलाप, रोगको इतिहास अनि अहिलेका कुरा सबै खुलस्त भनी उपचारसम्बन्धी छलफल गर्नुहोला र उहाँको सल्लाहअनुसार उपचार गराउनुहोला । यदि भिरंगी भएको पक्का भए आफू र यौन साथीको पूर्ण उपचार गराउनुहोला । लक्षण हराएर जाँदा उपचार नगरे पनि निको भयो भन्ने नमान्नुहोला ।