साप्ताहिक संवाददाता
१३ वर्षकै उमेरदेखि मोडलिङमा सक्रिय जेनी शेर्पा अहिले १८ वर्षकी भइन् । यो अवधिमा जेनीले दर्जनौं फेसन शोमा क्याटवाक गरिसकिन् भने थुप्रै विज्ञापनमा मोडलिङ पनि गरिन् । उनले विद्यालयमै छँदा नाटकहरूमा समेत अभिनय गरेकी थिइन् ।
सानै उमेरदेखि मोडलिङ सक्रिय भएकाले होला शेर्पा फेसन उद्योगसँग नजिक छिन् । जेनीले नेपालमा मात्र होइन भारतमा आयोजित नृत्य प्रतियोगितामा समेत उपाधि जितिसकेकी छिन् । अहिले आएर जेनीले अभिनय तथा फेसन उद्योगमा करियर बनाउने निर्णय गरेकी छिन् ।
थुप्रै नाटकमा अभिनय गरेका कारण आफूमा भएको अभिनय क्षमता उनले बुझेकी छिन् । समयले साथ दिएको खण्डमा आफू चलचित्रमा समेत आउन सक्ने जेनीको भनाइ छ । फेसन शोहरूमा कोरियोग्राफरका रूपमा समेत काम गरिसकेकी जेनी अध्ययनमा समेत अब्बल छिन् ।
ए लेभलको अध्ययन पूरा गरेकी शेर्पाले आफूलाई इन्टरप्रेनरका रूपमा समेत स्थापित गर्ने लक्ष्य लिएकी छिन् । ‘एकै पटक धेरै वटा क्षेत्रमा हात हाल्न त गाह्रो छ, जेनी भन्छिन्– फेसन र अभिनयलाई सँग–सँगै लान सकें भने सफल हुनेछु भन्ने विश्वास छ ।