पोखरामा क्रिसमसको विशेष रौनक हुन्छ । विशेषगरी पर्यटकको आउजाउ बढी हुने लेकसाइड क्षेत्रमा क्रिसमसलाई लक्षित गरी विभिन्न कार्यक्रम प्रस्तुत गरिन्छ । क्रिसमसदेखि अग्रेजी नयाँ वर्षको दिनसम्म यहाँ विभिन्न कार्यक्रम भैरहेका हुन्छन् ।
क्रिसमसको अवसरमा विभिन्न साँगीतिक कार्यक्रम, फेसन सो सहित क्रिसमस पार्टीसमेत हुन्छन् । क्रिसमसको अवसरमा होटल पोखरा ग्राण्डस्थित भुँडो लाउञ्ज बारमा फेसन सो सहितको सांगीतिक कार्यक्रम हुँदैछ । ओसिस इन्टरटेनमेन्टले आयोजना गर्ने उक्त कार्यक्रममा फेसन रनवेका साथमा लाइभ ब्यान्डको प्रस्तुति रहनेछ । फेसन सो मा पोखरा, तनहुँ तथा कपिलवस्तुका २० जना मोडल विभिन्न सिक्वेन्समा र्याम्प वाकमा उत्रनेछन् ।
उक्त अवसरमा हिना मल्ल, विश्वाश उप्रेती, सुविन सिँहसहित नेपाल आइडल सिजन–२ का उत्कृष्ट २० मा परेका कलाकारको प्रस्तुतिसमेत समेटिनेछ जसको ब्याकअप ब्यान्डका रूपमा फुल भोलुम रहनेछ । यही अवसरमा डिजे सिजन, डिजे कालु, डिजे फ्लोरा जिको डिजे सेसनमा रम्ने अवसर पाइनेछ । पुस ९ गते बेलुकी ७ बजे सुरु हुने कार्यक्रम भोलिपल्ट विहानसम्म चल्ने बताइएको छ ।
लेकसाइडस्थित दरबार पोखरा क्याफे म्युजिक लाउञ्जमा क्रिसमस इभ कार्यक्रम हुँदैछ जहाँ नेपाली रक व्याण्ड द एक्सको प्रस्तुति आकर्षणका रुपमा रहनेछ । सभागृहचोकको मुग्लान रेस्टुराँले पनि क्रिसमसको अवसरमा पुस १० गते क्रिसमस स्पेसल कार्यक्रम गर्दैछ ।
लेकसाइडको डुङ्गा रेष्ट्रो एन्ड लाउञ्ज बारमा मेरि क्रिसमस इभेन्ट हुँदैछ । उक्त कार्यक्रममा इन्फ्लेम व्यान्डको संगीतमा रम्न पाइनेछ । ओजन रेष्टुरेन्ट एन्ड लाउञ्जमा समेत क्रिसमस सेलिब्रेसन गर्ने अवसर पाइनेछ ।