साप्ताहिक संवाददाता
स्मार्टफोनको प्रयोगसँगै अहिले विभिन्न सोसल मिडियामा भिडियो कन्टेन्टहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । स्मार्टफोनमा रहेको एचडी क्यामेरा, एपस्टोरमा रहेको भिडियो एडिटिङ एपका साथै इन्टरनेटको सर्वसुलभताले गर्दा नै भिडियो कन्टेन्टको संख्या वृद्धि भएको पाइन्छ ।
प्रयोगकर्ताहरूलाई भिडियो कन्टेन्ट राख्न आकर्षित गर्न सोसल मिडियाहरूले पनि राम्रै प्लेटफर्म दिएका छन् । अहिले अधिकांश सोसल मिडियामा भिडियो कन्टेन्ट अपलोड गर्न मिल्ने सुविधा अनिवार्य हुँदै गएको छ, जसका कारण प्रयोगकर्ताहरूले यसको भरपुर फाइदा र आनन्द उठाइरहेका छन् । भिडियो प्लेटफर्मका लागि अहिले सर्वाधिक लोकप्रिय सोसल मिडिया भनेकै युट्युब भएको छ । युट्युबले भिडियो हेरेबापत अपलोडकर्तालाई सोहीअनुसार राम्रै रकम दिने हुनाले पनि अहिले भिडियो अपलोड गर्नेहरूको मुख्य आकर्षण यसमा छ । यसबाहेक फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता अरू साइटले पनि भिडियो प्लेटफर्मलाई खुला गरेका छन् । केही सञ्जालले देश विशेष र प्रयोगकर्ता विशेषलाई रकम दिए पनि युट्युबले जस्तो मोनिटाइज भएका सबै च्यानललाई दिएजस्तो भने दिँदैनन् ।
युट्युबले गरेको एक सर्वेक्षणअनुसार अहिले युट्युबका प्रयोगकर्ताको संख्या १ अर्ब ३२ करोड ५० लाख छ । युट्युबमा एक मिनेटमा ३ सय घण्टा बराबरको भिडियो अपलोड हुने गरेको छ भने दैनिक ४ अर्ब ९७ करोड भिडियो दैनिक हेर्ने गरिएको छ । उक्त सर्वेक्षणअनुसार मोबाइलमा मात्र दैनिक १० अर्ब भिडियोहरू हेरिन्छ, जसमा १८ देखि ४९ वर्षसम्मका व्यक्तिको संख्या सर्वाधिक छ ।
युट्युब वा अन्य भिडियो अपलोड गर्ने सोसल मिडियाले भिडियोको कुनै किसिमको मापदण्ड तोकेको छैन । बस प्रयोगकर्ताले हेर्ने किसिमको भिडियो भए पुग्छ । युट्युबले आफूले खिचेको भिडियोलाई (इन्टरनेटको गति राम्रो छ भने) लाइभसमेत गर्न मिल्ने सुविधा दिएको छ । यदि इन्टरनेटको सुविधा छैन र उक्त भिडियोलाई आकर्षक बनाएर अपलोड गर्ने सोच छ भने प्लेस्टोरमा भिडियो एडिट गर्ने सयौं एप्स छन् । यी एप्सहरूलाई नि:शुल्क डाउनलोड गर्न मिल्नुका साथै केहीलाई शुल्कसमेत तिर्नुपर्ने हुन्छ ।
यस्ता एप र स्मार्टफोन प्रयोग गरेर भिडियो निर्माण गर्ने युट्युबरको संख्या लाखौं छ । उनीहरूले भिडियोको क्वालिटीभन्दा पनि कन्टेन्ट देखाएर राम्रै आम्दानी गरेको पाइन्छ । युट्युबमा भिडियो अपलोड गर्नेहरूले भिडियो क्यामेराले भन्दा पनि स्मार्टफोनको क्यामेराले खिचेको भिडियो अपलोड गर्ने गरेका छन् ।
सोसल मिडियामा भिडियो अपलोड गर्नेहरूको मुख्य उद्देश्य मनोरञ्जन दिनु, पैसा कमाउनु र आफ्नो व्यापार प्रवद्र्धन गर्नु नै देखिएको छ । अहिले धेरै कम्पनीले सोसल मिडिया मार्फत आफ्नो व्यापार बढाउने भिडियोहरू निर्माण गरिरहेका छन् भने स्वतन्त्र भिडियो निर्माणमा लागेकाहरू भाइरल हुने किसिमका भिडियो अपलोड गरेर राम्रै आम्दानी गरिरहेका छन् ।
युट्युबमा कति भिडियो
सन् २००५ अप्रिल २३ तारिखमा जावेद च्यानलले ‘मि एट द जु’ शीर्षकमा पहिलो भिडियो अपलोड गरेको थियो ।
युट्युबका अहिले प्रयोगकर्ताहरूको संख्या १ अर्ब ३० करोडभन्दा बढी छ ।
युट्युबमा प्रत्येक मिनेट ३ सय घण्टा बराबरको भिडियो अपलोड हुन्छ ।
युट्युबमा एक दिनमा ५ अर्ब भिडियो हेरिने गरेको छ ।
युट्युबमा दैनिक ३ करोड प्रयोगकर्ता आउने गरेका छन् ।
औसत रूपमा १८ देखि ४९ वर्षका व्यक्तिले युट्युब बढी हेर्ने गरेका छन् ।
युट्युबमा १० हजार १ सय १३ भिडियोमध्ये एउटा भिडियोले १ अर्ब भ्यू पाउने गरेको छ ।
युट्युबका भ्युअर्समध्ये ८० प्रतिशतभन्दा बढी मानिस अमेरिका बाहिर छन् ।
युट्युबका भिडियोमध्ये दैनिक १ अर्ब भिडियो मोबाइलमार्फत हेरिन्छ ।
मोबाइलबाट भिडियो हेर्दा औसत एक व्यक्तिले ४० मिनेट खर्च गर्छन् ।
युट्युब हेर्ने दर्शकमा महिला ३८ तथा पुरुष ६२ प्रतिशत छन् ।
७० प्रतिशत दर्शकले मोबाइल डिभाइस मार्फत युट्युब हेर्ने गरेका छन् ।
युट्युबलाई अहिले ९१ वटा भाषामा चलाउन मिल्ने बनाइएको छ ।