साप्ताहिक संवाददाता
‘कति फेसबुक चलाएको...?’ यदि कसैले मोबाइल चलाइरहेको देखियो भने जोकसैले भन्ने कुरा यही नै हो । यद्यपि उक्त व्यक्तिले मोबाइलमा फेसबुक नै चलाइरहेको छ अथवा अन्य कुनै एप चलाइरहेको छ, त्यसले फरक पार्दैन । हुन पनि आज मोबाइल भन्नेबित्तिकै सामाजिक सञ्जाल नै भन्ने बुझिन्छ । मोबाइलमा चलाइने सामाजिक सञ्जालकै कारण समाजमा कतिपय व्यक्ति सेलिब्रेटी भैसकेका छन् ।
फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब, टिक टकजस्ता सामाजिक सञ्जालले सर्वसाधारणहरूलाई समेत सेलिब्रेटी बनाइदिएको छ । तिनै सेलिब्रेटीमध्येकी एक हुन्— प्रतिज्ञा तामाङ । इन्स्टा सेलिब्रेटीका रूपमा परिचित प्रतिज्ञालाई इन्स्टाग्राममा प्रोमिस तामाङका नामले चिनिन्छ । इन्स्टाग्राममा उनको भेरिफाइड एकाउन्टलाई १३ लाखभन्दा बढीले फलो गरेका छन् । इन्स्टाग्राममा उनले पोस्ट गर्ने हरेक सामग्री लाखौं पटक हेरिन्छ भने हजारौंले त्यसमा लाइक तथा कमेन्ट गर्छन् ।
गोरखामा जन्मिएकी प्रतिज्ञाले युट्युबमा भने युट्युब मेकअप गुरुको उपाधि पाएकी छिन् । युट्युबमा उनले पहिलो पटक नृत्य गरेको भिडियो अपलोड गरेकी थिइन् । युट्युबमा उनी प्रोमिस फ्यान शीर्षकको च्यानलमा भेटिन्छिन्, जसलाई १३ लाखभन्दा बढीले सबस्क्राइब गरेका छन् । कुनै बेलाकी लोकप्रिय रेडियोकर्मी सबिना कार्की पनि सोसल साइटकी सेलिब्रेटी हुन् । रेडियो कान्तिपुरमा यो माया भन्ने चिज यस्तै हो कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी सबिना अहिले पोडकास्टरका रूपमा सक्रिय छिन् । उनको फेसबुक पेजलाई ७ लाख २८ हजारभन्दा बढीले लाइक गरेका छन् भने ट्विटरमा उनका २ लाख ३७ हजार फलोअर्स छन् ।
इन्टाग्राममा उनलाई १ लाख ७ हजार ८४ जनाले फलो गरेका छन् । डा. बाबुराम भट्टराई राजनीतिक व्यक्तित्व हुन् । यद्यपि उनलाई ट्विटर सेलिब्रेटीका रूपमा समेत चिनिन्छ । डा. भट्टराईको भेरिफाइड ट्विटर हेन्डललाई १० लाख ४३ हजार ९ सय जनाले फलो गरेका छन्, जुन कुनै पनि नेपालीको सबैभन्दा बढी फलोअर्स भएको ट्विटर एकाउन्ट हो । सिसन बानियाँ चल्तीका युट्युबर हुन् ।
बानियाँले मिस नेपाल वल्र्ड श्रृंखला खतिवडाका लागि ब्युटी विद द पर्पोजको भिडियो निर्माण गरेपछि विशेष चर्चा पाए । युट्युब सेलिब्रेटीका रूपमा चर्चित सिसनले आफ्नो च्यानलमा अपलोड गर्ने भिडियो लाखौंले हेर्ने गरेका छन् । सिसन विशेष गरी यात्रासम्बन्धी भिडियो निर्माणमा सिपालु मानिन्छन् ।