साप्ताहिक संवाददाता
जब क्रिसमस नजिकिन्छ, ठमेलस्थित केटु बियर एन्ड स्टिक हाउसमा विदेशीहरूको चहलपहल साविकको तुलनामा निकै बढ्छ । पर्यटकहरू केटुमा बनाइने टर्कीको स्पेसल परिकारको स्वाद चाख्न त्यहाँ पुग्छन् ।
केटु बियर एन्ड स्टिक हाउसका सञ्चालक एकराज अधिकारीका अनुसार क्रिसमसमा ३ देखि ४ वटा टर्की बिक्री हुन्छ । एउटा टर्कीको तौल ५ देखि साढे ५ किलो हुन्छ । झन्डै ७ हजार पर्ने एउटा टर्कीबाट १० देखि १२ वटा आइटम तयार हुन्छ ।
टर्कीको हड्डीलाई रोस्ट गरेर पकाई टर्की स्पेसल सस बनाइन्छ । अंग्रेजी नयाँ वर्ष र क्रिसमसका बेला यसको माग अत्यधिक भएकाले यसको मूल्य पनि बढी हुन्छ । केटुमा क्रिसमसको सुरुवातदेखि नै क्रिश्चियन फ्लेवरमा क्रिसमस मनाइन्छ । हरेक टेबलमा फलफूल र लाइट राखेर रेस्टुराँ सजाइएको हुन्छ ।
क्रिसमसमा सबैभन्दा बढी अर्डर हुने पेय पदार्थ हो— मल्ड वाइन । परम्परागत घरमै पनि तयार पार्न सकिने यो मल्ड वाइन केटु बियर एन्ड स्टिक हाउसमा क्रिसमसको समयमा सबैभन्दा बढी अर्डर हुन्छ । क्यानेडियन नागरिक रोवर्टले केटु बियर एन्ड स्टिक हाउसमा उक्त वाइन बनाउने तरिका सिकाएका थिए । रेड वाइन, ल्वाङ, ओरेन्ज र लेमन जुस, सुगर तथा दालचिनीको धूलोलाई पकाएर सस बनाइन्छ । त्यो ससमा वाइन तताएर सर्भ गरिन्छ । यो वाइन बढी मात्रामा महिलाहरूले पिउँछन् ।
महाराजगन्जस्थित ले शेर्पा खासगरी युरोपियन, इटालियन तथा फ्रेन्च परिकारका लागि प्रख्यात छ । यहाँ लोकल अर्गानिक उत्पादनहरू खरिद गर्न पाइन्छ । क्रिसमसका बेला यहाँ टर्की र अस्ट्रिचका परिकार, मोरेल मसरुम, टुना फिस सबैभन्दा बढी अर्डर हुन्छन् । ले शेर्पामा नर्बेबाट आयात गरिएका माछाबाट बनाइने टुना फिस धेरैले रुचाएको परिकारभित्र पर्छ ।
ठमेल, ज्याठास्थित गैया रेस्टुराँ एन्ड कफीसपमा पम्पकिन सुप, रोस्ट टर्की, क्यानबेरी सस बढी अर्डर हुन्छ । रेस्टुराँका सञ्चालक हरि सापकोटाका अनुसार टर्की नखानेहरूले पोर्क तथा ल्याम (भेडा) अर्डर गर्छन् । त्यसमा पनि खासगरी रोस्ट गरिएका परिकार बढी बिक्री हुन्छन् । बटर बल्ब कम्पनीले विदेशबाट टर्की आयात गरी विभिन्न ठाउँमा सप्लाइ गर्छ । ल्याम (भेडा) पनि अस्ट्ेरलियाबाटै आयात गरिन्छ । अस्ट्ेरलियाको ल्याम्ब चार महिनामै काट्नुपर्छ । यहाँको ब्वाइलर कुखुरा जस्तै हुने ल्याम्ब ठूलो, नरम र केही महँगो हुन्छ । एक केजी ल्याम्बको मूल्य २५ सय रुपैयाँ पर्छ ।
दरबारमार्गस्थित द वल्ड हाउसले हाफ साइज र फूल साइजमा टर्कीका परिकार तयार गर्छ, जुन परिकार समूहमा बसेर खान सकिन्छ । ब्ल्याक राइस रिजटो अर्थात् हिमालतिर पाइने कालो चामलबाट बनेको परिकार स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । यो चामल हुम्ला, जुम्लाबाट ल्याइन्छ । डेजर्टमा न्युयोर्क स्टाइल चिज केक र क्रिसमस पुडिङ बढी अर्डर हुन्छ । त्यसमा ६ थरीको नट्स, ६ थरीको बेरी तथा फ्रुट्स मिसाइएको हुन्छ । हरेक क्रिसमसमा स्पेसल ककटेल र नयाँ–नयाँ परिकारसमेत सर्भ गरिन्छ ।