पूर्वका किरात बस्तीहरूमा साकेला उधौली पर्व प्रारम्भ भएको छ । मंसिर पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किरात राईहरूले धूमधामका साथ यो पर्व मनाइरहेका छन् । भोलि शनिबार पूर्णिमादेखि औपचारिक रूपमा यो पर्व प्रारम्भ हुँदैछ ।
राई समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू खोटाङ, ओखलढुंगा, भोजपुर, इलामका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा काठमाडौं आदि सहरमा पनि धुमधामका साथ साकेला नाचेर यो पर्व मनाइँदैछ । अहिले राईहरू पुगेको प्रवासमा समेत साकेला उधौली मनाउने गरिएको छ । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याउने खुसियालीमा मनाइन्छ ।
प्रकृति पूजक किरात समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । भाषा, संस्कार तथा संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभर छरिएर रहेका किराँतहरू एकआपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउँछन् ।
उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दु:ख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर तथा सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउँछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्छन् । अहिले युवापुस्तामा साकेला उधौलीको आकर्षण बढ्दै गएको छ । आफ्नै भेषभूषामा ढोल, झ्याम्टाका साथ साकेला नाच्दै टोल–टोलमा यो पर्व मनाइन्छ । यो वर्ष पनि सहर बजारदेखि गाउँ–गाउँसम्म जातीय भेषभूषामा सजिएका युवा–युवतीहरू धुमधामका साथ यो पर्व मनाउँदैछन् ।