साप्ताहिक संवाददाता
भन्छ, खेलकुदमा जति ठूलो खेलाडी हुन्छ, उसले संन्यास लिने समयमा उसको प्रदर्शन उत्तिकै खराब हुन्छ । त्यसको अर्थ के पनि हो भने जत्तिकै ठूला खेलाडीले पनि आफूले सोचे जस्तो परिस्थितिमा संन्यास लिन सक्दैनन् । सक्ने हुँदो हो त खेलकुद सबैले भने जस्तै हुने क्षेत्र हुने थियो । शक्ति गौचनले सुरुमै भनिसकेका थिए, यसपटकको ईपीएल–२०१८ उनको खेल जीवनको अन्तिम प्रतियोगिता हुनेछ । शक्तिले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन् ।
नेपालका लागि वान डे क्रिकेट खेल्ने उनको सपना पनि पूरा भैसकेको थियो । सम्भवत: उनको सपना थियो, यसपटक पोखरा राइनोजका लागि ईपीएल–२०१८ जित्ने । सबै भन्दा महँगा खेलाडी तथा विदेशी प्रशिक्षकसहितको पोखरेली टिम राम्रो पनि थियो । यद्यपि टिमको प्रदर्शन सर्वथा बिर्सनलायक रह्यो र पोखराले अंक तालिकामा पुछारमा रहँदै प्रतियोगिताबाट बिदाइ लियो । लगातार हार्ने क्रममा प्रतियोगितामा पोखराको चुनौती पनि चाँडै समाप्त भयो ।
यस्तोमा शक्तिको अन्तिम खेल पनि चाँडै आइपुग्यो र त्यो खेल थियो, चितवन टाइगर्सविरुद्ध । खेल कीर्तिपुरको टीयू मैदानमा थियो र दिन थियो, शनिबार । त्यसैले लगभग १० हजार दर्शक मैदानमा थिए, आफ्ना प्रिय खेलाडीको अन्तिम खेल हेर्न । जति बेला साँच्चै संन्यासको क्षण आयो, उनले आफूलाई रोक्न सकेनन । अब तय भएको छ, यिनै शक्ति कुनै पनि खालको प्रतियोगितामा खेलाडीका रूपमा फेरि देखिने छैनन् ।
नेपाली क्रिकेटको इतिहास अविश्वसनीय रूपमा निकै लामो भए पनि त्यसमा गर्व गर्न लायकको क्षण सुरु भएको भने पछिल्लो २० वर्षमा मात्र हो । यसबीच नेपाली क्रिकेटले ठूलै फड्को मारेको छ । नेपालले पनि क्रिकेट खेल्छ, खेल्छ मात्र होइन, राम्रोसँग खेल्छ भनेर जति बेला विश्वले थाहा पायो, त्यति बेलादेखि शक्ति नेपाली क्रिकेटसँग आवद्ध थिए । अहिले नेपाली क्रिकेट जुन स्थितिमा छ, त्यसका साक्षी पनि हुन्— शक्ति ।
गौचन खेलाडीका रूपमा नेपाली क्रिकेटको सबैभन्दा लामो समय सेवा गर्ने खेलाडीहरूमध्ये एक हुन् । उनका समकालीन खेलाडी सबैले यसअघि नै खेल्न छाडिसकेका थिए । उनको आधा भन्दा कम उमेरका खेलाडी अहिले मूल धारको क्रिकेटमा छन्, यही समयबीच पनि शक्तिले अविश्वनीय रूपमा नेपाली क्रिकेटमा आफ्नो उपस्थितिलाई प्रमाणित गरे । यिनै भेट्रान लेफ्ट आर्म स्पिनरलाई उनको बहुमूल्य योगदानका लागि नेपाली क्रिकेट तथा यसका प्रशंसकले कहिल्यै बिर्सने छैनन् ।
अन्तिम खेल टुंगिएपछि पोखरा राइनोजका साथी खेलाडीले उनलाई काँधमा बोके र पूरा मैदान घुमाए । शक्तिको बानी नै हो, जुन सुकै स्थितिमा पनि प्राय: हाँसिरहने तर त्यो दिन भने उनले आफ्नो त्यो हाँसो दिन सकेनन् । उनले आफूलाई सम्हाल्न सकेनन् र निकै भावुक देखिए । यसै क्रममा गौचनले भने, ‘मैले आज जुन माया पाएँ, त्यो मैले नेपाली क्रिकेटमा गरेको इमान्दारितापूर्ण योगदानकै कारण हो । यो बिदाइको क्षणलाई म कहिल्यै बिर्सने छैन ।’
सन् २००२ को एसीसी ट्रफीमा उनले पहिलो पटक नेपालका लागि खेल्ने अवसर पाएका थिए र त्यो खेल ओमानविरुद्ध थियो । त्यसयता उनले लगातार १८ वर्ष क्रिकेट खेले । शक्तिकै शब्दमा नेपाली क्रिकेटको सेवा गर्ने कुरा उनको भाग्यमै लेखिएको थियो । उनले आफ्नो भावना व्यक्त गर्दै भनेका छन्, ‘मैले पहिलो पटक बंगलादेशमा नेपालका लागि सन् २००१ को यू–१७ खेलें । त्यति बेला जब मैले पहिलो पटक बंगलादेशको मैदानमा नेपाली राष्ट्रिय गीत बजेको सुनें, मैले निर्णय गरेको थिएँ, म जे गर्नेछु, नेपाली क्रिकेटकै लागि गर्नेछुं ।’
उनको भनाइमा उनले साँच्चै त्यही गरे, जसलाई उनले माया गर्थे, जसमा उनलाई गर्व पनि थियो । बाल्यकाल तथा किशोरावस्थाको भारत बसाइका क्रममा क्रिकेट सिकेका शक्तिले आफ्नो खेल जीवनको सुरुवात प्रारम्भिक ब्याट्सम्यानका रूपमा गरेका थिए, त्यसै कारणले होला, उनी सिनियर नेपाली क्रिकेट टिमका लागि हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान पनि भए, तर उनको वास्तविक परिचय भने बलरकै रूपमा रहनेछ । उनी नेपालका लागि सय विकेट लिने मेहबुब आलम र वसन्त रेग्मीपछि तेस्रो बलर हुन् ।
शक्तिले यू–१७ एसियाकपमा नेपालको कप्तानी गरेयता यस्तै भूमिका यू–१९ टिमका लागि पनि निर्वाह गरे । उनी त्यस्ता दुर्लभ खेलाडीमा पर्छन्, जसले युवा र सिनियर दुवै टिमका लागि शतक बनाए । सबैभन्दा महत्त्वपूर्ण तथ्य के हो भने नेपालले वल्र्ड क्रिकेट लिग ढाँचामा प्रवेश गरेयता टिमका लागि शतक बनाउने उनी नै पहिलो खेलाडी थिए । उनले यो उपलब्धि सन् २००५ मा डिभिजन टुको क्वालिफायरमा इटालीविरुद्ध हात पारेका थिए ।
शक्तिले नेपालका लागि नौ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेले र त्यसमा आठ विकेट लिए । यस्तै उनले १८ लिस्ट ए खेल पनि खेले र ३२ वटा ट्वान्टी–२० प्रतियोगितामा सहभागिता जनाए । प्रथम श्रेणीको क्रिकेटमा उनले पाँच विकेट लिएका छन् । नेपालका लागि बंगलादेशमा भएको वल्र्ड ट्वान्टी–२० खेल्नु शक्तिको खेल जीवनको सबैभन्दा उत्कर्ष रह्यो । यस्तै खुसी लर्डसमा खेल्दा पनि पनि प्राप्त भयो । अब उनको बाँकी जीवनको उद्देश्य के हुनेछ त ? शक्तिले यस विषयमा पनि खुलासा गरेका छन् ।
उनले भनेका छन्, ‘खेलाडीका रूपमा मेरो जीवन टुंगिएको छ र अब मैले अगाडि बढ्नु नै छ । म नेपाली क्रिकेटबाट टाढा भने हुन्न । अब मैले नयाँ मोड लिनु छ । अब मेरो उद्देश्य भनेको नेपाललाई वान डे क्रिकेटको विश्वकप खेल्न सहयोग गर्नु हुनेछ । त्यति मात्र ह
कसले के भने
पछिल्लो एक दशकमा शक्ति गौचन नेपाली क्रिकेटका मुख्य आधार थिए । उनले संन्यास लिइरहेका छन् भन्ने कुरा सुनेर दु:ख लाग्यो । गौचनलाई आउने दिनमा सफलताका लागि शुभकामना ।
पुबुदु दसानायके
शक्ति गौचनलाई धेरै–धेरै धन्यवाद । उनी नेपाली क्रिकेटका लेजेन्ड हुन् । आफ्नो जीवन खुसीपूर्वक जिउनु ।
विनोद दास
नेपाली क्रिकेटमा पुर्याएको योगदान र समर्थनका लागि शक्तिदाइलाई धन्यवाद । नेपाली क्रिकेट यहाँसम्म पुग्नुमा उहाँको ठूलो योगदान छ । शक्ति गौचन च्याम्पियन खेलाडी हुन् ।
पारस खड्का
नेपाली क्रिकेटमा गरेको समर्पण र योगदानका लागि शक्ति दाइलाई धेरै–धेरै धन्यवाद । नेपाली राष्ट्रिय क्रिकेट टिमले उहाँको अनुपस्थितिलाई सधैं अनुभव गर्नेछ ।
ज्ञानेन्द्र मल्ल
शक्ति दाइलाई उहाँको सफलतम खेल जीवनका लागि बधाई । नेपाली क्रिकेटमा उहाँले पुर्याएको योगदान र जसरी उहाँले आफ्नो खेल जीवनलाई अगाडि लानु भयो, त्यसको बयान शब्दमा गर्न सकिँदैन । शरद भेषवाकर