साप्ताहिक संवाददाता
विद्यार्थीहरूलाई विभिन्न पाठ्य सामग्रीको आवश्यकता पर्छ । अहिले जमाना फेरिएको छ । पहिले जस्तो अहिले पुस्तक मात्र विद्यार्थीको सहयोगी सामग्री रहेन । अब विभिन्न ग्याजेट्सले समेत पाठ्यसामग्रीको भूमिका खेल्न थालेका छन् । यस्तो अवस्थामा विद्यार्थीको छनौटको विषयअनुसार विशेष गरी ल्यापटप अनिवार्य आवश्यकता बन्दैछ ।
ल्यापटपले विभिन्न साइट सर्च गर्न मात्र सहयोग गरेको छैन, यसले इन्टरटेनमेन्ट डिभाइसको कामसमेत गर्दै आएको छ । यसको अर्थ छात्रछात्राहरूले यसमा चलचित्र हेर्नुका साथै म्युजिक समेत सुन्न सक्छन् । त्यसबाहेक उनीहरू समय–समयमा फेसबुकजस्ता सोसियल नेटवर्किङ साइट पनि चलाउँछन् । समय–समयमा विश्वमा भएका विभिन्न जानकारी पनि अपडेट गरिरहन्छन् । यसका लागि उनीहरू गुगल सर्च र अन्य विभिन्न वेबसाइट चलाउँछन् भने समय–समयमा आफ्नो ल्यापटप कलेज पनि लान्छन् ।
के चाहिन्छ ?
सामान्य प्रयोगकर्ताका लागि इन्टेल प्रोसेसर भएको ल्यापटप पर्याप्त छ । उक्त प्रोसेसर नेटबुकमा समेत उपलब्ध हुन्छ, तर विद्यार्थीहरूका लागि धेरै पावर भएको ल्यापटप खरिद गर्नु उपयुक्त मानिन्छ । एएमडी ई–प्रोसेसर भएको ल्यापटपमा युट्युबमा भएको एचडी भिडियोसमेत हेर्न सकिन्छ । यदि अलिकति बजेट बढाउने हो र एचडी डिभिडी पनि हेर्न आवश्यक छ भने इन्टेल आई प्रोसेसर युक्त ल्यापटप किन्न सकिन्छ । नेटबुकमा चाहिँ सिडी वा डिभिडी ड्राइभ हुँदैन ।
डबल च्वाइस
विद्यार्थीका लागि दुई विकल्प हुन सक्छन् । उनीहरू डेढ किलोग्रामभन्दा कम वजनका नेटबुक लिन सक्छन् वा साढे २ किलोग्रामका फुल फ्लेज्ड नोटबुक लिन सक्छन् । यिनको स्क्रिन पनि फरक–फरक हुन्छ । आफ्नो आवश्यकताअनुसार विद्यार्थीले नेटबुक वा नोटबुक छनौट गर्न सक्छन् ।
ब्याट्री लाइफ
एकपटक चार्ज गरेपछि चारदेखि पाँच घण्टासम्म चलाउन मिल्ने ल्यापटप कलेजका लागि उपयुक्त मानिन्छ । हिजोआज प्राय: ल्यापटपमा ६ वटा ब्याट्री हुन्छन् । सामान्य रूपमा प्रयोग गर्दा यी ब्याट्री चार पाँच घण्टा चलेको पाइन्छ, तर सबै ल्यापटपको ब्याट्री लाइफ यति लामो हुँदैन । त्यसैले आफ्नो आवश्यकताअनुसार ब्याट्री लाइफ भएको ल्यापटप छनौट गर्नुपर्छ ।
स्पेसल फिचर्स
आवश्यकताबाहेक मनोरञ्जन र अन्य प्रयोजनका लागि समेत स्पेसल फिचर्स भएका ल्यापटप समेत विद्यार्थीको रोजाइमा पर्न सक्छन् । ल्यापटपमा चलचित्र हेर्न वा एचडी भिडियो हेर्न प्रयोगमा आउने विशेष प्रकारको हार्डवेयर एक्सिरेसन समेत आवश्यक हुन्छ । यसका लागि इन्टेल फ्युजन प्रोसेसर भएको नेटबुक वा इन्टेल एटम प्रोसेसरको करेन्ट जेनरेसन भएको डिभाइस खरिद गर्नुपर्छ ।
मूल्यका कुरा
ल्यापटपमा मूल्यले पनि महत्वपूर्ण भूमिका खेल्छ । विद्यार्थीहरूलाई ल्यापटप किनिदिने काम अभिभावकको भएकाले आवश्यकताअनुसार मूल्यमा सम्झौता गर्न सकिँदैन । सकेसम्म ब्याट्री खप्ने ल्यापटप खरिद गर्नु उपयुक्त हुन्छ ।
र्याम
ब्याचलर लेभलसम्मका विद्यार्थीका लागि दुई जीबी र्याम पर्याप्त हुन्छ, तर बजेट अलि बढी छ भने त्यसभन्दा बढी र्याम भएको ल्यापटप खरिद गर्नुपर्छ ।
हार्ड डिस्क
विद्यार्थीेले आफ्नो अध्ययनसँग सम्वन्धित डकुमेन्ट संकलन गरेर राख्नु आवश्यक हुन्छ । यसबाहेक उनिहरू आफ्नो रुचिका गीत तथा चलचित्र समेत राख्न सक्छन् । ल्यापटपमा घरपरिवार एवं साथीभाइहरूसँग बस्दा र घुम्दा खिचिएका तस्बिर तथा भिडियोसमेत राख्न सकिन्छ । यसका लागि कमसेकम ३ सय २० जीबी क्षमता भएको हार्ड डिस्कको आवश्यकता पर्छ ।
तौल
ल्यापटपको तौल साढे २ किलोग्रामभन्दा बढी हुनु हुँदैन । विद्यार्थीको ल्यापटप त धेरैजसो समय उनीहरूको ब्यागमै हुन्छ । त्यसैले पनि यो हल्का हुनु आवश्यक छ ।