साप्ताहिक संवाददाता
खुल्ला अर्थव्यवस्था भएको नेपाली समाजमा क्रिसमसको बजारले पनि राम्रै हिस्सा ओगट्न थालेको छ । धार्मिक रूपले इसाई धर्मावलम्बीहरूले मनाउने चाड क्रिसमस हिन्दू धर्मावलम्बी नेपालीहरूले धार्मिकभन्दा पनि रमाइलोका लागि मनाउँछन् । बहाना नै सही तर यसले नेपाली बजारलाई पनि धेरथोर प्रभावित तुल्याइरहेको पाइन्छ ।
अहिले राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरका विभिन्न सपिङ कम्प्लेक्स, गिफ्ट पसलदेखि डिपार्टमेन्ट स्टोरहरू क्रिसमस ट्री आदिले झकिझकाउ छन् । क्रिसमसको अवसरमा इसाई धर्मावलम्बीहरूले एक–अर्कालाई विभिन्न प्रकारका उपहार आदान–प्रदान गर्छन् । यतिबेला क्रिसमस ट्री, क्रिसमस कार्ड, चकलेट, सान्ता क्लजको टोपी, वालेट, चश्मा, पेन आदि सामान आफन्त तथा साथीहरूलाई उपहारका रूपमा प्रदान गरिन्छ ।
डिसेम्बर २५ अर्थात् क्रिसमसकै दिनका लागि भनेर साता दिनअघि नै काठमाडौंका गिफ्ट सप, मल तथा डिपार्टमेन्ट स्टोरहरूमा क्रिसमस ट्रीहरू सजाइएका छन् । गिफ्ट सपहरूमा त एउटा उत्सवकै तयारी भैरहेजस्तो लाग्छ, ती सपहरू सान्ता क्लजको पोसाक तथा क्रिसमस कार्डहरूले सजिएका छन् ।
यसबीच चाबहिलस्थित पाथिभरा आर्चिजकी रिमा पौडेलको व्यस्तता पनि निकै बढेको छ । ‘यतिबेला क्रिसमस ट्री तथा गिफ्टहरू अलि बढी बिक्री हुन्छन्,’ रीमा भन्छिन्, ‘डेकोरेसनका लागि आवश्यक पर्ने स्टार, स्यान्टा, स्नो बल, ड्रम, टोपी, रेनडियर आदि सामग्रीसमेत बिक्री हुन्छन् ।’ उनको पसलमा क्रिसमस ट्री, क्रिसमस ड्रेस, डेकोरेसनका सामग्रीजस्ता क्रिसमस आइटमहरू उपलब्ध छन् ।
यस्तै चावहिलमै गिफ्ट सप सञ्चालन गर्दै आएका अर्का व्यवसायी कृष्ण श्रेष्ठ पनि क्रिसमसका विविध सामग्रीको बेचबिखनमै व्यस्त छन् । विगतका वर्षहरूको तुलनामा यो वर्ष क्रिसमसको व्यापार खस्किएको उनको अनुभव छ । श्रेष्ठ भन्छन्– पहिलेको जस्तो भीडभाड छैन । उनको पसलमा पनि क्रिसमस ट्री, ड्रेस, ह्याट, पेन, डेकोरेसनका सामग्रीहरू आदि उपलब्ध छन् । श्रेष्ठका अनुसार उनको पसलमा १ सय ५० देखि सुरु भएर ९ हजार ५ सयसम्म पर्ने क्रिसमस ट्री छन् ।
क्रिसमस ट्री जति ठूलो भयो त्यति नै महँगो हुन्छ । यसलाई थप सजावट गर्न सकिने श्रेष्ठ बताउँछन् । यस्तै उनले क्रिसमस ड्रेस ३५ रुपैयाँदेखि ६ सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । अनामनगरस्थित भाटभटेनी सुपर मार्केट पनि क्रिसमसका सामग्रीले झकिझकाउ छ । त्यहाँ पनि क्रिसमस ट्री १ सय ४५ देखि ६ हजारसम्ममा बिक्री भैरहेको छ । यस्तै, नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा१० हजारसम्मका क्रिसमस ट्री उपलब्ध छन् ।
अनलाइन सपिङ साइट गिफ्टमाण्डुले २ सय ९६ रुपैयाँदेखि झन्डै ६ हजार रुपैयाँसम्मका क्रिसमस ट्री बिक्रीमा राखेको छ । गिफ्टमाण्डुमात्र होइन क्रिसमसको अवसर पारेर सयौं अनलाइन सपिङ साइटले क्रिसमस गिफ्टहरूको सूची सार्वजनिक गरेका छन् । क्रिसमसको व्यापार यतिसम्म बढ्दै गएको छ कि व्यावसायिक कम्पनीहरू विभिन्न अफर राखेर क्रिसमस बजारको समेत आयोजना गर्न थालेका छन् ।
क्रिसमसमा व्यापार बढाउन ठमेल, दरबारमार्ग, न्यूरोड मात्र होइन सिभिल मल, भाटभटेनी, सिटी सेन्टर, वल्र्ड ट्रेड सेन्टर, लविव मल आदिमा समेत क्रिसमस ट्री सजाएर ग्राहकहरूलाई आकर्षित गर्ने प्रयास गरिएको पाइन्छ । ‘जाडो सिजन भएकाले क्रिसमसले खासै ठूलो व्यापारिक महत्व त राख्दैन,’ ठमेल टुरिज्म बोर्डका सचिव दवाङ लामा भन्छन्–‘विदेशीहरूको पर्व भएकाले मुख्य व्यापारिक स्थानहरू झकिझकाउ हुन्छन् । उनको अनुभवमा क्रिसमसको तुलनामा अंग्रेजी नयाँ वर्षको व्यापरिक बजार ठूलो छ । यद्यपि क्रिसमसमा पनि रेस्टुराँ पुगेर खानपिनमा रमाउनेहरूको जमात बढ्दै गएको छ ।