साप्ताहिक संवाददाता
हनिमुनलाई नवविवाहिता दम्पतीको ‘स्वीट पिरियड अफ टाइम’ मानिन्छ । विवाहपछि नयाँ दम्पती पहिलोपटक केही दिनका लागि एकअर्कासँग समय बिताउन र सहज हुन घरपरिवार र समाजबाट अलि टाढाको रोमान्टिक यात्रामा जानुलाई हनिमुन भनिन्छ । १९ औं शताब्दीतिर बेलायतका नवविवाहिता दम्पती विवाह लगतै छुट्टीमा जाने चलन चलेको हो । त्यतिबेला बेलायती उच्च परिवारका नवविवाहितहरू ‘ब्राइडल टुर’मा बाहिर जाने चलन थियो । त्यसपछि यो प्रचलन विस्तारै युरोपभर फैलियो । त्यतिबेला हनिमुनका लागि नवदम्पतीहरू विवाह लगतै यात्रामा निस्कन्थे । विस्तारै यो प्रचलन पूर्वीय देशहरूमा विस्तार भयो ।
२१ औं शताब्दीसम्म आइपुग्दा यसको स्वरूपमा धेरै परिवर्तन आइसकेको छ । अहिले विवाहको थकानबाट आरामदायक समय बिताउन हनिमुनमा विशेष जोड दिइन्छ । हनिमुनका दौरान नवदम्पतीले एकअर्कालाई राम्रोसँग बुझ्ने अवसर प्राप्त गर्छन् । यही समयमा उनीहरूबीच प्रेम, विश्वास र आपसी सहयोगको भावना प्रगाढ हुन्छ । नवदम्पतीलाई एकान्त मिल्ने भएकाले एक–अर्कासँग शारीरिक सम्बन्ध बनाउन पनि सजिलो हुन्छ । यो एकान्त समयमा उनीहरूबीच शारीरिकसँगै मानसिक वा भावनात्मक सम्बन्ध पनि प्रगाढ बन्दै जान्छ ।
यसकारण जानै पर्छ हनिमुन
पछिल्ला वर्षहरूमा विवाहपछि हनिमुन जानु एउटा ट्रेण्डकै रूपमा विकास भएको छ । पश्चिमा समाजबाट विस्तारित हुँदै यो अहिले पूर्वीय समाजको सामाजिक जीवनको पनि एक हिस्सा भैसकेको छ ।
मानिसहरू हनिमुनका लागि स्वदेशका पर्यटकीयस्थलदेखि विदेशका रमणीय सहरसम्म पुग्न थालेका छन् । विवाहका सबै रीतिरिवाज र कार्यहरू पूरा गरिसकेपछि नवविवाहित जोडीहरू हनिमुनका लागि घरबाट कतै रमणीय ठाउँमा जाने चलन छ । कहिले सोच्नुभएको छ हनिमुन जान किन जरुरी छ ?
विवाहमा घरपरिवार र समाजले देख्ने गरी दुलहा—दुलहीले विभिन्न रीतिरीरिवाज पूरा गर्नुपर्छ तर, हनिमुन उनीहरू दुई जनाका लागि मात्र हो । हनिमुन जानु केवल आनन्द उठाउनु र रिल्याक्स गर्नु मात्र होइन्, यो विवाह बन्धनमा बाँधिएका जोडीहरूले एकअर्कालाई बढीभन्दा बढी बुझ्न पाउने अवसर पनि हो । हनिमुन जानु यसकारण पनि जरुरी छ कि यो त्यस्तो समय हो जतिबेला नवविवाहित जोडीले एकअर्काप्रति विश्वास कायम गर्न सक्छन् ।
यसबाहेक हनिमुन जानुका पछाडि आफ्नो साथीलाई जीवनभर साथ नछोड्ने विश्वास दिलाउनुु र एकअर्काप्रति समर्पित भएको अवसरलाई उत्सवका रूपमा मनाउनु पनि हो । हनिमुनले एकआपसमा शारीरिक तथा मानसिक लगाव बढाउन सहयोगी भूमिका खेल्छ । घरपरिवारभन्दा टाढा एक्लै नयाँ साथीसँग हुने भएकाले सबै ध्यान आफ्नो साथीको गतिविधिमा केन्द्रित हुन्छ, जसले एकअर्कालाई बुझ्न सहज बनाउँछ । विवाहपछि दुई जना मात्र कतै एक्लै जानुको मज्जा बेग्लै हुन्छ, जुन भविष्यका लागि स्मणीय क्षण बन्न पुग्छ ।
हनिमुनसम्बन्धी रोचक घटना
सन् २०१५ मा एक नवविवाहित डच दम्पती हनिमुनका लागि श्रीलंका पुगे । उनीहरूले श्रीलंकाको हर्टन प्लेन्स नेसनल पार्कको चार हजार फिट अग्लो पहाड चढेर दृश्यावलोकन गरे । टेलिग्राफकाअनुसार दुलहीको तस्बिर लिने क्रममा ३५ वर्षीय नवदुलाहा ममिथो लेन्डास चिप्लिएर खसे यद्यपि ४ हजार फिटमाथिबाट खस्दा पनि उनलाई केही भएन् । श्रीलंकाली सेनाले उद्धार गरेका ममिथो भाग्यकै कारण बाँच्न सफल भएका थिए ।
सन् २०१७ को डिसेम्बरमा विवाह गरेपछि लण्डन निवासी टिभी निर्देशक ३५ वर्षीय मार्क ली ३५ तथा प्रोड्युसर ३३ वर्षीया गीना लियोन हनिमुनका लागि श्रीलंकाको तगांली पुगे । डेलीमेलका अनुसार हनिमुनका क्रममा उनीहरू आफू बसेको श्रीलंकाली होटलको चार्म र त्यहाँका कामदारको आत्मिय स्वभावबाट प्रभावित थिए । त्यहाँ उनीहरूले रम पिए, रमकै नशामा त्यो होटल ३० हजार पाउण्डमा खरिद गरे । पछि, नशामुक्त भएपछि उनीहरू आफ्नो निर्णयका कारण निराश भए । यद्यपि उनीहरूले त्यो होटल लण्डनमै बसेर चलाउने निर्णय गरे अनि होटल केही स्टाफको जिम्मा छाडेर लण्डन फर्किए । सन् २०१८ मा उनीहरू पुन: त्यहाँ पुगे, होटल चलिरहेको थियो र, दम्पतीले उक्त होटललाई थप सुविधासम्पन्न बनाए र नाम राखे—‘लक्की बीच तंगाली ।’
हालै भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हनिमुनबाट फर्कने क्रममा एक भारतीय विजनेसम्यानकी श्रीमती ट्वाइलेटबाट बुर्का पहिरिएर फरार भइन् । एबीपी न्युजकाअनुसार आफ्नो पर्स समेत श्रीमान्लाई दिएर ट्वाइलेट गएकी उनी नफर्केर उतैबाट प्रेमी वा परिचितहरूसँग भागेकी थिइन् । सिसिटीभी फुटेजमा उनी बुर्का लगाएर टर्मिनलबाट बाहिरिएको देखियो, त्यहाँ उनको भेट एक जना केटासँग भयो । त्यहाँबाट उनीहरू ट्याक्सी स्ट्याण्ड पुगे, त्यहाँ उनको अर्का एक जना केटासँग भेट भयो र उनीहरू ट्याक्सी चढेर फरार भए ।
हनिमुनलाई नवदम्पतीहरू रोमान्टिक तरिकाले सेलिब्रेट गर्न चाहन्छन् तर, केही समयअघि बेलायतको एक नवविवाहित जोडीमाथि यस्तो घटना घट्यो, जुन ट्रयाजिडीभन्दा कम थिएन । उक्त जोडी हनिमुन मनाउन एक होटलको १८ औं तलामा बसे । हनिमुनको केहीबेर अघिमात्र दुलही १७ र १८ औं तलाको बीचमा लिफ्टमा फसिन् । लाइभ हिन्दुस्तान डटकमकाअनुसार एक घण्टापछि दुलहीलाई होटलका सेक्युरिटी र टेक्निकल स्टाफको सहयोगमा निकालिएको थियो । यो घटनाले उनीहरूको हनिमुनको खुसियालीमाथि पानी फेरिदियो ।
गत वर्षको डिसेम्बरमा ‘हेट स्टोरी’मा समेत अभिनय गरेकी बंगाली अभिनेत्री पाओली दामले रेस्टुराँ व्यवसायी अर्जुन देवसँग विवाह गरिन् । विवाहपछि यो जोडीले हनिमुनका लागि स्वीजरल्याण्डको हिमाली इलाका रोज्यो । हनिमुन मनाउन स्वीट्जरल्याण्डको हिउँले ढाकिएको इलाकामा पुगेका उनीहरू त्यहाँको ‘स्की रिसोर्ट’मा बसेका थिए । हनिमुनका क्रममा भारी हिमवर्षा भयो । उनीहरू त्यहाँबाट ज्यान जोगाएर फर्कनु परेको घटना त्यो बेला निकै चर्चामा थियो ।