विवाहपछि सबैले सोध्ने एउटा विशेष प्रश्न हो, हनिमुन मनाउन कहाँ जाने ? हनिमुनलाई स्मरणीय बनाउने जो कसैको चाहना हुन्छ । विवाह नै नभएकाहरूले हनिमुनको कल्पना कसरी गर्छन् ? के–कस्ता योजना बनाएका हुन्छन् उनीहरूले ?
चर्चित युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको हनिमुन योजना रमाइलो छ । एक महिनाको युरोप टुरपछि उनी अमेरिका जानेछन् । अमेरिकाको रमणीय पर्यटकीय स्थल हवाईमा झन्डै १५ दिन बस्ने योजना छ । रोमान्टिक मुडमा हरिहर भन्छन्– मेरो विशेष हनिमुन हवाईमै हुनेछ । सिसैसिसाले घेरिएको सबैभन्दा माथिको किचन सहितको रुम आवश्यक छ मेरा लागि, उनले भने । श्रीमान्–श्रीमती दुवैले खाना बनाउने, मनपर्ने विभिन्न परिकार बनाउनुका साथै हल्का वाइन अथवा पेयको स्वादमा हनिमुनलाई थप रोमान्टिक बनाउन चाहन्छन् उनी ।
बिहान सूर्यको किरणले ब्युँझाओस् । साँझ चन्द्रमाको शीतलतामा मीठा–मीठा गफ गर्दै रात बिताउने कल्पना गरेका छन् हरिहरले । भाग्यमा मेरी ड्रिम गर्लको आवागमन भयो भने त्योभन्दा खुसीको कुरा त के होला ? हरिहर थप्छन्– विवाह र हनिमुन भन्ने कुरा पटक–पटक हुने कुरा होइन, एकपटक गर्ने कार्यलाई सम्झन लायक बनाउनेछौं । कतिपय कुरा ज्योतिषशास्त्र अनुसार नहुन सक्छ, सधैं ज्योतिष हेरेर गर्ने काम पनि हुँदैन, उनले भने– श्रीमती आएपछि केही कुरा त उनीसँग पनि सल्लाह होला र अन्य योजना पनि बन्नेछन् कि ?
अभिनेता गौरव पहाडी श्रीमतीसँग युरोप टुरमा जाने सोचमा छन् । कम्तीमा एक साताको हनिमुन टुरमा युरोप जाने सोच छ । गौरवले हनिमुनको गन्तव्य भने फ्रान्सलाई बनाउने छन् । पहिले विवाह त होस्, त्यसपछि के गर्ने योजना बनाउनेछु, उनले भने– आजका दिनसम्म मैले फ्रान्समा विशेष तरिकाले हनिमुन मनाउने सोच बनाएको छु । त्यतिबेला चलचित्रका काम पनि केही समय रोकिनेछन् । सम्पूर्ण ध्यान हनिमुन मै केन्द्रित गर्नेछु, पहाडीले कल्पनाका पोका खोल्दै भने, ‘अत्यावश्यक काम वाहेक सम्पूर्ण समय हनिमुन सेलिब्रेसनमै बित्नेछ ।’
अभिनेत्री नम्रता श्रेष्ठ अहिलेसम्म यो विषयमा ध्यान नदिएको बताउँछिन् । विवाह र त्यसपछिका अन्य कुराहरू समय आएपछि हुने कुरा हुन्, श्रेष्ठले भनिन्– सुरुमा विवाह त होस् अनि त्यसपछि अरू कुरा भनौंला ।’ उनले विवाहका लागि उपयुक्त समय मिल्नुपर्ने भएकाले त्यो समय आइनसकेको समेत बताइन् ।
चर्चित हाँस्यकलाकार कुमार कट्टेलको हनिमुन डेस्टिनेसन अन्य कलाकार जस्तो विदेश हुनेछैन । अन्य कुरा यथावत रहे म नेपालमै हनिमुन मनाउने सोचमा छु, कट्टेल भन्छन्– पर्यटकीय हिसावले एकदमै राम्रो तर प्रमोशन नभएको स्थलमा जाने सोच छ । मैले त्यहाँका तस्बिर सामाजिक सञ्जालबाट सम्प्रेषण गर्दा कम्तीमा त्यो स्थलको समेत प्रचार होस् † धेरैले नसुनेको कुनै स्थल जाने योजना बनाएको छु तर कहाँ भन्ने निर्णय भएको छैन–कट्टेल भन्छन्– सुरुमा विवाह त होस् ।
गायिका शिलु भट्टराईले हनिमुनका विषयमा खासै योजना नभएको बताइन् । उनले विदेश गएर पैसा सक्नुभन्दा नेपालमै हनिमुन मनाउने योजना सुनाइन् । गायीका शिलुले अहिलेसम्म विवाह र हनिमुनका विषयमा गहिरो ढगंबाट नसोचेको समेत बताइन् ।
चर्चित अभिनेत्री ऋचा शर्मा यस विषयमा अहिलेसम्म कुनै योजना नभएको बताउँछिन् । हनिमुन विवाहपछि मात्र सोच्ने विषय भएकाले उनले यस विषयमा कुनै जवाफ दिन मानिनन् । श्रृचा भन्छिन्– ‘विवाह नै भएको छैन, कहाँबाट हनिमुनको कल्पना गर्नु ?