लन्डन यति बेला दुलही झैं सिंगारिएको छ । सपिंग मलमात्र होइन, हरेक सडक, रुखबिरुवा र बाटो छेउछाउका पोलहरु पनि रंगीन बनेका छन् । हरेक वर्ष क्रिसमस र अंग्रेजी नयाँ वर्षको आसपासमा सबैलाई लोभ्याउने गरि झकिझकाउसंग सिंगारिने गर्छ लन्डन । यसै मेसो पारेर बेलायतस्थित नेपाली समुदाय र सघंसंस्थाले पनि विभिन्न कार्यक्रम गरी विविध उपहार र खुशी साटासाट गर्ने गर्छन् । क्रिसमस र नयाँ वर्ष भन्दा करिब एक महिना अगावै यस्तै माहोल देखिन्छ यहाँ ।
यसै साता पनि बेलायतमा वित्तिय सेवा प्रदान गर्दै आएको नेपालीहरुद्वारा सञ्चालित ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आफ्ना ग्राहक, शुभचिन्तक तथा समुदायका प्रतिनिधि लगायतको उपस्थितिमा आफ्नो सातौं वार्षिकोत्सव सहित क्रिसमस र नयाँ वर्षको शुभकामना आदान प्रदान गरेको छ । एसएनपी प्लस र ए स्टारले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा ए स्टारको सातौं वार्षिकोत्सवको खुशीयालीमा केक समेत काटिएको थियो ।
सामाजिक कार्यमा समेत उल्लेखनीय योगदान पुरयाएका ए स्टार फाइनान्सका प्रिन्सिपल मिन दर्लामीले आउंदो वर्ष ए स्टारको आशफोर्ड शाखाबाट हुने सम्पूर्ण व्यवसायको केही प्रतिशत स्थानीय सगरमाथा नेप्लीज कम्युनिटीले खरिद गर्ने भवनका लागि सहयोग गर्ने घोषणा गरे । जुन समुदायबाट केही पाइरहेका छौं, त्यही समुदायलाई रिटर्नमा केही दिनुपर्छ भन्ने उनको भनाइ थियो । सामाजिक उत्तरदायित्वलाई आफ्नो कम्पनीले प्राथमिकता दिइरहेको उनले बताए ।
एसएनपी प्लसका निर्देशक तथा ट्याक्स एड्भाइजर समिर प्याकुरेलले आफुहरुले व्यवसायसंगै बेलायतको नेपाली समुदायको हितलाई समेत संगसंगै अघि बढाउन खोजेको बताए । ए स्टारकै प्रोटेक्सन एड्भाइजर रमेश सराङकोटीले एक पावरपोइन्ट प्रिजेन्टेसन मार्फत कम्पनीले नेपाली समुदायमा गरेको योगदानबारे जानकारी गराए । साथै उनले यसलाई निरन्तरता दिने योजना सुनाए ।
कार्यक्रममा ए स्टार टीमकै एक सदस्य तथा नर्सिङ एशोसिएसन यूके महासचिव रश्मिता दर्लामीले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।