साप्ताहिक संवाददाता
हनिमुनलाई स्मरणीय बनाउन पहिरनको भूमिका पनि उत्तिकै हुन्छ । नवदम्पतीको पहिलो रोमान्टिक यात्रा भएकाले हनिमुनका लागि निस्कँदा कुन–कुन र कस्ता पहिरन छनोट गर्ने भन्ने विषयमा चनाखो रहनुपर्छ ।
हनिमुन भनेको ह्याभी वर्क भएका पहिरन, ह्याभी मेकअप, भारी ज्वेलरीहरूलाई बाईबाई गरेर विन्दास पहिरनमा आफ्नो जीवनसाथीसँग एक्लै समय बिताउने समय हो । हनिमुनमा प्राकृतिक लुक्स नै राम्रो देखिन्छ । हनिमुन जाँदा नवदम्पतीहरूले रंग संयोजनमा अनेकन गल्ती गरिरहेका हुन्छन् । हनिमुन जाँदा कहिल्यै भद्दा रंग प्रयोग गर्नुहुँदैन । हनिमुनका लागि रानी, रातो, निलो, सुन्तला, बैजनी आदि हल्का रंग उपयुक्त हुने फेसन डिजाइनर उषा खड्गी बताउँछिन् ।
यतिबेला जाडो मौसम चलिरहेको छ । यो मौसममा हनिमुन जाँदा पुरुषले न्याना तर स्टाइलिस पहिरन प्रयोग गर्न सक्छन् । हनिमुनका लागि साधारण पहिरन नै उपयुक्त हुने खड्गी बताउँछिन् जसमा पुरुषले लेदर तथा जिन्सका ज्याकेट, लोफर सुज प्रयोग गर्न सक्छन् । ज्याकेट विशेषगरी कालो र खैरो रंगको लगाइने हुँदा रंगीचंगी मफलर तथा हाइनेक लगाउँदा हनिमुन लुक्स प्राप्त हुन्छ । त्यसैगरी महिलाहरूले चेक प्रिन्ट कपडाको कोट, बुट, स्कर्ट, वन पिस, कोट, फर कोट आदि लगाएर हनिमुनको यात्रा तय गर्न सक्छन् । यद्यपि महिलाहरूले एनिमल प्रिन्ट प्रयोग गर्दा पनि राम्रो लुक्स प्राप्त हुने डिजाइनर खड्गी बताउँछिन् ।
गर्मी ठाउँमा हनिमुन जाँदा पुरुषहरूले रातो हाफ पाइन्टमा साधारण देखिने सर्ट, टिसर्टहरू प्रयोग गर्नु उत्तम हुन्छ । सुन्तला, बैजनी तथा नीलो रंगले पनि हनिमुन लुक्स दिन्छ । पछिल्लो समय पुरुषले फर्मल कोट समेत लगाउने चलन छ । तैपनि हनिमुनमा जाँदा पुरुषहरू सेमी फर्मल पहिरन प्रयोग गर्नु राम्रो हुन्छ ।
गर्मी ठाउँमा हनिमुन जाँदा महिलाहरूका लागि सामान्य पहिरन नै उपयुक्त हुन्छ । प्रिन्टेड फ्लावर प्रिन्ट भएका पहिरन उपयुक्त हुन्छन् भने हनिमुन फर्मल पहिरन नलगाउँदा नै राम्रो देखिन्छ । क्याजुअल पहिरन नलगाउने हो भने सजिलो खालको पटियालामा छोटो डिजाइनर कुर्ती आकर्षक देखिन्छ । स्लिभलेस तथा सल नचाहिने कुर्ता एवं लेगिन्स पनि राम्रो पहिरन मानिन्छ । नि…… लेन्थ, …रंगीचंगी, वान पिसमा सानो बिन्दी, थोरै राता चुरा, सानो पोते र रातो लिपिस्टिकले हनिमुन लुक्स दिने खड्गी बताउँछिन् । यो एसेसरिज तथा मेकअप जुनसुकै पहिरनसँग पनि म्याच गर्छ ।
यो टिपिकल हनिमुन लुक्स हो । शरीर अलि मोटो छ भने ठूलो फ्लावर प्रिन्ट वा ठूलो चेक भएका पहिरन प्रयोग गर्नु हुँदैन । यस्तै दुब्ला मानिसले ठूलो प्रिन्ट, ठूलो चेक भएका पहिरनलाई प्राथमिकता दिनुपर्छ । हनिमुनमा धेरै एसेसरिज लगाउनु राम्रो मानिँदैन । हनिमुन जानुअघि मेहेन्दी लगाउनु उत्तम मानिन्छ, तर हनिमुनमा साडी, कुर्ता, लेहेंगा आदि लिएर जान नहुने खड्गी बताउँछिन् । उषा भन्छिन्–हनिमुनमा श्रीमान्लाई सधैंको भन्दा बेग्लै गेटअपमा सरप्राइज दिँदा बेग्लै मज्जा हुन्छ ।
यसका साथै हनिमुन जाँदा दम्पतीले आफूलाई आवश्यक पर्ने अन्डरगार्मेन्ट बोक्न भुल्नु हुँदैन भने सनस्क्रिन, ह्याट, सन ग्लास आदि सामान बोक्नु उपयुक्त हुन्छ ।
हनिमुन जानुअघि
विवाहअघि नै कल्पना गर्ने : विवाह हुने पक्का भएपछि हनिमुन जाने विभिन्न स्थानका विकल्पहरू छान्नुपर्छ । विवाह भैसकेपछि एक–अर्कासँग सल्लाह गरेर स्थान तय गर्नु उपयुक्त हुन्छ । विवाह भैसकेपछि स्थानका विषयमा अलमल हुनु राम्रो होइन ।
हनिमुन जाने समय तालिका, स्थान छनोट, खर्चको व्यवस्थापन, आवश्यक सामग्रीको व्यवस्थापन आदि योजना बनाउनुपर्छ ।
विवाहपछि जति चाँडो हनिमुन गयो त्यति अविस्मरणीय हुने हुँदा समय तय गर्न ढिलाइ गर्नुहुँदैन ।
शान्त, प्राकृतिक, रमणीय एवं बस्ने कोठाबाट रामाइलो दृश्यावलोकन हुने स्थान छान्नु उपयुक्त हुन्छ ।
कति समयका लागि हनिमुन जाने हो बजेट व्यवस्थापन गर्नुपर्छ ।
ड्राइ फुड्सको व्यवस्था मिलाउनुपर्छ ।
एक–अर्काको भावना विपरीत धूमपान वा मद्यपानमा जोड दिनु राम्रो होइन ।
हनिमुन जाँदा महँगा गरगहना बोक्नु उपयुक्त मानिँदैन । आवश्यक पहिरनको तयारी गर्नुपर्छ ।
हनिमुनलाई अविस्मरणीय एवं रोमाञ्चक बनाउन आपसमा छलफल गर्नुपर्छ ।
हनिमुन जाँदा होटल–रिसोर्टहरूमा बस्ने चलन छ । त्यसैले खानपानमा विशेष ध्यान पुर्उनुपर्छ अर्थात स्वच्छ, सफा एवं ताजा खानपानमा जोड दिनुपर्छ ।