साप्ताहिक संवाददाता
मदिराले अहिले ‘सोसल ड्रिंक’का रूपमा समाजमा प्रवेश पाइसकेको छ । सामाजिक मर्यादाभित्र बाँधिएर गरिने मदिरा सेवन स्विकार्य र स्वभाविक हुन थालेको छ । त्यसैले सार्वजनिक जमघटदेखि पारिवारिक गेटटुगेदरसम्ममा समेत हार्दिकतासाथ टक्य्राइन्छ– मदिरा । स्वाद, रंग र स्तरअनुसार बजारमा अनेक थरीका मदिरा उपलव्ध छन् । मदिरालाई पनि भिन्न स्वाद र फ्लेवरमा पस्कन सकिन्छ जुन काम ‘बार टेन्डर’ले गर्छन् ।
सामान्यत: बार टेन्डर बारमा काम गर्ने ती व्यक्ति हुन्, जसले एकभन्दा बढी पेयको मिश्रणबाट अर्को स्वादको पेय तयार गर्छन् । सेवाग्राहीको मागअनुसार कुनै पनि पेय पदार्थलाई आकर्षक ढंगले पस्कने कला उनीहरूसँग हुन्छ । कुन पेयलाई कसरी मिश्रण गर्ने, कति मात्रामा गर्ने भन्ने जस्ता आधारभूत ज्ञान बार टेन्डरहरूसँग हुन्छ ।
यद्यपी एउटा व्यवसायिक बार टेन्डर बन्न यतिले मात्र पुग्दैन । उनीहरूमा पेय पदार्थको मिश्रणबाट ककटेल/मोकटेल बनाउनेदेखि त्यसलाई आकर्षक ढंगले सर्भ गर्ने कलासम्म हुनुपर्ने बार टेन्डर प्रशिक्षक राजकुमार डिसी बताउँछन् । डिसी भन्छन्– ‘कुनै पनि पेयको प्रवृत्ति, गुण एवं स्वादसम्बन्धी गहन जानकारी आवश्यक हुन्छ ।’
निचोडमा भन्नुपर्दा, अल्कोहलिक र नन अल्कोहलिक वेबरेजबाट नियमबद्ध ढंगले ककटेल/मोकटेल तयार गर्ने कला नै ‘बार टेन्डिङ’ हो । उनीहरूमा पेय पदार्थको मिश्रणलाई सन्तुलित र आकर्षक बनाउने खास सीप हुन्छ । ककटेल/मोकटेललाई कसरी कलरफूल, अर्डरफूल र टेस्टफूल बनाउने ? बार टेन्डरसँग त्यसको कला हुन्छ ।
त्यसो त ककटेल/मोकटेल बनाएर मात्र पनि पुग्दैन । त्यसलाई कस्तो गिलासमा सर्भ गर्ने, कसरी सजाउने ? इत्यादि कुराको व्यवहारिक ज्ञान चाहिन्छ । किनभने ककटेल/मोकटेलको प्रकृतिअनुसार त्यसको गार्निस र गिलास निर्धारित हुन्छ ।
मिक्सोलोजीको सिद्धान्तअनुरूप जब अल्कोहल र ननअल्कोहलिक वेबरेजहरू ब्लेन्ड गरिन्छ, त्यो ककटेल बन्छ । यसले मदिराजन्य पदार्थको असली रंग र स्वाद परिवर्तन गरेर नयाँ रंग, स्वाद र फ्लेबर तयार गर्छ । ककटेलमा अल्कोहलिक वेबरेजलाई अर्को पेयसँग मिश्रण गरिन्छ । बजारमा प्रचलित कुनै पनि मदिरा भोड्का, जीन, ह्विस्की, ब्रान्डी, रम, टकिला, ऐला, वियर, वाइन आदिवाट ककटेल बन्छ । त्यसमा ननअल्कोहलिक पेयजस्तो, जुस, सफ्ट ड्रिंक, फलफूल, चकलेट आदि प्रयोग गरिन्छ । हरेक किसिमको ककटेल बनाउने छुटाछुटै विधि र सिद्धान्त हुन्छन् ।
मूलत: मदर ककटेल र क्लासिकल ककटेलबाटै अरू किसिमका ककटेल तयार हुन्छ । मदर ककटेल र क्लासिकल ककटेललाई आधार बनाएर जति पनि ‘सिस्टर ककटेल’ तयार गर्न सकिन्छ । यो बार टेन्डरको कला र क्षमतामा पनि निर्भर हुने कुरा हो ।
ककटेल र मोकटेल बनाउने विधीमा खास अन्तर छैन । यद्यपि ककटेलजस्तै अल्कोहलिक वेबरेज मोकटेलमा प्रयोग हुँदैन । ननअल्कोहलिक वेबरेजको मिश्रणबाट तयार हुने पेय पदार्थ नै मोकटेल हो । मोकटेल र ककटेलबीच खास अन्तर भए पनि त्यसलाई बनाउने, सजाउने र पस्कने शैलीमा एकरुपता हुन्छ ।
मोकटेल फलफूलको जुस तथा सफ्ट ड्रिंकबाट तयार हुन्छ । जाडो तथा गर्मी मौसमका पिउनका निम्ति कोल्ड र हट मकटेल बनाउन सकिन्छ । दूध, कफी तथा चियाबाट पनि मोकटेल बन्छ, जो जाडो यामका लागि उपयुक्त हुन्छ । सफ्ट ड्रिंक र फलफूलका जुसबाट कोल्ड मोकटेल बनाइन्छ ।
कसरी बन्ने बार टेन्डर ?
खासगरी रात्रिकालिन रोजगारीमा रमाउन चाहनेहरूका निम्ति राम्रो विकल्प हो– बार टेन्डिङ । अक्सर रात्रिकालिन समयमै मानिसहरू मनोरञ्जन तथा जमघट गर्छन् । यसरी फुर्सदको समयमा रमाउन चाहने सेवाग्राही अल्कोहलिक एवं ननअल्कोहलिक वेबरेजको स्वाद लिन चाहन्छन् । उनीहरूको इच्छाअनुसार ककटेल/मोकटेल पस्कने काम बार टेन्डरले गर्छन् । होटल, रेस्टुराँदेखि भोज, पार्टीसम्ममा छुट्टै बार सञ्चालन गरिन्छ ।
यो क्षेत्रमा करियर बनाउन चाहनेहरूले अनुभवी तथा व्यवसायिक बार टेन्डरबाट ज्ञान एवं सीप आर्जन गर्न सक्छन् । कुनै पनि बारमा सहयोगीका रूपमा काम गरेर उनीहरूले मोकटेल/ककटेल बनाउने कला सिक्न सक्छन् । यसका साथै, त्यो पेसाको मर्यादा, चुनौती र अवसरका सम्बन्धमा पनि प्रत्यक्ष अनुभव गर्न सक्छन् । त्यसैले बार टेन्डर बन्न चाहनेहरूले पुराना एवं अनुभवी बार टेन्डरलाई गुरु मानेर ककटेल/मोकटेलका यावत् जानकारी हासिल गर्न सक्छन् ।
त्यसो त यो होटल व्यवस्थापनकै एउटा पाटो हो । नेपालका थुप्रै कलेजमा होटल व्यवस्थापनको पठन पाठन हुन्छ । होटल म्यानेजमेन्ट अध्ययन गरिरहेकाहरूले विशेष कोर्सका रूपमा बार टेन्डिङको कला सिक्न सक्छन् । त्यस्तै निजी इन्स्टिच्युटबाट पनि बार टेन्डिङको कोर्स गर्न सकिन्छ । यस्ता तालिम केन्द्रहरूले छोटो तथा लामो अवधिको तालिम उपलब्ध गराउँछन् ।
चुनौती र सामाजिक मर्यादा
बार टेन्डिङ आकर्षक पेसा हो, साथसाथै चुनौतीपूर्ण पनि । यो पेसामा साँझदेखि राति अबेरसम्म सेवा दिनुपर्छ । बार टेन्डरका सेवाग्राही भनेका मदिरा पिउनेहरू हुन् । यसरी मदिरा सेवन गरेकाहरूसँग बारम्बार साक्षात्कार गर्नु पनि यो पेसाको चुनौती हो ।
स्वभावैले मानिसहरू मदिरा सेवन गर्दै गएपछि होस गुमाउन थाल्छन् । त्यसरी होस गुमाएका मानिसहरूसँग कसरी व्यवहार गर्ने ? बार टेन्डरलाई थाहा हुनुपर्छ । त्यस्तै, मदिरा सेवन गर्न उमेरको पनि हद तोकिएको हुन्छ । नाबालक एवं उमेर नपुगेकाहरूलाई मदिरा सर्भ गर्नुहँुदैन । यस्ता कुरामा बार टेन्डर संवेदनशील हुनैपर्छ ।
केही विधि
मिक्सोलोजी सिद्धान्तका केही विधि छन् । जस्तो सेकिङ, स्टरिङ, विल्डअप, मडलिङ तथा ब्लेन्डिङ ।
ककटेलमा बेस, मोडिफायर र गार्निस आपसमा अन्तरसम्बधित हुन्छन् ।
बेस : ककटेल कुन स्पिरिट बनेको हो ? जस्तो भोड्का, ह्विस्की, जिन, ब्रान्डी, रम, टकिला, ऐला ।
मोडिफायर : बेसलाई मोडिफाइ गर्ने काम गरिन्छ । त्यसैले यसलाई विभिन्न किसिमको जुस, सफ्ट ड्रिंक, सिरप, लिक्वियर्स, विटर्स, चिनी, फलफूल, दूध, चकलेट आदि प्रयोग गरिन्छ ।
गार्निस : ककटेल/मोकटेल हेर्दा सुन्दर एवं आकर्षक देखिनुपर्छ । जस्तो, चेरी, पुदिना, लेमन स्लाइस, ओरेन्ज स्लाइस, ओलिभ, गाँजर, पाइनापाल, एप्पल, आदिले सजाइन्छ ।
गिलास : प्रत्येक ककटेल, मोकटेलको आफ्नै रेसीपी हुन्छ भने त्यसलाई सर्भ गर्ने आ–आफ्नै शैलीको गिलास हुन्छ । जस्तो, मार्टिनी गिलास, मार्गरिटा गिलास, कोलिन्स गिलास, रोलीपोली गिलास, ओल्ड फेसन गिलास, सेम्पियन गिलास आदि ।