साप्ताहिक संवाददाता
चलचित्र ‘गोपी’को प्रचारका लागि कविता प्रतियोगिता हुने भएको छ । आरोही इन्टरटेनमेन्ट प्रालिले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने बताइएको छ । ७ जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउनेछन् । सहभागीले ‘गोपी’ को ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ । सहभागीहरुले कविता [email protected] मा पठाउनुपर्नेछ ।
सहभागीहरुबाट प्राप्त कवितालाई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । आगामी माघ ७ गतेसम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ ।
गोपी चलचित्रलाई साहित्यसाग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । ‘स्वावलम्बन र स्वरोजगारसम्बन्धी साहित्यप्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिता सहयोगी हुनेछ’ उनले भने ।
चलचित्र गोपी आगामी माघ १८ गते रिलिज हुँदैछ । सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता छन् । विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले चलसचत्रमा अभिनय गरेका छन् ।