साप्ताहिक संवाददाता
मानिसहरूको प्रेम स्वभाव अरू प्राणीहरूको तुलनामा फरक छ भन्ने छैन । मानिसहरूको यौन आचरण धेरै हदसम्म धेरै किसिमका अरू प्राणीको प्रेम स्वभावसँग मिल्दोजुल्दो छ ।
प्राणीहरूले आफ्नो वंशानुगत गुणमा रहेको व्यवहारअनुसार नै यौन आचरण देखाउँछन् । कतिपय प्राणीको यौन व्यवहार शारीरिक सम्बन्ध बनाउन मात्र हुन्छ भने कतिपयले सन्तान उत्पादन गर्ने दृष्टिकोणले मात्र यौनसम्बन्ध राख्छन् ।
यसबाहेक जीवशास्त्रीहरूले लामो अनुसन्धान गरेर जनावरहरूको यौनस्वभावलाई मोनोगामी, पोलिगेनी, पोलिएन्ड्री तथा पोलिग्यान्ड्रिगामीका रूपमा विभाजन गरेका छन् । यो वर्गीकरणअनुसार मोनोगामी वर्गका जनावरमा एउटा पोथीले एउटै भालेसँग मात्र सम्बन्ध राख्छन् भने पोलिगेनी वर्गका प्राणीमा एउटा भालेले धेरै पोथीसँग सम्बन्ध राख्छन् । यसैगरी पोलिएन्ड्री वर्गका प्राणीमा धेरै पोथीले धेरै भालेसँग र धेरै भालेले धेरै पोथीसँग सम्बन्ध राख्छन् । पोलिग्यान्ड्री वर्गका जनावरमा एउटा पोथीले धेरै भालेसँग शारीरिक सम्बन्ध राख्छन् ।
एकातिर प्राणीहरूको यौन स्वभाव यस्तो छ भने अर्कातर्फ केही प्राणी यौनसम्बन्ध राख्न हिंसा गर्ने चेतावनी दिने तथा धम्काउने कामसमेत गर्छन् । यस्ता प्राणीले मूलत: जबरजस्ती यौन सम्बन्ध राख्छन् । कतिपय प्राणी मौकाको सदुपयोग गर्दै यौनसम्बन्ध राख्छन् भने कतिपय सन्तान उत्पादन गर्ने मनसाय नराखी यौनसम्बन्ध राख्छन् ।
जीव वैज्ञानिकहरू अझै पनि प्राणीहरूको यौन स्वभावका विषयमा खोजी गरिरहेका छन् । खोजीका क्रममा जमिनमा पाइने प्राणी र समुद्रमा पाइने प्राणीहरू शारीरिक सम्बन्ध राख्ने भन्दा पनि बाहिर शुक्रकीट र डिम्बको मिलन गराएर सन्तान जन्माउने काम गर्छन् । यद्यपि उनीहरूबीच पनि द्वन्द्व भएकै देखिन्छ । वैज्ञानिकहरूको अनुसन्धानमा प्राणीहरूमा समलिंगी क्रियाकलाप, व्यभिचारजस्ता कार्य समेत बढेको देखिएको छ । वैज्ञानिकहरूले भिडियोमा डल्फिनले मरेको माछासँग मैथुन गरेको क्षण समेत कैद गरेका छन् । वैज्ञानिकहरू विभिन्न प्राणीको यस्तै यौन आचरण देखेर आफैं चकित हुन थालेका छन् ।
मोनोगामी यौन आचरण भएका प्राणीमा अमेरिकामा पाइने कालो गिद्ध, इम्पेरर पेन्गुइन, हर्नबिल चराहरू प्रमुख छन् । यसैगरी स्तनधारी जनावरमा अजरा नाइट मंकी, ब्वाँसो, स्याल तथा चमेरोका केही जाति एउटै भाले र एउटै पोथीसँग लामो समय बिताउने किसिमका हुन्छन् ।
पोलिगेनी यौन आचरण भएका जनावरहरू स्वाभाविक रूपमा हिंस्रक हुन्छन् । यो वर्गमा एउटा भालेले धेरै पोथीसँग यौनसम्बन्ध राख्छ । जस्तो सिंह, हिप्पोपोटामस, बाँदरका केही जाति बबुन, जंगली घोडा, इलाफेन्ट सिल, गोरिल्ला आदि । यस्ता किसिमका जनावरमा भालेले पोथीलाई जबरजस्ती गर्नेदेखि हिंस्रक आक्रमण गरेर भए पनि आफ्नो यौन चाहना पूरा गर्छन् ।
पोलिग्यान्ड्री वर्गमा पर्ने एउटा पोथीले धेरै भालेसँग शारीरिक सम्बन्ध राखिरहेकी हुन्छे । सन्तान उत्पादन गर्ने समयमा पोथीको यौन स्वभावमा परिवर्तन आउँछ । यो वर्गका प्राणीमा रानी मौरी, मोल र्याट जस्ता जनावर पर्छन् ।
चिम्पान्जी र बबुनलगायत बाँदरका धेरै प्रजाति पोलिग्यान्ड्री यौन आचरणका भएको पाइएको छ । यो किसिमको यौन आचरण भएका जनावरमा भालेले धेरै पोथीसँग र पोथीले पनि धेरै भालेसँग सम्बन्ध राख्छन् ।