साप्ताहिक संवाददाता
यो वर्ष इन्टरनेटका विभिन्न सेवा बन्द भएका छन् । विशेष गरी गुगल र फेसबुकसँग सम्बद्ध कैयौं सेवा यो वर्ष बन्द भए ।
गुगल इनबक्स
गुगलले आफ्नो चार वर्ष पुरानो ‘इनबक्स बाई जीमेल’ एप बन्द गर्ने फैसला गर्यो । आगामी मार्चसम्म गुगल इनबक्स सेवा बन्द भैसक्नेछ ।
याहु म्यासेन्जर
गत जुलाई १७ मा याहु म्यासेन्जर बन्द गरियो । यो सेवा प्रयोग गरिरहेका प्रयोगकर्ताहरूले आगामी दिनमा स्क्विरल प्रयोग गर्नेछन् ।
गुगल युआरएल सर्टनर
गुगलले आफ्नो युआरएल सर्टनरलाई पनि आगामी मार्च ३० सम्म बन्द गर्ने घोषणा गरेको छ । गुगलले सन् २००९ मा युआरएल सर्टनर जीओओ डटजीएल लन्च गरेको थियो । यसले युआरएललाई छोटो बनाउन सहयोग गथ्र्यो ।
गुगल ब्लब इमोजी
गुगलले आफ्नो लोकप्रिय ब्लब इमोजी पनि बन्द गर्ने घोषणा गरेको छ । आगामी जुलाई १७ देखि विश्व इमोजी दिवसका दिन यसलाई बन्द गरिनेछ ।
फेसबुक एम पर्सनल असिस्टेन्ट
फेसबुकले आफ्नो भर्चुअल असिस्टेन्ट एम बन्द गर्ने घोषणा गरेको छ । ठूलो प्रयासपश्चात् पनि यसका प्रयोगकर्ता २ हजार मात्र थिए, त्यो पनि अमेरिकी मात्र । कुनै इभेन्टको सूची तयार पार्न यसको प्रयोग गरिन्थ्यो । त्यसैगरी पेमेन्टका लागि पनि यसको प्रयोग गर्न सकिन्थ्यो ।
गुगल स्पेसेज
गुगलले आफ्नो ग्रुप म्यासेजिङ एप गुगल स्पेसेज २०१६ मा लन्च गरेको थियो । सानो ग्रुपमा च्याट गर्न यसको प्रयोग गर्न सकिन्थ्यो । लोकप्रिय बन्न नसकेकाले यसलाई पनि बन्द गर्ने घोषणा गरिएको छ ।
फेसबुक हेल्लो
फेसबुकले २०१५ मा एन्ड्रोइड प्रयोगकर्ताका लागि हेल्लो एप लन्च गरेको थियो । जुलाई ३१ देखि यसलाई बन्द गरिनेछ । यसको सहयोगले प्रयोगकर्ताले आफ्नो कन्ट्याक्ट नम्बर तथा फेसबुकको जानकारीलाई एकै स्थानमा आफ्नो फोनमा राख्न सक्छन् ।
फेसबुक मुभ्स
फेसबुकले सन् २०१४ मा यो एप्स लन्च गरेको थियो । यसको सहयोगले प्रयोगकर्ताले आफ्नो दैनिक कार्यको रेकर्ड राख्न सक्थे । गत जुलाई ३१ का दिन यसलाई बन्द गरियो ।
गुगल एलो
गुगलले आफ्नो लोकप्रिय एप गुगल एलोलाई पनि बन्द गर्ने घोषणा गरेको छ । गत अप्रिलदेखि नै यसका लागि लगानी गर्न बन्द गरिएको थियो । गुगल एलो सन् २०१६ मा लन्च भएको थियो ।
युट्युब गेमिङ एप
गुगलले आफ्नो युट्युब गेमिङ एप सन् २०१५ मा लन्च गरेको थियो । आगामी मार्चमा यसलाई बन्द गरिनेछ ।
गुगल प्लस
धेरै पटक डाटा लिक भएपश्चात् गुगलले सोसल मिडिया प्लेटफर्म गुगल प्लस बन्द गर्ने निर्णय लिएको छ । पछिल्लो पटक यसका ५ लाख प्रयोगकर्ताको डाटा लिक भएको थियो ।
गुगल क्रोम एप्स
गुगलले आफ्नो वेब स्टोर पनि बन्द गर्ने घोषणा गरेको छ । क्रोम वेब स्टोरको सपोर्ट अब विन्डोज, म्याक तथा लाइनक्समा उपलब्ध हुनेछैन ।