संसारको दोस्रो ठूलो चलचित्र उद्योग बलिउडको २०१८ ठीकठाकै बित्यो । सयौं खबरमध्ये केही थोरै खबर मिडियामा निरन्तर छाइरहे । यो वर्ष विवाहको प्रसंग अलिक बढी छायो । थुप्रै बलिउडस्टारले धूमधामका साथ लगनगाँठो कसे, तर २०१८ का विभिन्न खबरमध्ये सवैभन्दा धेरै चर्चामा रह्यो मिटु अभियान । अमेरिकाबाट फैलिएको मिटुको आगो बलिउडमा राम्रैसँग दन्कियो । २०१७ को अक्टोबरदेखि सामाजिक सञ्जालमा सुरु भएको मिटु ह्यासट्याग अभियान उत्कर्षमा पुग्यो ।
बलिउडमा मिटुको अभियान चर्काउने अभिनेत्री हुन्— तनु श्री दत्ता । तनु श्रीले नाना पाटेकरमाथि यौन दुव्र्यवहारको आरोप लगाएपछि बलिउडमा उक्त अभियानले चर्काे रूप लियो । नानामाथि तनुश्रीले प्रहरीमा रिपोर्टसमेत गरेकी थिइन् । १० वर्षअघिको विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहेको यो खबरको पक्ष तथा विपक्षमा धेरैले मुख खोले ।
नाना पाटेकर, आलोक नाथ, साजिद खान, कैलाश खेर, सुभाष घई तथा जतिन दास हँुदै यो अभियानले सलमान खान समेतलाई मुछ्यो । सलमान र उनका भाइहरू अरबाज तथा सोहेलले यौन शोषण गरेको आरोप कलाकार पूजा मिश्राले लगाइन् । मोडल एवं भिजे पूजाले फिल्म सुल्तानको सुटिङका क्रममा सलमान तथा उनका भाइहरूले आफूमाथि बलात्कार गरेको आरोप लगाइन् । सलमान र उनका भाइहरूमाथिको आरोपपछि पूजा ट्रोल मात्र भइन् ।
अभिनेत्री कंगना रणावतले अभिनेता ऋत्विक रोशनलाई मिटु अभियानमा मुछिदिइन् । कुनै बेला उनीहरू प्रेमी–प्रेमिका थिए । मिटु आतंकले सिगै बलिउड तातेका बेला कंगनाले ऋत्विकको नाम लिएकी थिइन् । कंगनाले निर्देशक विकास बहलमाथि पनि यौनशोषणको आरोप लगाईन् ।
चर्चित अभिनेत्री प्रियंका चोपडा तथा अमेरिकी गायक निक जोन्सको विवाहको समाचार महिनाभर मिडियामा छायो । मिडियामा उनीहरूको अफेयर सार्वजनिक भएदेखि विवाह र हनिमुनसम्मका खबर राम्रै मसला सावित भए । उनीहरूले भारतकै जोधपुरमा १ र २ डिसेम्वरमा विवाह गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चर्चित सेलिब्रेटीहरूसम्मको उपस्थितिले पनि उनीहरूको विवाहलाई चर्चामा ल्यायो ।
अभिनेता रणविर सिंह तथा अभिनेत्री दीपिका पादुकोणको विवाहको पनि राम्रै चर्चा भयो । इटलीमा विवाह गरेर उनीहरूले भारतमा धूमधामसँग पार्टी गरे । यही वर्षको मेमा अभिनेत्री सोनम कपुर तथा आनन्द आहुजाको विवाह भयो । यो खबरले पनि राम्रै चर्चा पायो । चर्चित हास्यकलाकार कपिल शर्मा पनि विवाह–बन्धनमा बाँधिए । आफ्नी प्रेमिका गिन्नी चतुरथसँग १२ डिसेम्बरमा विवाह वन्धनमा बाँधिएका कपिल चर्चामा रहेको अर्को खबर हो, सहकर्मी सुनिल ग्रोबरसँगको झगडा । लामो समयको मनमुटावपछि उनीहरूले यही डिसेम्बरमा एक–अर्कासँग हात मिलाए ।
बलिउडमा यो वर्ष प्रेम प्रसंगले पनि राम्रै चर्चा पायो । अभिनेता अर्जुन कपुर तथा उनीभन्दा १२ वर्ष जेठी मलाइका अरोरासँगको प्रेमको चर्चा उत्कर्षमा पुग्यो । उनीहरूका समाचार महिनौंसम्म लगातार छाइरहे । २०१८ मा बलिउडका केही स्टारको स्वास्थ्य अवस्था नराम्रोसँग बिग्रियो । ऋषि कपुर, सोनाली बेन्द्रे, इरफान खान, शाहिद कपुर आदि सेलिब्रेटीको स्वास्थ्य अवस्था नाजुक भयो, जसमध्ये इरफान लन्डनमा अझैं उपचार गराइरहेका छन् ।
यो वर्ष स्टार किड्सको बलिउड आगामनले समेत चर्चा पायो । सैफ अली खानकी छोरी अर्थात् शर्मिला टैंगोरकी नातिनी सारा अलि खानले बलिउडमा पदार्पण गरिन् । उनले यो वर्षको अन्तिममा प्रदर्शित चलचित्र केदारनाथबाट बलिउडमा प्रवेश मात्र गरिनन्, राम्रो सम्भावनासमेत देखाइन् ।
यही वर्ष अभिनेता सलमान खानसँग सम्बन्धित खवरले पनि मिडिया तातियो । सलमानले जोधपुर जेलमा दुई रात बिताए भने प्रतीक्षित चलचित्र रेस–३ ले अपेक्षाकृत सफलता प्राप्त गरेन । यही वर्ष उनको र लुलिया भन्टुरको ब्रेकअपको हल्ला पनि राम्रैसँग चल्यो ।
यो वर्ष अभिनेत्री सोनाली बेन्द्रेको खवर पनि मिडियामा खुवै छायो । टेलिभिजन रियालिटी शोको निर्णायकका रूपमा सक्रिय सोनालीलाई क्यान्सरले गाँज्यो । यो खबरले वलिउडमा एकाएक सन्नाटा छायो, तर आफ्नै विश्वास र निरन्तरको उपचारपछि सोनाली क्यान्सरलाई माथ दिन सफल भईन् ।
अर्जुन कपुरको विषयमा अर्को खवर पनि राम्रै चल्यो । अर्जुन कपुरकी सौतेनी आमा श्रीदेवीको अघिल्लो वर्ष निधन भएको थियो । उनको निधनअघि अर्जुन आफ्ना बहिनीहरूको खासै मतलब राख्दैनथे, तर जब श्रीदेवीले संसार छोडिन्, यो कठिन परिस्थितिमा अर्जुनले बहिनीहरूप्रति स्नेहपूर्ण व्यवहार देखाए । विगतमा जे–जस्तो भए पनि कठिन परिस्थितिमा अर्जुनले बहिनीहरूप्रति देखाएको मायाले सर्वत्र प्रशंसा पायो । यससँगै उनको परिवार एकजुटसमेत भयो ।
अभिनेत्री जाहन्वी कपुरले पनि यही वर्ष बलिउडमा पदार्पण गरिन् । पहिलो चलचित्र धडकको सफलतासँगै हौसिएकी जाहन्वी अफेयरका कारणसमेत चर्चामा आइन् । उनी धडकका अभिनेता इशान खट्टरसँग गुपचुप प्रेममा रहेको खबर भाइरल पनि भैरहेको छ, तर यो जोडीले अहिलेसम्म मुख खोलेका छैनन् । यद्यपि दैनिकजसो डेट, डिनर, लन्च तथा हात समातेर घुमघाममा निस्किएका उनीहरूको प्रेम लुक्न भने सकिरहेको छैन । जाहन्वीको चर्चा केही हिसाबले सकारात्मक तरिकाले पनि भयो । आमा श्रीदेवीको निधनपछि जाहन्वीले चलचित्रलाई निरन्तरता दिइन् अनि आकर्षक अभिनयले दर्शकको माया बटुलिन् । प्रतिकूल परिस्थितिसँग जुध्दै उनले जुन सफलता हासिल गरिन, त्यसको धेरैले खुलेर प्रशंसा गरे ।