अंग्रेजी नयाँ वर्षले नेपालमा पनि राम्रै प्रभाव जमाएको छ । प्रत्येक वर्षजसो नेपालमा यो पर्व मनाउने क्रम बढ्दो छ । नेपाली कलाकारहरू पनि यो पर्व मनाउने तयारीमा छन् । अभिनेता प्रदीप खड्का अहिले अस्ट्रेलिया घुमघाममा व्यस्त छन् । केही साताअघि अस्ट्रेलिया पुगेका खड्काले उतै न्यू इयर मनाउने छन् । चलचित्र लभ स्टेसनको सुटिङ सकेर त्यता लागेका खड्का नेपाल फर्किएसँगै चलचित्र लभस्टेसनको रेकर्डिङ र दुईवटा गीतको छायांकनमा व्यस्त हुनेछन् । खड्का भन्छन्– लामो समयपछि केही फुर्सद पाएको छु, यो समयमा अस्ट्रेलियामा भएका साथीभाइ तथा आफन्तहरूसँग भेटघाट गर्नेछु ।
अभिनेत्री दीपिका प्रसाईं न्यू इयरलाई अविस्मरणीय बनाउने योजनामा छिन् । उनी यसपटक श्रीमान् दिवाकर भट्टराईसँग साथीहरूले आयोजना गर्ने पार्टीमा सहभागी हुने सोचमा छिन् । दीपिका र दिवाकर दुवैले न्यू इयरलाई नजिकका साथीहरूसँग सेलिब्रेसन गर्ने सोच बनाएका छन् । खानपिन, भेटघाट, लामो समयदेखि भेट नभएका साथीहरूसँगको जमघट यिनै कुरा त हो नि † दिवाकर हाँस्दै भन्छन्– यो नयाँ वर्ष यसकारण पनि विशेष छ कि, हामी दुईजना एक भएको वर्ष, साथीहरूले हाम्रा तर्फबाट पार्टीको आशा राखेको वर्ष । फागुनदेखि नया“ प्रोजेक्टमा व्यस्त हुने तयारीमा रहेकी अभिनेत्री दीपिकाको अर्को चलचित्रलाई दिवाकरले नै निर्देशन गर्दैछन् ।
अहिलेका व्यस्त क्यामेराम्यान सुदीप बराल चलचित्र वीरविक्रमको छायांकन सकेर काठमाडौं फर्किएका छन् । काठमाडौं फर्किएकै दिनदेखि उनी नयाँ चलचित्रको मिटिङमा व्यस्त छन् । लिलीबिली, क्याप्टेन, ब्रासलेट, ऐश्वर्य जस्ता सुपरहिट चलचित्र खिचेका बराल अब तुरुन्तै नयाँ चलचित्रको काममा व्यस्त हुँदैछन् । सम्भवतः अंग्रेजी नयाँ वर्षको दिन उक्त चलचित्रको घोषणा हुनेछ, बराल भन्छन्– न्यू प्रोजेक्टको टिमसँग नयाँ वर्ष सेलिब्रेसन हुने लगभग पक्का छ ।
काकु नामले चिनिएका हास्यकलाकार दीपक आचार्यले भद्रगोल टिमसँगै नयाँ वर्ष मनाउने बताए । भद्रगोल टिमले निर्माण गर्न लागेको चलचित्रको स्क्रिप्टको काममा व्यस्त आचार्य अंग्रेजी नयाँ वर्षसँगै चलचित्रको काम प्रारम्भ हुने बताउँछन् । स्क्रिप्टको काम लगभग सक्यौं, कुमार कट्टेल, अर्जुन घिमिरे आदिको हाम्रो टिम अहिले चलचित्रको काममै व्यस्त छ, उनले थपे ।
अभिनेता सविन श्रेष्ठका लागि नयाँ वर्ष विशेष छ । अघिल्लो वर्ष स्टायल मोबाइल शोरुम खोलेका श्रेष्ठ यो वर्ष स्टाइल कार वास सेन्टर खोल्दैछन् । यही उपलक्ष्यमा उनले नजिकका आफन्त तथा साथीभाइलाई भव्य पार्टी दिने सोच बनाएका छन् । मलाई अंग्रेजी होस् वा नेपाली नयाँ वर्ष, त्यसले एक खालको उत्साह दिने गरेको छ, सविन भन्छन्– विगतदेखि नै खुलेर मनाउने गरिएको छ, यसपटक पनि राम्रै हुनेवाला छ ।
अभिनेता सन्नी सिंह न्यू इयरका दिन साथीहरूसँग डिनर गर्नेछन् । ठमेल वा दरबारमार्गमा साथीहरूको जमघट हुँदैछ, सिंह भन्छन्– जसलाई स्मरणीय बनाउने योजनामा छौं । चलचित्र डायरीपछि नयाँ चलचित्रको वर्कसपमा व्यस्त सन्नी भन्छन्– हाम्रो नयाँ प्रोजेक्टको टिमसँग चलचित्रलाई कसरी राम्रो बनाउने भन्ने विषयमा पनि विशेष जमघट हुनेवाला छ ।
अभिनेता आमिर गौतम न्यू इयरका दिन पनि आफ्नो नयाँ प्रोजेक्टको काममा व्यस्त हुनेछन् । आफू अभिनित चलचित्र द म्यान फ्रम काठमाडौंको ट्रेलर, पोस्टर तथा गीत सार्वजनिक भएसँगै हौसिएका गौतम नयाँ चलचित्रको छायांकन केही सातामै सुरु हुने भएकाले त्यसको वर्कसप र गृहकार्यमा व्यस्त हुने भएका हुन् ।
गीतकार विष्णुबाबु देवकोटा चितवन घुम्दै नयाँ वर्ष मनाउँदैछन् । उनी चितवनमा रहेका विभिन्न स्रष्टासँग नयाँ वर्षको दिन ‘नेपाली संगीत, आज–भोलि र भविष्य’ विषयक गोष्ठीमा समेत सामेल हुनेछन् । चितवनमै पुराना साथीभाइहरूसँग भेटघाट तथा खानपिन गर्ने उनको योजना छ, देवकोटा भन्छन्– न्यू इयरलाई स्मरणीय बनाउन केही दिन पहिल्यै चितवन जाने योजनामा छु, यो समयमा चितवन र आसपासका केही जिल्लाको भ्रमणसमेत हुनेछ ।
गायक योगेश काजी न्यू इयरको समयमा पोखरामा हुने विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त हुँदैछन् । पोखरेली भएका कारण पनि नयाँ वर्ष विशेष हुने गरेको छ, योगेश भन्छन्– भर्खरै भारतमा कार्यक्रम गरेर फर्किएको छु, अब न्यू इयरमा नेपालमै रमाइलो गर्ने योजना छ । काजी केही दिन काठमाडौंमा साथीभाइसँग जमघट गरेर पोखरा जाने तयारीमा छन् । उनले नयाँ वर्षको दिन अभिनेत्री बेनिशा हमालसँग पहिलोपटक स्क्रिन सेयर गरेको गीतको भिडियो लन्च गर्ने कार्यक्रम समेत बनाएका छन् । नयाँ वर्ष लगत्तै दुई दिनभित्रमा दुईवटा गीतको रेकर्ड सक्नुपर्नेछ, काजी भन्छन्– त्यसपछि कन्सर्टका लागि सिलिगुडी जानेछु ।