यो मेरो टोपी कैलाशको शिर जस्तो
हिमाली भिर जस्तो
कहिलेपनि झुक्न नजान्ने, कहिले पनि रुक्न नमान्ने
मेरो टोपी नेपाली भिर जस्तो
नेपाली वीर जस्तो ...
नेपाली संगितका धरोहर गायक तथा संगितकार गोपाल योञ्जनले गाएको गीत जस्तै नेपाली टोपीको महिमा अहिले पनि उत्तिकै छ । देशैभर टोपी दिवस मनाएको समाचार र तस्बिर सामाजिक सञ्जालमा भाईरल भईरहदा हङकङका नेपालीहरुले पनि टोपी दिवस मनाएका छन् ।
हङकङमा लामो समयदेखि ब्यापार, ब्यवसाय र सामाजिक कार्यमार्फत प्रतिष्ठित जीवन बिताईरहेका लबकुमार गुरुङ्, कृष्ण पाण्डे, जेबी ओख्राबो, ईन्द्र वोनेम, ईश्वरविक्रम शाह, बसन्त श्रीनेत लगायतको सहकार्यमा टोपी दिवस मनाईएको हो ।
नेपालीको पहिचानको प्रतिक टोपी लगाएर हङकङको ब्यस्त स्टारफेरीमा सामुहिक तस्बिर खिचिएको थियो । स्थानिय चाईनिज, विदेशीहरुले चासोका साथ टोपी र यसको महत्वबारे जिज्ञासा राखेका थिए ।
सन् २०१० मा क्यानाडाका केहि साथीहरु मिलेर स्थापना गरेको नेपाली टोपी प्रतिष्ठान अहिले ४५ देशमा फैलिसकेको छ । यहि नेटवर्कमा हामी हङकङेलीहरु पनि गोलवद्ध हुने योजना अनुरुप हङकङमा पनि औपचारिकरुपमा टोपी दिवस मनाईएको संयोजक कृष्ण पाण्डे बताउँछन् ।
संसारैभरिका टोपीहरु मध्ये नेपाली टोपी मौलिक छ । ढाका टोपी, भादगाउँले टोपी जे नाम र पहिचान दिईए पनि यसले समग्र नेपालको प्रतिनिधित्व गर्छ । संसारकै अग्लो सगरमाथाझै हाम्रो टोपीले नेपालीको शालिनता र वीरताको संकेत गर्छ, त्यसैले टोपीको पहिचानलाई संरक्षण गर्नका लागि पनि राष्ट्रबाट विशेष पहल गर्नुे पर्ने सहभागीहरुले सुझाव दिए ।