साप्ताहिक संवाददाता
लोकगायक बुद्धिकृष्ण लामिछानेको नेपाली लोकसंगीतमा अतुलनीय योगदान छ । घाँस काट्ने खुर्केर, पिँढीमा बसेर, बाखरी बाखरी, तिम्रो र मेरो मायाको डोरो बेरौं कि फनफनीजस्ता चर्चित गीत गाएका बुद्धिकृष्णको गत शुक्रबार निधन भयो । उनको निधनले यतिबेला नेपाली लोकसंगीत शोकमा डुबेको छ । विगत ६ वर्षयता प्यारालाइसिस, मधुमेह एवं उच्च रक्तचापबाट थलिएका लामिछानेको भौतिक शरीर धर्तीमा नरहे पनि उनलाई विभिन्न कोणबाट सम्झनेहरूको कमी छैन ।
राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वली प्यारालाइसिसबाट थलिएका गायक बुद्धिकृष्णलाई भेट्न केही समय अघि उनकै निवास भक्तपुरस्थित बागेश्वरी पुगेकी थिइन् । वली र बुद्धिकृष्णबीच पारिवारिक सम्बन्ध थियो । बुद्धिकृष्ण पनि आफू स्वस्थ हुँदा वलीको घर आउजाउ गर्थे । गायक बुद्धिकृष्ण आफ्नो घरमा आएको त्यो क्षण सम्झँदै वली भन्छिन्, ‘बुद्धिकृष्ण दाइ हाम्रो घरमा आइरहनुहुन्थ्यो । उहाँ मेरो अभिभावकजस्तै हुनुहुन्थ्यो । उहाँसँग मैले तिम्रो र मेरो मायाको डोरो गीति एल्बम पनि निकालें । उहाँ एउटा निस्फिक्री गायक हो । उहाँमा कुनै पनि कुराको महत्वाकांक्षा थिएन । अरुको कुरा धेरै सुन्ने अनि थोरै बोल्ने उहाँको स्वभाव थियो । इमान्दार हुनुहुन्थ्यो ।’ यतिमात्र होइन, बुद्धिकृष्ण चर्चित गायकका साथै भूतपूर्व सैनिक पनि थिए । त्यसका अतिरिक्त उनले च्याउ, कुरिलो आदिको खेतीसमेत गरेका थिए । बुद्धिकृष्ण आफ्नो परिवारसँगको निकट सम्बन्धकै कारण कहिलेकाहीँ च्याउ, कुरिलो, हरियो मकैका साथै अन्य तरकारी बोकेर आएका क्षण वली अझै सम्झन्छिन् ।
स्वर्गीय गायक बुद्धिकृष्ण लामिछानेलाई सम्झँदै हास्य अभिनेता हरिवंश आचार्य भन्छन्– बुद्धिकृष्ण लामिछानेमा आफ्नोपनको गायकी थियो । हामीले उहाँको घाँस काट्ने खुर्केर गीत २ लाख १६ हजार ७ सय ७७ टेलिसिरियलमा राखेका थियौं । त्यो गीतकै कारण हाम्रो सिरीयल हिट भयो, तर हामीले त्यो गीत प्रयोग गर्दा उहाँसँग अनुमति लिएका थिएनौं, जसले गर्दा अलि–अलि डर पनि लागिरहेको थियो । यही क्रममा एकदिन बुद्धिकृष्ण हाम्रो अफिसमा नाँच्दै आउनुभयो र आफ्नो गीतलाई सिरियलमा राखिदिएकोमा ठूलो खुसी व्यक्त गर्नुभयो । त्यो गीत टेलिसिरियलमा समावेश भएपछि हामीलाई पनि र उहाँलाई पनि असाध्यै राम्रो भयो । उहाँले त्यसपछि पनि निकै हिट लोकगीतहरू नेपाली लोकसंगीतलाई दिनुभयो ।
लोकगायक कुमार बस्नेत बुद्धिकृष्णका रूपमा आफूलाई धेरै माया गर्ने गायक गुमाएको बताउँछन् । बस्नेत भन्छन्, ‘बुद्धिकृष्णले मलाई असाध्यै माया गर्नुहुन्थ्यो, स्वस्थ हुँदा मेरो घर आइरहन्थ्यो । निकै भलाद्मी हुनुहुन्थ्यो, लोकगीत–संगीतका बारेमा चिन्ता गर्नुहुन्थ्यो । यतिमात्र होइन, बुद्धिकृष्ण साधारण स्वभाव भएका गायक हुनुहुन्थ्यो ।’ बस्नेतका भाइहरू नेपाली सेनाका अफिसर भएकाले बुद्धिकृष्णको संगत आफ्ना भाइहरूसँग पनि भएको बस्नेत बताउँछन् । बस्नेतसँग भेट भएका बेला बुद्धिकृष्णले गीत गाएर केही हुने भएन दाइ भनेको आज बस्नेतका कानमा कताकता गुन्जिरहन्छ । बस्नेत भन्छन्– अब बुद्धिकृष्ण जस्तो कलाकार जन्मन गाह्रो छ ।
स्वर्गीय गायक बुद्धिकृष्णको बहुचर्चित गीत पिँढीमा बसेर गीतको भिडियोमा हास्य अभिनेता उत्तम केसीले अभिनय गरेका छन् । केसी र बुद्धिकृष्णबीच एकदमै नजिकको सम्बन्ध थियो । बुद्धिकृष्णसँग बिताएको क्षण सम्झँदै केसी भन्छन्– मैले आजभन्दा करिव २६ वर्ष पहिले उहाँले गाएको पिँढीमा बसेर मेरै बाटो गीतको भिडियोमा मोडलिङ गर्ने मौका पाएको थिएँ । त्यहिबेलादेखि नै मेरो उहाँसँग हिमचिम बढेको हो । उहाँ एकदमै रमाइलो स्वभावको मानिस हुनुहुन्थ्यो । कुनै मानिस रिसाइहाल्यो भने पनि हँसीमजाक गरेर हँसाउन सक्ने क्षमता उहाँमा थियो । उहाँले कहिल्यै कसैलाई बिझ्ने गरी नराम्रो कुरा गर्नुभएन । उहाँले मलाई अन्तिमसम्म पनि भेट्न खोज्नुभएको थियो, तर मेरो दुर्भाग्य व्यस्तताले गर्दा मैले नै भेट्न सकिनँ ।
अभिनेता सरोज खनालले प्रत्यक्ष रूपमा बुद्धिकृष्णसँग २ वर्ष अघिमात्र भेट्ने मौका पाएका थिए । खनाल भन्छन्– २ वर्ष पहिले अमेरिका आर्टिस्ट एसोसियसनबाट उहाँलाई आर्थिक सहयोग गर्ने कार्यक्रममा उहाँसँग मेरो पहिलो भेट भएको थियो । त्यहाँ मैले उहाँको प्रत्यक्ष गायनसुन्ने मौका पाएको थिएँ । त्यही बेला उहाँसँग बिताएको करिव तीन–चार घण्टा मेरा लागि अविस्मरणीय भएको छ ।
गायक बद्री पंगेनी भन्छन् – बुद्धिकृष्ण दाइसँग व्यक्तिगत रूपमा धेरै नजिक हुने अवसर त पाइनँ, तर उहाँले नेपाली संगीतमा हिट गीतहरू दिए पनि नेपाली सांगीतिक क्षेत्र र नेपाल सरकारबाट कुनै अवसर पाउनु भएन । यो दु:खको कुरा हो । हामीले दुई वर्षअघि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको कार्यालयमा बोलाएर उहाँको सम्मानका साथै आर्थिक सहयोगसमेत गरेका थियौं । आज उहाँ हाम्रो सामु नभए पनि उहाँले नेपाली लोकगीतमा दिनुभएको योगदान सधैं स्मरणीय रहनेछ । यसैगरी संगीतकार शम्भुजित बास्कोटा स्वर्गिय गायक बुद्धिकृष्ण लामिछानेलाई सम्झँदै भन्छन् – लोकगीतमा बुद्धिकृष्णको आफ्नै शैली थियो । उहाँको त्यो स्टायललाई कतिपय कलाकार पछ्याएका पनि छन् । उहाँ एकदमै मिजासिलो अनि रमाईलो स्वभावको व्यक्ति हुनुुहुन्थ्यो ।