साप्ताहिक संवाददाता
रेडियो कान्तिपुरले माघ ५ गते दोस्रो संस्करणको नेसनल म्युजिक एवार्ड–२०७५ सञ्चालन गर्ने घोषणा गरेको छ । रेडियोको २० औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागिएको यो वर्षको एवार्ड कार्यक्रम ‘अम्बे स्टिल्स’को प्रस्तुतिमा हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रेडियो कान्तिपुरले यस वर्षको एवार्डका लागि मनोनयनमा पर्न सफल संगीतकर्मीहरूको नामावलीसमेत सार्वजनिक गरेको छ ।
समारोहमा गीत–संगीतको क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएका एक जना मूर्धन्य संगीत साधकलाई लाइफ टाइम एचिभमेन्ट एवार्डले सम्मान गरिनेछ । उक्त पुरस्कारको राशि १ लाख रुपैयाँ छ । समारोहमा पिपुल्स च्वाइस एवार्ड समेत प्रदान गरिनेछ, जसको चयन भने श्रोताहरूको सहभागितामा हुनेछ । सर्वाधिक एसएमएस प्राप्त गर्ने गीत तथा स्रष्टालाई पिपुल्स च्वाइस एवार्ड प्रदान गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा २०७४ साउन १ गतेदेखि २०७५ असार मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतबाट विभिन्न विधाअन्तर्गत उत्कृष्टमध्ये ५ को मनोनयन सार्वजनिक गरिएको थियो ।
यस्तो छ मनोनयन
उत्कृष्ट नव गायक–गायिकाको विधामा सुनिता थेगिम (बताससँगै), बुद्ध लामा (तिमीसाथ), निशान भट्टराई (भुन्टी), जोनिशा पौडेल (हावा चल्यो) तथा मानस राज (भाइरल भैदियो) मनोनीत छन् ।
उत्कृष्ट गीतकारको विधामा विराज नेपाल (मन बिनाको), नरेश भट्टराई (यो त माया हो), रमेश बिजी (बन फूल), रमेश क्षितिज (तेक्टे जमिन) तथा मनिष वशिष्ट (आज आकाशमा) मनोनीत छन् ।
उत्कृष्ट संगीतकारको विधामा हरि लम्साल (उड्यो मन), वसन्त सापकोटा (तिम्रो आँखामा), अर्जुन पोखरेल (तिम्रो मायामा), महेश खड्का (पल पलमा) तथा हर्कुलस बस्नेत (उडायो हावाले) मनोनयनमा परेका छन् ।
लोक गायिकाको विधामा मुना थापा मगर (भन के गर्छौ), ललिता पौडेल (दाइकी साली), गरिमा विरही (ढोलकी तालैमा), पार्वती जिसी (फूल छैन) तथा शान्तिश्री परियार (बोल माया बोल) मनोनीत छन् ।
लोक गायकको विधामा सन्तोष केसी (दाइकी साली), श्रीकृष्ण बम मल्ल (ढोलकी तालैमा), प्रकाश सपूत (बोल माया बोल), हेमन्त आले (भैयो भेट) तथा रामजी खाँड (जाम भन्यो लाहुरेले) मनोननमा परेका छन् ।
उत्कृष्ट पाश्र्व गायकको विधामा प्रताप दास (फूल हैन–रोज), केतन क्षेत्री (सुखमा तिमी–कायरा), सुगम पोखरेल (पल पल–ब्ल्याक), सुजिल कर्माचार्य (लन्डनमा–इन्टु मिन्टु लण्डनमा) तथा राजेशपायल राई (आँखाको नानी–बोबी) मनोनीत छन् । उत्कृष्ट पाश्र्व गायिकाको विधामा बानिका प्रधान (उडायो मन–ब्लाइन्ड रक्स), मेलिना राई (तिम्रो आँखामा–नाइँ नभन्नु ल–५), प्रविशा अधिकारी (फूल हैन–रोज), दीपा लामा (आँखाको नानी–बोबी) तथा श्रेया सोताङ (यो त माया–कायरा) मनोनयनमा परेका छन् ।
उत्कृष्ट राष्ट्रिय गीतको धिवामा शिशिर योगी (तिमी हिंड्ने), निशान भट्टराई र शितल पाण्डे (पूर्व तिम्रो), विजय श्रेष्ठ (तिमीले देश), ताराप्रकाश लिम्बु (मेरा प्यारो) तथा सुमित खड्का (नेपाली मन) मनोनीत छन् ।
उत्कृष्ट पप गायकतर्फ दीपक बज्राचार्य (मन मगन), स्वप्न सुमन (म तिम्रो), कमल खत्री (हाँस्न सिके), सुगम पोखरेल (जे जे भन्छु) तथा नितेशजंग कुँवर (हाम्रो नेपालमा) मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट पप गायिकाको विधामा टिका प्रसाईं (माया लुकी लुकी), सितल मोक्तान (ऊ पो को होला), तृष्णा गुरुङ (माया पिरती), सिम्पल खरेल (हाँस्न सिकें) तथा प्रविशा अधिकारी (पखेटा) मनोनीत छन् ।
पब्लिक च्वाइस एवार्डको विधामा भने टीका प्रसाईं (माया लुकी लुकी), राजनराज शिवाकोटी, मेलिना राई र ग्रीष्मा शिवाकोट (गोजीमा दाम छैन), टंक बुढाथोकी र मीना निरौला (रुपै मोहनी), नितेशजंग कुँवर (हाम्रो नेपालमा) तथा कृष्ण काफ्ले र बिन्दु परियार (पर्ख पर्ख मायालु) मनोनयनमा छन् ।
उत्कृष्ट ब्यानडको विधामा रिदम (मन मगन), एक्सिस (मेरो प्रेम), आरोग्य (अस्तित्व), मन्जिपा (प्रश्न) तथा मंकी टेम्पल (समय) मनोनयनमा परेका छन् ।
उत्कृष्ट गायक (आधुनिक) विधामा भने सनूप पौडेल (आज आकाशमा), राजेशपायल राई (फूल भन्दा), शिव परियार (आँशुको अर्थ), जगदिश समाल (बाँसैको झ्याङ्मा) तथा विश्व नेपाली (मेरी जूनलाई) मनोनयनमा परेका छन् । उत्कृष्ट गायिका (आधुनिक) विधामा निकिता थापा (नरोउ तिमी), मेलिना राई (चरी जस्तै), बानिका प्रधान (जानी न जानी), बिना भट्टराई (कोदाली) तथा दुर्गा परियार (बन फूल) मनोनीत छन् ।
उत्कृष्ट यूगल गीतको विधामा कमल खत्री/सिम्पल खरेल (हास्न सिके), उदय/मनिला सोताङ (प्यार हुन्छ), रामकृष्ण ढकाल/मिलन अमात्य (प्रेम रोग), राजेश केसी/सुजाता उपाध्याय (तिमी राजी म राजी) तथा सन्तोष लामा/मेलिना राई (जिन्दगीको दुई पल) मनोनयनमा पर्न सफल भएका छन् ।
गीतकार दिनेश अधिकारी, गायिका कुन्ती मोक्तान तथा संगीतकार सुरेश अधिकारी सम्मिलित निर्णायक समितिले उक्त सूची तयार पारेको हो ।