साप्ताहिक संवाददाता
२०१९ मा स्मार्टफोन प्रविधिमा केही नयाँ अनुभव गर्न सकिने सम्भावना देखिएको छ । गतवर्ष नोचफ्री डिस्प्लेयुक्त स्मार्टफोनदेखि ५ रियर क्यामेरा भएका स्मार्टफोन अनि फाइभ जी सपोर्ट गर्ने र फोल्डेबल स्मार्टफोनसमेत प्रयोगमा आउनेछ ।
नोच फ्री डिस्प्ले
गत वर्ष नोच तथा वाटर ड्रप डिस्प्ले भएको स्मार्टफोनले मानिसहरूलाई निकै आकर्षित गर्यो । यद्यपि कतिपयलाई नोच डिस्प्ले स्मार्टफोन रुचिकर लागेन । यो प्रविधि हाल ओप्पो फाइन्ड एक्स र भिभो नेक्सजस्ता महँगा स्मार्टफोनमा उपयोग गरिएको छ, तर आगामी दिनमा मध्यम रेन्जका स्मार्टफोनमा समेत यसको प्रयोग हुनेछ ।
५ रियर क्यामेरा
वर्ष २०१९ स्मार्टफोन फोटोग्राफी गर्नेहरूका लागि महत्वपूर्ण हुनेछ । अर्को वर्ष ५ वटा रियर क्यामेरा भएका स्मार्टफोन आउनेछन् र नोकियाले त्यसको घोषणा समेत गरिसकेको छ । अन्य कम्पनीले पनि यस्ता स्मार्टफोन तयार गर्नेछन् । यी क्यामेराले फरक–फरक काम गर्नेछन् भने तस्बिर पनि विशेष खालका हुनेछन् । हाल सामसुङले ४ वटा रियर क्यामेरा भएको ग्यालेक्सी ए९ स्मार्टफोन उपलब्ध गराएको छ ।
फोल्डेबल डिस्प्लेयुक्त स्मार्टफोन
सामसुङले फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन ल्याउने घोषणा गरिसकेको छ । गतवर्ष उक्त फोन बजारमा उपलब्ध हुनेछ । यसमा भएको ७ दशमलव ३ इन्चको स्क्रिनमार्फत ट्याब्लेटको अनुभव गर्न सकिन्छ भने फोल्ड गरेर फेरि ४ दशमलव ६ इन्चको स्क्रिनलाई अलग तरिकाले उपयोग गर्न सकिन्छ ।
नयाँ अल्ट्रा फास्ट चार्जिङ प्रविधि
वर्ष २०१८ मा फास्ट चार्जिङ प्रविधिमा काम गर्ने स्मार्टफोन धेरैले रुचाए । वर्ष २०१९ मा यो अझ परिष्कृत रूपमा आउनेछ । कम समयमा स्मार्टफोन फुल चार्ज गर्ने अल्ट्रा फास्ट चार्जिङ प्रविधिमा काम भैरहेको छ । क्वालकमले ट्रिपल चार्ज प्रविधिमा काम गर्ने ३२ वाटको चार्जर तयार पारेको छ, जसलाई २०१९ मा लन्च गरिनेछ । त्यसैगरी वायरलेस चार्जिङ र एआई प्रविधिबाट समेत चार्ज गर्ने प्रविधिको विकास हुनेछ ।
फाइभ जी सपोर्ट
वानप्लस, ओप्पो, हुवावे तथा सोनीजस्ता कम्पनीले सन् २०१९ मा फाइभ जी सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरिसकेका छन् । हाल प्रचलित फोरजीको तुलनामा फाइभ जी प्रविधिले एक सय गुणा बढी तीव्र गतिमा कार्य गर्नेछ, जसका कारण डाउनलोड र अपलोडमा प्रयोगकर्ताले अलग अनुभव गर्न सक्नेछन् । बिस्तारै फाइभ जी प्रविधिमा विश्वका विभिन्न देशमा काम हुन थालेको छ ।
र्यामको प्रतिस्पर्धा
२०१८ मा १० जीबी र्याम सम्मका स्मार्टफोन आए । वानप्लसले म्याकलरेन एडिसनमा १० जीबी र्याम उपलब्ध गरायो । ८ र ६ जीबी र्याम भएका स्मार्टफोनको कमी भएन । २०१९ मा फाइभ जी प्रविधिसमेत आउने भएकाले त्यसैअनुरूपको क्षमता भएका स्मार्टफोन उपलब्ध हुनेछन् । सामसुङ तथा वानप्लसले यस्ता स्मार्टफोन ल्याउने घोषणासमेत गरिसकेका छन् ।
एआईको प्रयोग
स्मार्टफोनमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको प्रयोग बढ्नेछ । स्मार्टफोनमा क्यामेराको लेन्सदेखि ब्याट्री म्यानेजमेन्ट सम्ममा यसको प्रयोग गरिनेछ । यसको प्रयोग आगामी दिनमा अझ बढेर जानेछ ।