साप्ताहिक संवाददाता
सुटिङ भयो भने दिनहुँजसो नुहाइन्छ । यदि सुटिङ छैन भने हप्तामा एक–दुई पटकसम्म नुहाउँछु ।
लक्ष्मण पौडेल, निर्देशक
जाडोयाममा पानी सम्झनेबित्तिकै जाडो हुन्छ । तैपनि कार्यक्रमहरूमा यताउता गैरहनुपर्ने भएकाले दिनकै त भन्दिनँ, तर दुई–तीन दिनमा एकपटक नुहाउँछु ।
भिमु गुरुङ, गायिका
जाडो मौसममा नुहाउनु भनेको निकै कठिन कुरा हो । यद्यपि म फुर्सदमा जिम क्लब जाने हुँदा प्राय: नुहाउँछु । जाडोमा पनि महिनामा करिब १० पटकसम्म नुहाउँछु ।
याम क्षेत्री, गायक
महिनामा होइन दिनहुँ नुहाउँछु, तर तातो पानीले मात्र । बाहिर गएका बेला तातो पानी भएन भने चाहिँ नुहाउँदिनँ ।
सुदर्शन थापा, निर्देशक तथा निर्माता
आच्छुछु.... सम्झँदा पनि जाडो हुन्छ । धेरै त होइन, कहिले दुई दिन बिराएर त कहिले तीन दिन बिराएर नुहाउँछु ।
सुशीला गौतम, गायिका
गर्मी महिनाको तुलनामा अलि कम नुहाउँछु । दैनिक कार्य प्राय:जसो फिल्डमै हुने भएकाले नुहाउनैपर्छ ।
स्मृति तिमल्सिना, नृत्य निर्देशक
खै, अरू त महिनौं दिन ननुहाई बस्न सक्छन् । मलाई चाहिँ २७–२८ दिन भएपछि जीउ चिलाउन थाल्छ । जे होस्, धेरै नभए पनि महिनामा तीन पटकसम्म नुहाउने आँट गर्छु ।
सुमन कार्की, हास्यकलाकार
गर्मी मौसममा त दिनहुँजसो नुहाइन्थ्यो तर जाडोमा चाहिँ हप्तामा दुई पटकमात्र नुहाउँछु ।
खुमन अधिकारी, गायक
मेरो हकमा नुहाउन जाडो–गर्मी भन्ने हुँदैन । यति पटकसम्म भन्ने छैन, नियमितजस्तै नुहाउँछु ।
सृष्टि खड्का, मोडल
म जाडो होस वा गर्मी, जिम गएर आएपछि दिनहँुजसो नुहाउँछु ।
अनुपविक्रम शाही, अभिनेता
जाडो मौसममा पनि दिनहुँ नुहाउँछु, किनभने घरमा तातो पानी छ ।
स्वरूपराज आचार्य, गायक
मलाई शारीरिक सरसफाइ गर्न जाडो–गर्मीले कुनै असर पार्दैन । त्यसैले दिनहुँ नुहाउँछु ।
हरि हुमागाईं, छायाँकार
प्राय:जसो दुईदिनमा एकपटक नुहाउँछु तर फिटनेस क्लब जाँदा भने दिनहुँजसो नुहाइरहेको हुन्छु ।
अनिता चलाउने, गायिका
मुडमा भर पर्छ । कहिले त महिनौं ननुहाई पनि बस्न सकिन्छ ।
उपेन्द्र सुब्बा, साहित्यकार
जाडो मौसममा दुई दिनमा एकपटक नुहाउने बानी छ ।
श्रीदेव भट्टराई, अभिनेता
टाउको चाहिँ कतै साथीभाइ भेटघाट अथवा कुनै कार्यक्रमका क्रममा आवश्यकताअनुसार नुहाइरहन्छु तर पूरै शरीरचाहिँ महिनामा दुई पटक नुहाउँछु, तैपनि फोहोर हुँदैन ।
इष्टु कार्की, रंगकर्मी
मलाई जाडोमा नुहाउन कुनै पनि कुराले छेक्दैन । दिनहुँ नुहाएर मात्र बाहिर निस्कन्छु तर तातो पानीले नुहाउँछु ।
रेखा थापा, अभिनेत्री
यतिपटक भन्ने नै हुँदैन, कहिलेकाहीँ टाउकोमात्र नुहाइन्छ । महिनामा कम्तीमा २० पटक त नुहाउँछु होला ।
पूजा शर्मा, अभिनेत्री
म जाडो महिनामा कम्तीमा तीन पटक नुहाउँछु ।
आर्यन पुडासैनी, मोडल
जाडो मौसममा तातो पानी भयो भने त दिनहुँजसो नुहाउँछु तर चिसो पानी बाट बार हात टाढा भाग्छु ।
सलोन बस्नेत, अभिनेता