साप्ताहिक संवाददाता
अभिनेता प्रदीप खड्काले अभिनय गर्छु भन्दै साइन गरेका चलचित्रको सूची लम्बिरहेको छ । प्रदीपले साइन गरेको चलचित्रको संख्या आधा दर्जन पुगिसकेको छ । प्रदीपले अघिल्लो वर्ष प्रदर्शन भएको चलचित्र लिलीबिलीलगत्तै काम गर्ने सर्तमा सुवास गिरीको चलचित्र भैरवी केही रकम लिएर साइन गरेका थिए ।
त्यसपछि उनको अर्को चलचित्र रोज पनि प्रर्दशन भयो । अब उनको नयाँ चलचित्र लभ स्टेसन प्रदर्शनको तयारीमा छ, तर भैरवी कहिले सुरु हुन्छ टुंगो छैन । यता प्रदीपले खुरु–खुरु काम गरे पनि अबको २ वर्षका लागि उनी बुक भैसकेका छन् ।
हेमराज बीसीले निर्माण गर्ने चलचित्रमा पनि प्रदीपले राम्रै पारिश्रमिक लिएर साइन गरेका छन् भने अर्का निर्देशक रामबाबु गुरुङको चलचित्र पनि साइन गरिसकेका छन् । पश्चिम नेपालका एक हल सञ्चालकको चलचित्र पनि महँगो पारिश्रमिक लिएर साइन गरेका छन् । उनको अर्को चलचित्र प्रेम गीत–३ पनि चाँडै सक्नुपर्ने छ ।
प्रदीपले यसरी धमाधम साइन गरेका चलचित्र कहिलेसम्म भ्याउँछन् होला त ? यो त आफ्नै कारण आफैंलाई दबाब र दु:ख दिएको जस्तो भएन र ? प्रदीपले बेलैमा सोचे राम्रै होला कि ?