साप्ताहिक संवाददाता
केही क्लब लिग फुटबलकै लागि बनेका हुन्छन् । लिग फुटबल कसरी खेल्नुपर्छ, यस्ता क्लबलाई राम्रोसँग थाहा हुन्छ र उनीहरू दोहर्याए लिग उपाधि जितिरहेका हुन्छन् । नेपाली फुटबलको इतिहासमा यस्तै क्लब हो— मनाङ मस्र्याङ्दी । लिग फुटबलमा यो क्लबसँग जोडिएका कथाजस्तै लाग्ने धेरै घटना सुन्न पाइन्छ । यसमै एउटा अर्को कथा पनि जोडिएको छ, त्यो हो— फेरि एकपटक लिग च्याम्पियनका रूपमा मनाङको सानदार उदय । अन्तिम चरणका खेल बाँकी छँदै पछिल्लो साता यस वर्षको सहिद स्मारक लिग ए डिभिजनको टुंगो लागिसकेको छ ।
कुल १४ टिम सहभागी लिगको ११ औं चरण सकिँदा–नसकिँदै मनाङले लिगमाथि कब्जा जमायो, त्यो पनि कुनै खेल नगुमाई । यसमा बराबरी पनि छैन, पूरा ११ नै जित छ । यसले पनि देखाउँछ, यसपटकको लिगमा मनाङ–मस्र्याङ्दी क्लबको वर्चस्व कस्तो रह्यो ? प्रतियोगिताको ११ औं चरणमा मनाङको खेल निर्णायक सावित भयो, संकटाविरुद्ध । संकटा पूरा प्रतियोगिताकै डार्क हर्सका रूपमा आफूलाई स्थापित गर्न सफल टिम थियो ।
सुरुमा भनिएको थियो, डिफेन्डिङ च्याम्पियन मनाङलाई उपाधिको होडमा चुनौती पेस गर्न सक्ने एक मात्र टिम थ्री स्टार हुनेछ । हुन पनि लगभग राष्ट्रिय खेलाडीले भरिएका टिम भनेका यिनै दुई टिम थिए । सुरुमा यिनै दुई टिमबीच शीर्ष स्थानमा लागि होड चलेको थियो, तर जब यिनै दुई टिम एक आपसमा भिडे, नतिजा मनाङको पक्षमा ३–१ ले रह्यो । लिगको ११ औं चरणसम्म आइपुग्दा थ्रीस्टार दोस्रो चरणमा एक समय मात्र पहिलो स्थानमा रह्यो ।
त्यसयता मनाङ लगातार शीर्ष स्थानमै रह्यो भने त्यसलाई निर्णायक मोडसम्म कायम राख्नसमेत सफल भयो । खेलाडीको नाम हेर्दा संकटा औसत टिम लाग्न सक्छ, तर तिनै खेलाडीको सामूहिक प्रदर्शन भने उत्कृष्ट रह्यो । मनाङ र थ्री स्टारबीच उपाधिका लागि चुनौती पेस गर्न सक्ने टिमका रूपमा रह्यो, संकटा । मनाङले यी दुवै टिमलाई पराजित गर्यो । संयोगले मनाङको संकटामाथिको जित अन्तर पनि ३–१ नै रह्यो ।
‘हाम्रा लागि थ्री स्टार र संकटाविरुद्धका दुई खेल महत्त्वपूर्ण सावित भए र ती दुवै खेलमा हामी विजयी पनि भयौं,’ मनाङका प्रशिक्षक सुमन श्रेष्ठ भन्छन्, ‘लिगका लागि हामीले राम्रो तयारी गर्न सकेनौं, तर जति बेला लिग अघि बढ्दै गयो, हाम्रा सबै खेलाडीले राम्रो खेले । त्यसमा प्रशिक्षण र व्यवस्थापनको पाटोले पनि उत्तिकै सहयोग गर्यो । यो नै मनाङले यसपटकको लिग जित्नुको कारण हो ।’ खासमा मनाङका मुख्य प्रशिक्षक सुमन थिएनन् । नाइजेरियाली टोपे फुजा थिए । प्राविधिक कारणले उनको नाम प्रशिक्षकका रूपमा लेखिएन, तर टिमको लिग यात्रामा उनको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रह्यो । टोपे मात्र होइन, मनाङका जति विदेशी खेलाडी थिए, ती सबैले राम्रो प्रदर्शन गरे । त्यसमा प्रमुख खेलाडी रहे, नाइजेरियाकै आपेज ओलावाले ओलाडिप । लिग अघि मनाङले भारतको सिक्किममा सञ्चालित गभनर्स गोल्डकप जितेको थियो र त्यसयता लिगमा त्यस्तै लय समात्न सफल भयो ।
अब प्रश्न छ, लिगमा बाँकी सबै खेल मनाङले जित्नेछ कि कम्तीमा बराबरीसम्म गर्नेछ । यसका लागि ती खेलका नतिजा नै हेर्नुपर्नेछ, तर मनाङले फेरि एकपटक लिग जितेर सिद्ध गरेको छ, यो नेपाली फुटबल इतिहासकै सबैभन्दा सफल क्लब हो । मनाङले सहिद स्मारक लिग ए डिभिजन जितेको यो आठौं पटक हो । त्यसपछि छ पटक जितेको आरसीटी छ अनि चार–चार पटक जितेका एनआरटी र थ्री स्टार छन् ।
मनाङले सबैभन्दा पहिले ०४३ सालमा ए डिभिजन लिग जितेको थियो । लगत्तै उसले ०४४ सालमा पनि लिग जित्यो । त्यति मात्र होइन, ०४६ मा लिग जितेर उपाधिमाथि ह्याट्रिकसमेत गर्यो । त्यसमध्ये सुरुका दुई लिग जित्दा पनि मनाङले सबै खेल जितेको थियो । लिग फुटबलमा यस्तो सफलतालाई अद्वितीय नै मानिन्छ । फेरि एकपटक मनाङ त्यही लयमा छ, मनाङले यसपटक जसरी लिग जित्यो, त्यो क्लबसँग जोडिएको अर्को कथा भएको छ ।