साप्ताहिक संवाददाता
पुस २३, २०७५
एउटा मात्र चलचित्रमा अभिनय गरेर स्थापित हुने थोरै अभिनेत्रीको सूचीमा कविता गुरुङको नाम पनि आउँछ । चलचित्र बोबीको व्यवसायिक सफलतापछि कवितालाई दर्शकले अन्य चलचित्रमा समेत खोज्न थालेका छन् । यद्यपि कवितालाई भने आफ्नो ब्यानरभन्दा बाहिरका चलचित्रमा अभिनय गर्ने रहर छैन ।
हालै बोबी–२ को घोषणा समारोहमा राखिएको एउटा जिज्ञासामा कविताले आफू मात्र होइन उनका श्रीमान् उमेश थापासमेत अन्य ब्यानरका चलचित्रमा अभिनेता वा अभिनेत्रीका रूपमा प्रस्तुत हुने सम्भावना नभएको दाबी गरेकी छिन् ।
‘म हिरोइन भएर कुनै पनि हालतमा आउँदिन, कविताको भनाइ छ–‘मलाई राम्रोसँग थाहा छ, मलाई अरू कसैले हिरोइन लिनु हुन्न । मिलन चाम्सले मात्र त्यो जोखिम उठाउनु भएको हो ।’ उनले श्रीमान्को कुरा गर्दै भनिन्–‘उमेशलाई पनि हिरो हुने रहर छैन ।’