विष्णु माझीको बाल्यावस्थाको स्वभाव कस्तो थियो ?
उनी निकै सोझी थिइन् । सानैदेखि आफ्नै तरिकाले काम गर्थिन । निकै कम बोल्थिन् । विद्यालय पनि जान्थिन् अनि बाँकी रहेको समय गाउँघरमा मेलापात, घाँस–दाउरा गर्थिन् ।
गाउँघरमा उहाँ कस्ता गीत गाउनुहुन्थ्यो ?
उनी गाउँपाखामा विभिन्न भाकाका गीत गाइरहन्थिन् । घरसँगै जोडिएको कालीगण्डकी नदीमा नुवाइधुवाई गर्दा, डुङ्गामा नदी तर्दा तथा गिट्टी–बालुवाको काम गर्दा पनि उनी गीत गाउँथिन् । मलाई मेरी छोरी विष्णुको स्वर एकदमै मन पथ्र्यो । उनको स्वर सुरिलो थियो । उनले गाउँघरमा धेरैजसो माया पिरिम तथा दु:खका गीत गाउँथिन् साथै उनी बाबुआमाका र घरायसी दु:ख–पीडा अनि दलितका गीत पनि गाउँथिन् ।
छोरीसँग कत्तिको सम्पर्कमा हुनुहुन्छ ?
फोन नै हुदैन । कसरी सम्पर्क हुनु र ? कि भेट्न काठमाडौं नै जानुपर्यो ।
तपाईं छोरी भेट््न कति पटक काठमाडौं जानुभएको छ ?
अहिलेसम्म गा’को छैन । उसकी आमा एकपटक गा’की छ ।
उहाँचाहिँ माइती आउनुभएको छैन ।
विवाह भएको १०/११ वर्ष भयो ? विवाहपछि एक दिन आएकी थिई, घरनजिकैको मन्दिरमा पूजा गरेर फर्किहाली ।
माइती आउँदा कोसँग आउनुहुन्छ ?
माइती नै आएकी छैन । कोसँग आउनु ?
किन नआउनुभएको त ?
एकपटक आएकी थिई । उसले बाहुनसँग विवाह गरी अनि हामीले पनि टीका लगाईदिएका छैनौं, त्यसैले पनि नआएकी हो कि ?
उहाँ सार्वजनिक ठाउँमा नदेखिनुको कारणचाहिँ के हो ?
खोइ ! सबैले त्यसै भन्छन्, हामीलाई पनि थाहा छैन । छोरीले कलाकार सुन्दरमणि अधिकारीसँग विवाह गरेकी हो । व्यस्त भएर पनि होला नि त ।
उहाँलाई सुन्दरमणिले दबाबमा राखेको भन्ने कुरा पनि बाहिर आएको छ नि ?
हामी सानो जात, छोरीले ठूलो जात रोजेर विवाह गरी, केही विभेद त भा’को होला नि । त्यति हिँड्न पाउँदिन रे । फोन पनि गर्दिन । यहाँ पनि आउँदिन । रेडियो नेपाल (स्टुडियो) मात्र जान्छे अनि घर फर्किहाल्छे । बाहिर जाने भनेको रेडियो नेपाल मात्र हो । त्यहाँ भन्दा बाहिर जान्न भन्ने सुनेको छु ।
तपाईंकी छोरीका छोराछोरी पनि जन्मिए होला नि त ?
खोइ ! छोराछोरी पनि पाएकी छे भन्ने सुनेको हँु । हामीले त अहिलेसम्म देखेका छैनौं । आमा भएपछि बढी व्यस्त भइन्छ, त्यही भएर पनि बाहिर नआ’की होली ।
तपाईंका ज्वाइँ सुन्दरमणि चाहिं ससुराली कत्तिको आउनुहुन्छ ?
ज्वाइँ पनि अहिलेसम्म ससुराली आउनुभएको छैन । मैले अहिलेसम्म ज्वाइँको अनुहार देखेको छैन । मेरी बूढीले चाहिँदेखि कि कुन्नी ।
विष्णु अन्तिम पटक माइती आएको कहिले हो ?
त्यही ५/६ वर्ष पहिले आएकी थिइन् । त्यसपछि नआएको थुप्रै भयो । छोरी भेट्न त मन लागेको छ तर ऊ आउँदिन, म पनि काठमाडौं जान सक्दिनँ ।