साप्ताहिक संवाददाता
सांगीतिक क्षेत्रमा अगाडि बढ्ने क्रममा सुन्दरमणि अधिकारी काठमाडौं हान्निए । उनी काठमाडौं पुगेपछि जन्मस्थान कास्कीको बेगनासमा आउजाउ कम हुन थाल्यो । त्यही बेला एउटा हल्ला आयो । उनले काठमाडौंतिरै विवाह गरे । सुन्दरमणिले विवाह गरे भनेर हल्ला गरिएकी युवती चर्चित गायिका विष्णु माझी थिइन् । पछि त्यो हल्ला हल्लामा मात्र सीमित रहेन । औपचारिक रूपमै विवाहमा परिणत भयो । विवाह गर्ने ठाउँ उनीहरूले पोखरालाई नै रोजे अनि २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा सुटुक्क विवाह गरे । विवाह भएपछि परिवारले तुरुन्त स्वीकार भने गरेन । त्यसैले पनि परिवारसँगको सम्बन्ध राम्रो भएन । उनीहरूले तत्कालीन लेखनाथ नगरपालिकाको वडा नम्बर–९ हालको पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यालयमा २०६९ मंसिर ५ गते विवाह दर्ता गरे ।
वडामा विवाह दर्ता भएपछि उनीहरूको विवाहले वैधानिकता पायो । विस्तारै परिवारले समेत बुझ्न थाल्यो अनि उनीहरूलाई स्वीकार गर्ने निष्कर्षमा पुग्यो । नजिकका आफन्तलाई बोलाएर उनीहरूलाई घरमा भित्राइयो । तीन वर्षअघि उनीहरूको जुम्ल्याहा सन्तानको जन्म भयो । विष्णु सुत्केरी हुँदा झन्डै ३ महिना वेगनास बसिन् । सुन्दरले पनि बच्चा हुर्काउन वेगनासमै सहज हुने सोचेर गाउँमै लामो समय बस्न दिए । झन्डै डेढ वर्षअघि विष्णुका ससुरा अर्थात् सुन्दरमणिका पिता विष्णुप्रसादको निधन हुँदा विष्णु पनि किरिया बसिन् । गएको दसंैमा समेत उनी बेगनास पुगेकी थिइन् । सुन्दरमणिका तीन जना दाजुभाइ छन् । जसमध्ये सुन्दर जेठा हुन् ।
उनका भाइहरू भने जुम्ल्याहा हुन् । एक भाइ सरकारी जागिरे छन् । एक भाइ भने वैदेशिक रोजगारीका लागि गए पनि अहिले भने गाउँमै छन् । उनकी आमा समेत गाउँमै छिन् । विष्णु माझी गाउँमा रहँदा–बस्दा घरबाहिर खासै निस्किन्नन् । केही छिमेकीसँग सामान्य बोलचाल भने गर्छिन् । सुन्दरमणि अधिकारीको जन्म २०३१ फागुन १४ गते भएको हो भने विष्णु माझीको २०४३ असार १२ गते । विष्णु माझीको जन्म स्याङ्जा जिल्लाको तत्कालीन रत्नपुर–६ हालको चापाकोट नगरपालिकामा भएको हो । सुन्दरमणिकी जेठी श्रीमती पनि छिन् भनेर बेला–बेलामा हल्ला चले पनि त्यो निराधार भएको आफन्त तथा छिमेकीहरूको दाबी छ । यसरी हेर्दा सुन्दरमणि र विष्णु माझीको पारिवारिक सम्बन्ध राम्रो रहेको सुन्दरमणिको परिवारको एंगलबाट देखिन्छ ।
(वडाको रेर्कड तथा सुन्दरमणिका आफन्त एवं छिमेकीहरूसँगको कुराकानीमा आधारित)