साप्ताहिक संवाददाता
पछिल्लो दशकका लोकप्रिय युवाकवि जीवन खत्री कवितासंग्रह ‘आगोको वर्णमाला’ लिएर बजारमा आएका छन् । गत शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, कवि मोमिला, पत्रकार विमल आचार्य, निबन्धकार दीपक सापकोटा तथा कविका पितामाताले संग्रह संयुक्त रुपमा विमोचन गरेका हुन् ।
लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख वक्ता कवि तुलसी दिवसले ‘आगोको वर्णमाला’ कविता संग्रहमा पहाडी बिम्बहरू टिपेर लेखिएका सुन्दर कविताहरूको संगालो रहेको बताए । यस्तै पुस्तकमाथिको अन्तरसंवाद कार्यक्रममा बोल्दै पत्रकार एवं निबन्धकार दीपक सापकोटाले जीवनका कविताहरू कोमल रहादै तिनमा आमाका बिम्बहरू कलात्मक एवं गहिरो अर्थका साथ घुलेको बताए । सापकोटाले यस कृतिले जीवनलाई नयाँ उचाई दिने र कविहरूको भीडमा प्रष्ट चिनाउन सक्ने दाबी गरे ।
यस्तै समालोचक विमल आचार्यले नेपाली कविता क्षेत्रमा जीवन खत्रीका कविताहरूमा सबै किसिमका स्वरुहरु पाउन सकिने बताउादै भने, ‘कविता पढ्दा कवि खत्री प्रगतिवादी कवि हुन् भन्नेमा कुनै शंका छैन ।’
कवि मोमिलाले जीवनका कविताहरू सुन्दर र सरल रहेको भएपनि आगोजस्तै रापिलोसमेत भएको धारणा राखिन् । लोकार्पण कार्यक्रममा कवि जीवन खत्रीले संग्रहभित्रबाट ‘आमाहरुको गन्थन’ र ‘नानीबाबुहरू, पात र प्रेम’ गरी दुई कविता वाचन गरे ।
कवि खत्री विगत एक दशकदेखि साहित्य लेखन र साहित्यिक गतिविधिमा क्रियाशील छन् । ४९ थान कविता रहेको कवितासंग्रहलाई ‘यूरेका पब्लिकेसन’ले प्रकाशन गरेको हो ।