अभिनेत्री श्वेता खड्का चलचित्रमा नदेखिएको धेरै भयो । चलचित्र कान्छीपछि उनी अभिनयमा फर्किएकी छैनन् । समाजसेवा र आफ्नै व्यवसायमा व्यस्त अभिनेत्री खड्का दरवारमार्गमा अकस्मात भेटिइन् । कहीँकतै हिंडिरहेकी अभिनेत्री खड्कासँग हाम्रा सहकर्मी रामजी ज्ञवालीको जम्काभेट भयो :
हेल्लो नमस्ते !
हेल्लो नमस्ते है, कता हिँड्नुभएको हजुर ? म त के–के हो के–के कामले गर्दा भेट्न पनि पाइन्, सन्चै हुनुहुन्छ नि !
हजुर ठीकै छ, कता जान लाग्नुभएको ?
चाँडै बालुवाटारमा एउटा बिजनेस सुरु गर्दैछु, त्यसकै काममा जान लागेकी ।
के बिजनेस हो नि !
केही नयाँ गर्दैछु, तर चलचित्रचाहिँ होइन ।
दिन कसरी काट्दै हुनुहुन्छ ?
मैले दर्शकहरूलाई चलचित्र कान्छी दिए । त्यसपछि त्यही माझी बस्ती निर्माणमा व्यस्त छु ।
अझै सकिएको छैन ?
कहाँ सकिनु नि ! बजेट अभावले भनेजसरी काम अघि बढ्न सकेन † तर काम चाहिँ रोकिएको छैन ।
कहिलेसम्म सकिन्छ ?
सकेसम्म चाँडै सक्ने सोचमा छु । त्यो बस्ती निर्माणका लागि अझै कम्तीमा डेढ करोड आवश्यक छ । आशा छ, चाँडै पूरा हुनेछ । अहिलेसम्म ८ करोडको हाराहारी खर्च भैसकेको छ । यद्यपि मैले धेरै तनाव लिएकी छैन, चाँडै मेरो कल्पनाको सुन्दर नमुना बस्ती हस्तान्तरण गर्नेछु ।
अगाडि जाम देखिरहनुभएको छ नि ! कत्तिको तनाव सिर्जना हुन्छ यो सब देख्दा ?
अति नै, कुरै नगर्नुस् । कहिलेकाहीँ त गाडी चलाउन पनि मन लाग्दैन । समयमा कहाँ–कहाँ पुग्नुपर्ने हुन्छ । कति धेरै मिटिङ हुन्छन् । जामकै कारण धेरै दु:ख पाएकी छु । गाडी जामका कारण कतिपटक झुटो बोल्नुपरेको छ । आशा छ, यो सबै चाँडै ठीक होला †
एक वर्ष भयो, चलचित्रमा नआएको । अब नेपाली दर्शकले तपाईंका चलचित्र हेर्न नपाउने त होइनन् ?
बाहिरका प्रोजेक्ट गर्नेहो भने अहिलेसम्म केही चलचित्र त आइसक्थे होला । आफैं चलचित्र निर्माण गर्ने र विगतमा जस्तै राम्रा चलचित्र बनाउने सोचका कारण केही ढिला भएको छ । चलचित्रमा नआउने नै त सोचेकी छैन ।
कुन कुराबाट परिचित हुँदा खुसी लाग्छ ? अभिनेत्री, समाजसेवी अथवा बिजनेस बीमेन ?
धेरैले अभिनेत्री कै रूपमा चिन्नुहुन्छ । बाँकी त मेरा विभिन्न पाटा हुन् ।
चलचित्र, माझी बस्ती, आफ्नो बिजनेससँगै व्यक्तिगत जीवनमा विवाह पनि जोडिएर आउँछ । जीवनमा कसैले वर्षौं साथ दिन्छु भन्दै आएर बीचमै छोडेर जानुभयो । अब विगत सोचेरै मात्र बस्ने त होइन
होला नि ?
विवाह मात्र जीवनको डेस्टिनेशन हो जस्तो लाग्दैन । जन्म, मृत्यु र विवाह भन्ने कुरा माथिबाटै लेखिएर आएको हुन्छ, हेरौं कहिले हुन्छ ?
तपाईंको अफेयर चलिरहेको चर्चा पनि चल्छ नि !
मलाई त प्रेम अनि विवाह फेक कमिटमेन्ट हो जस्तो लाग्छ । यसमा धेरै नवोलौं ।
विवाह कहिले होला, अनुमान गर्न त सकिएला नि !
अहिलेसम्म सोचेकी छैन । आई एम ह्याप्पी । आफ्नै किसिमले जीवन चलिरहेको छ । विगतमा कसैसँग सहकार्य गर्ने सम्झौता त भएको थियो तर मैले एउटी श्रीमतीका रूपमा, वुहारीका रुपमा जीवनको अनुभव गर्न पाइनँ । म हिजो पनि सिंगल थिए, अहिले पनि सिंगल छु । कस्तो हुन्छ कपल लाईफ भन्ने अनुभव गर्न पाएकी छैन । जीवनमा जे–जस्तो आइपर्छ त्यसलाई स्वीकार गर्नुपर्दो रहेछ । त्यसपछि यो विषयमा अहिलेसम्म सोचेकी छैन ।
२०१८ कस्तो रह्यो ?
एकदमै राम्रो भयो । सोचेभन्दा राम्रो भएको अनुभव गरेकी छु । आशा छ २०१९ पनि ठीकै बित्नेछ । अमेजिङ कुनै काम गर्ने सोच त बनाएकी छैन, पेन्डिङ काम नै पूरा गर्ने हो । एउटा इटालियन रेस्टुराँ खोल्दैछु बालुवाटारमा त्यो रेस्टुराँ र हिमालयन जाभाको फ्रेन्चाइज पनि खोल्दैछु । त्यसबाहेक आफू जहाँ–जस्तो अवस्थामा छु त्यसमा खुसी हुने संकल्प गरेकी छु ।