साप्ताहिक संवाददाता
वर्ष २०१८ मा कुनै खेलाडीले विवाह गरे भने कसैले सन्तान जन्माए । कसैले गत वर्ष सन्तान जन्माउने समाचार समेत सार्वजनिक गरेका छन् ।
सानिया मिर्जाका छोरा
भारतीय टेनिस खेलाडी सानिया मिर्जा तथा उनका श्रीमान् सोयब मल्लिकले गत अक्टोबरको अन्त्यमा छोरा जन्माए । करिब १ महिनापछि उनीहरूले छोराको तस्बिर सोसल मिडियामार्फत सार्वजनिक गरेका थिए । उनको नाम इजहान राखिएको छ ।
एना इभानोभिकको विवाह
विश्व नम्बर १ टेनिस खेलाडी एना इभानोभिकले सन् २०१६ मा बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेड खेलाडी बास्टियन स्वाइन्स्टिगरसँग विवाह गरेकी थिइन् । सन् २०१८ को मार्चमा यो जोडीले छोरा जन्माएका छन् जसको नाम लुका राखिएको छ ।
म्याराडोनाको इन्गेजमेन्ट
अर्जेन्टिनाका प्रसिद्ध फुटबल खेलाडी म्याराडोनाले अगस्टमा आफू भन्दा २८ वर्ष कान्छी गर्लफ्रेन्ड रोसिओ ओलिभासँग इन्गेजमेन्ट गरेका छन् । ५७ वर्षीय म्याराडोनाले ब्युनस आयर्समा ओलिभाको बर्थडे पार्टीमा ४५ जना पाहुनाका सामू डाइमन्ड रिङ प्रदान गरी उनलाई प्रस्ताव गरेका थिए । ओलिभा पनि व्यवसायिक फुटबलर हुन् । विभिन्न अवसरमा उनी म्याराडोनासँगै हुन्थिन् । रुसमा सम्पन्न फिफा विश्वकपताका पनि उनी म्याराडोनासँगै थिइन् ।
अन्ना कोर्निकोभाका जुम्ल्याहा सन्तान
कुनै समयकी चर्चित टेनिस सुन्दरी अन्ना कोर्निकोभा एनरिक इग्लेसियाससँग सम्बन्धमा छिन् भन्ने कुरा धेरैलाई थाहा थिएन । अन्ना र एनरिक विगत १६ वर्षयता सम्बन्धमा छन् तर उनीहरूले अझै पनि आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छैनन् । यद्यपि २०१८ प्रारम्भ हुनु भन्दा करिब एक महिना पहिले डिसेम्बर, २०१७ मा उनीहरूले निकोलस र लुसी नामक जुम्ल्याहालाई जन्म दिएका छन् । त्यसपछि बल्ल उनीहरूको सम्बन्ध प्रमाणित भएको छ ।
बुवा बन्दै पोग्बा
विश्वकपको समयमा फ्रेन्च फुटबलर पाउल पोग्बाको क्रेज निकै देखिन्थ्यो । म्यानचेस्टर युनाइटेड र अन्य विभिन्न क्लबबाट समेत खेल्ने यी फुटबल खेलाडीकी बोलिभियन गर्लफ्रेन्ड मारिया साल्युज हाल गर्भवती भएको चर्चा चलेको छ । उनीहरूबीचको सम्बन्धका बारेमा धेरै कुरा सार्वजनिक भएको छैन, किनभने उनीहरू आफ्नो सम्बन्धलाई गोप्य राख्न चाहन्छन्, तर केही समय अघि फुटबल हेर्न गएको समयमा मारियाको बेबी बम्प स्पष्ट देखियो । पोग्बाको खेल सन् २०१९ मा कस्तो हुन्छ भन्ने अर्को चर्चा त छदैछ, यसका साथै उनी पहिलो पटक बुवा बन्ने कुराले समेत चर्चा पाएको छ ।
सन्तान जन्माउँदै छन् क्रिस र साम
सन् २०१८ को अन्तिम महिना इंग्ल्यान्डका फुटबलर क्रिस स्मेलिङका लागि अविष्मरणिय रह्यो । २९ वर्षिय क्रिसकी पत्नी तथा ग्ल्यामरस मोडल साम कुक आमा बन्ने खबर उनीहरूले क्रिसमसको रमाइलोसँगै सार्वजनिक गरे । लामो अफेयर पश्चात् उनीहरूको विवाह २०१७ जुनमा भएको थियो । क्रिसमस ट्रीसँगै बेबी बम्पको तस्बिर सार्वजनिक गरेका उनीहरूले वर्षको अन्तिम दिन पनि अर्को तस्बिर सार्वजनिक गरेका छन् ।