सुनसरीको धरानबाट मात्र तीन घण्टाको दूरीमा रहेको पर्यटकीय क्षेत्र वसन्तपुरमा हिउँ खेल्न यो साताभर हजारौं आन्तरिक पर्यटकको घुइँचो लागिरह्यो । हिउँ हेर्न र हिउँमै खेल्न आएका आन्तरिक पर्यटकले पटेक डाँडादेखि मिल्के भञ्ज्याङसम्मका सडक तथा डाँडाकाँडा भरिभराउ भए ।
वसन्तपुर क्षेत्रमा परेको बाल्लो हिउँ खेल्न धरान–८, बरगाछीबाट पुजन पोखरेलको समूह चित्रे बजारसम्म पुग्यो । ६ जनाको समूहमा आएका उनीहरू दुई दिनसम्म पटेकडाँडा क्षेत्रमा जमेको बाल्लो हिउँमा खेलेर रमाइलो गरीरहेका देखिन्थे । लर्डबुद्ध कलेज विराटनगरबाट हिउँ हेर्न आएका ३० जनाजति विद्यार्थीको समूह तीनजुरे क्षेत्रमा रमाइरहेको देखिन्थ्यो । ‘पहिलो पटक हिउँ देखेको, साह्रै रमाइलो भयो,’ समूहमा हिउँ खेल्न आएका निमेष तामाङले भने । उनीहरू हिउँ देख्नेबित्तिकै सेल्फी खिचेर सामाजिक संजालमा पोस्ट गरिरहेका देखिन्थे । त्यहाँ अहिले अन्य दिनको तुलनामा १० गुणा वढी सवारी पूर्वी तराईबाट आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सात वर्ष पछि बाक्लो हिउँ परेपछि स्थानीय पर्यटन तथा होटल व्यवसायीहरू निकै उत्साहित देखिएका छन् । जिल्लामा एक्कासि बढेको हिउँ पर्यटनका कारण होटलहरू अत्यधिक व्यस्त भएका छन् । सडकदेखि डाँडापाखा र जंगलसम्म नै आन्तरिक पर्यटकको चहलपहल देखेर होटल व्यवसायमा केही उत्साह थपिएको होटल वसन्तपुर भ्यूका संचालक प्रकाश श्रेष्ठले बताए । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृतिको विकास भएकोमा उनी निकै खुसी देखिन्थे ।
तेह्रथुम आफैंमा सुन्दर र पर्यटकीय आर्कषण भएको जिल्ला हो । यहाँका उच्च क्षेत्रमा प्रत्येक वर्षजसो हिउँ पर्छ । यति बाल्लो हिउँ भने यो वर्ष मात्र परेको हो । यस अघि सामान्य मात्रामा हिउँ पर्ने गरेको थियो । पूर्वी तराई तथा भारतको विहारबाट नजिकको दूरीमा रहेको तीनजुरे–मिल्के–जलजले क्षेत्रमा हिउँ खेल्न यो साता १५ हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटक आएको पर्यटन विकास तथा प्रवद्र्धन समिति सदस्यसमेत रहेका होटल व्यवसायी श्रेष्ठको भनाइ छ ।
हिउँ खेल्न आन्तरिक पर्यटकहरू कोही जिप भाडामा लिएर, कोही मोटरसाइकल त कोही सोहि रुटमा चल्ने बसमा यात्रा गरेर आएका छन् । हिउँ र प्रकृतिसंग रमाउन, तीनजुरे डाँडामा रहेको पाथीभरा मन्दिर दर्शन गर्न, तस्बिर खिच्न, फिल्मको सुटिङ गर्न तथा घुमफिर गरेर रमाउन हजारौं पर्यटक यहाँसम्म आउने प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । यहाँ आउने पर्यटकका लागि भने प्रयाप्त होटल, लजहरू भने छैनन् । हिउँमा रमाउन ठुलो संख्यामा आएका पर्यटकहरू आफुले खोजे जस्तो होटल तथा खाना नास्ता नपाउँदा भने खिन्न देखिन्थे । पटेकडाँडादेखि मिल्के जलजले क्षेत्रको करिब पाँच दिन पैदल दूरीको पर्यटकीय क्षेत्रमा स्तरीय र पर्याप्त होटलहरू नहुँदा भने यहाँ आउने पर्यटकले बर्सेनि समस्या भोग्दै आएको अर्का पर्यटन व्यवसायी धर्मराज खड्काले बताए । यहाँका गुफापोखरी, चौकी, मिल्के, जलजले, मुडेशनिश्चरे, लसुने तीनजुरे, पटेकडाँडा, मार्गा पोखरी आदि पर्यटकीय स्थल पर्यटकहरूको पर्खाईमा छन् ।
तीनजुरे, पटेकडाँडा, मेन्छ्यायाम डाँडा आदि स्थान बाट सूर्योदय, सूर्यास्त तथा हिमालको सुन्दर दृश्य देखिन्छ । यहाँबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथा आदि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । यहाँसम्म आउने पर्यटकले फर्किएर जाँदा चौंरीको छुर्पी, चिज, चौंरीको घ्यू, लेकाली फलफुलको वाईन, गुराँसको जुस, ढाका कपडा, खाँडीको कपडा, खुकुरी, लोकल कुखुरा, सुकुटी आदि कोसेली लान सक्छन् । हिउँ पर्यटन जिल्लाको आर्थिक समृद्धिसँग जोडीएको प्रदेश सांसद तिवारीको भनाइ छ ।
हिउँ खेल्न र हेर्न आउनेहरूका कारण यहाँका होटल तथा लजहरू भरिभराउ भएको वसन्तपुरकै सबैभन्दा ठुलो होटल याकका सञ्चालक पेम्बाछिरीङ भोटीयाले बताए । पर्याप्त होटल नहुँदा आएका सबै पर्यटकलाई बास बसाउन र ख्वाउन समस्या भएको उनको भनाइ छ । हिमपातले गर्दा धनुकटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, तेह्रथुमको लालीगुराँस नगरपालिका, छथर गाउँपालिका, संखुवासभाको धर्मदेवी नगरपालिका, मादी नगरपालिका आदि स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा भारी वृद्धि भएको हो ।