पुस २ गते थाइल्यान्डको बैंककमा सम्पन्न ६७ औं संस्करणको मिस युनिभर्स–२०१८ को उत्कृष्ट १० (आठौं स्थान) मा पर्न सफल भएलगत्तै नेपाली चेली मनिता देवकोटा सञ्चारमाध्यमको हेडलाइन बनिन् । प्रतियोगितामा सहभागिता जनाउन थालेको दोस्रो वर्षमै नेपालले पाएको यो उपलब्धिलाई ऐतिहासिक समेत मानियो । प्रतियोगिताको उपाधि क्याट्रिओना ग्रेले जिते पनि गोरखामा जन्मिएकी मनिता नेपाललाई ब्रह्माण्ड सामु चिनाउन सफल भइन् । प्रतियोगितामा सहभागिता जनाउन मंसिर १४ गते नै थाइल्यान्ड पुगेकी मनिताले मिस युनिभर्सको भव्य एरिनामा आफूलाई चिनाउन झन्डै ८ महिना कठोर मेहनत गरिन् । मानसिक, बौद्धिक तथा शारीरिक रूपमा आफूलाई अब्बल साबित गर्ने क्रममा दिन–रात नभनी मेहनत गरिन् । त्यस क्रममा आफ्नो शरीर झन्डै १३ केजी घटाइन् । ५ फिट ८ इन्च अग्ली मनिता अंग्रेजी भाषामा पोख्त भएकाले पनि आफूलाई मिस युनिभर्सको माहौलमा थप सहज भएको बताउँछिन् । बुधबार कुपन्डोलस्थित हिडन ट्रेजरको कार्यालयमा कृष्ण भट्टराईसँग कुराकानी गर्ने क्रममा मनिताले नेपाली सञ्चारमाध्यम तथा नेपाली जनताबाट आशा गरे अनुरूप साथ र सहयोग नपाएको गुनासोसमेत गरिन् ।
मिस युनिभर्समा सहभागिता जनाएर फर्किएयताको व्यस्तता कस्तो छ ?
थाइल्यान्डबाट फर्किएको एक साता भयो । काठमाडौं आएको केही दिनपछि नै पुख्र्यौली थलो गोरखा पुगें । त्यहाँबाट काठमाडौं आएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नमै व्यस्त छु ।
मिस युनिभर्स–२०१८ को तयारी कसरी थाल्नुभएको थियो ?
सहभागिताका दृष्टिकोणले मिस युनिभर्स हामी नेपालीहरूका लागि नौलो छ । अघिल्लो वर्ष (नगमा श्रेष्ठ) देखि मात्र नेपालले मिस युनिभर्समा सहभागिता जनाउन थालेको हो । त्यस हिसाबले मिस युनिभर्समा म दोस्रो नेपाली प्रतिनिधि हुँ । प्रतियोगिताकै नयाँ सदस्य भएकाले पनि होला मैले यो प्रतियोगिताको सहभागिताका लागि धेरै नै मेहनत गर्नुपर्यो । गत वैशाखमा मिस नेपाल युनिभर्सको उपाधि जितेको भोलिपल्टदेखि नै म मिस युनिभर्सकै तयारीमा जुटें । त्यसक्रममा धेरै भन्दा धेरै अध्ययन गर्नु अनिवार्य थियो । त्यसबाहेक विभिन्न सामाजिक कार्यको सहभागिता, पहिरनको व्यवस्थापनदेखि शारीरिक एवं मानसिक रूपमा समेत तयार हुनुपर्ने थियो । प्रतियोगिताकै लागि मैले जिम गरेर झन्डै १३ केजी वजन घटाएकी थिएँ ।
मिस युनिभर्स–२०१८ को आफ्नो सहभागितालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
मिस युनिभर्स आफैंमा एउटा विशाल प्लेटफर्म हो, जहाँ नेपालबाहेक अधिकांश देश वर्षौंदेखि सहभागी भैरहेका छन् । लामो समयदेखि सहभागिता जनाइरहेका देशका सहभागीले खासै मेहनत गर्नु पर्दैन होला, तर त्यसको विपरीत मैले धेरै नै मेहनत गर्नुपर्यो । अन्तत: उत्कृष्ट १० मा पर्न सफल भएर त्यो मेहनतले सफलता पाएको अनुभव गरेकी छु ।
मिस युनिभर्सको उत्कृष्ट १० मा आउनुलाई कुन रूपमा हेर्नुभएको छ ?
नेपालको प्रतिनिधिका रुपमा यो असाध्यै ठूलो उपलब्धि हो । किनभने मैले यस क्रममा भारतसहित केही त्यस्ता देशलाई पछि पार्न सफल भएँ, जो वर्षौंदेखि मिस युनिभर्समा सहभागिता जनाइरहेका थिए, उपाधि समेत जितिरहेकी थिए । अनुभवी देशका सुन्दरीहरूलाई पछि पार्दै उत्कृष्ट आठसम्म पुग्नु नै सबैभन्दा ठूलो उपलब्धि हो । यद्यपि, मैले केही साना गल्ती नगरेको भए अझ अगाडिसम्म पुग्न सक्थें की भन्ने लागेको छ ।
त्यस्तो के गल्ती गर्नुभएको थियो ?
मिस युनिभर्सको प्लेटफर्ममा भोटिङ हुँदैन । विभिन्न तीनवटा चरणमार्फत प्रतिस्पर्धीहरूको मूल्यांकन गरिन्छ । १ सय प्रतिशतमध्ये ६० प्रतिशत अंक निर्णायकहरूले लिने अन्तर्वार्ताबाट तय हुन्छ भने बाँकी ४० प्रतिशतमध्ये २० प्रतिशत इभिनिङ गाउनको क्याटवाक तथा २० प्रतिशत स्विमसुट क्याटवाकबाट तय हुन्छ । अन्तर्वार्तामा मैले उत्कृष्ट प्रस्तुति दिएकी थिएँ । किनभने निर्णायकहरूले मलाई आफ्ना बारेमा आफैं भन्न आग्रह गरेका थिए । त्यसक्रममा मैले धेरै भन्दा धेरै समय लगाएर आफ्नो बारेमा बताएँ, मेरो कुराले निर्णायकहरूलाई पक्कै पनि प्रभावित बनाएको हुनुपर्छ । बाँकि रह्यो ग्रान्ड फिनालेको दिनको क्याटवाक राउण्ड, उक्त दिन मलाई आफूले लगाएको पहिरनले धोका दियो । उत्कृष्ट क्याटवाक गर्नुपर्नेमा मेरो त्यही वाक बिग्रिएको थियो । म आफूले लगाएको पहिरनका डिजाइनरलाई दोष दिन्नँ, गल्ति मेरै थियो, मैले उत्कृष्ट शैलीमा वाक गर्न सकिन । मलाई लाग्छ म उत्कृष्ट पाँचमा पुग्न नसक्नुमा त्यही क्याटवाकमा भएको गल्ती नै जिम्मेवार हुनुपर्छ ।
समग्रमा मिस युनिभर्स प्रतियोगिता कस्तो हुँदो रहेछ ?
यो विश्वकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता त हो नै, सबैभन्दा गाह्रो प्रतियोगिता पनि रहेछ । मेरा लागि त मिस युनिभर्ससँग कनेक्सन बनाउन नै समय लाग्यो । मानिसहरूसँग चिनजान गर्न, के–कस्तो तयारी गर्नुपर्छ भन्ने कुरा थाहा पाउन पनि समय लाग्यो । सुरुदेखि नै निकै गाह्रो भएको थियो । यद्यपि कडा परिश्रमले मीठो फल दिन्छ भने झैं मैले गरेका सबै मेहनतले अन्त्यमा रंग देखाएको अनुभव गरें ।
प्रसंग बदलौं, अबको तपाईंको यात्रा कसरी अघि बढ्नेछ ?
कम्तीमा अर्को मिस नेपाल नहुञ्जेलसम्म त म नेपालमै छु । मिस नेपाल युनिभर्सको मुकुट नयाँ विजेताको शिरमा नपहिराएसम्म म नेपालमै बसेर काम गरिरहनेछु । मिस नेपाल युनिभर्सका रूपमा नेपालमा रहेर मैले जे–जे गर्नु पर्ने हो, ती सबै काम गर्नेछु । मलाई समाजसेवा खासगरी स्वयंसेवकका रूपमा काम गर्न असाध्यै रुचि छ, अबको बाँकी समय ती कामहरू सम्पन्न गर्नेछु । यसबाहेक मिस नेपालको आयोजक संस्था हिडन ट्ेरजरमार्फत गर्नु पर्ने सम्पूर्ण कामहरू गर्नेछु ।
अर्थात तपाईं अर्को वर्ष अमेरिका फर्कनुहुन्छ ?
कुनै न कुनै दिन अमेरिका त फर्कनैपर्छ, किनभने मैले त्यहाँ गएर आफ्नो अध्ययन पूरा गर्नु छ । मैले भरखरै पब्लिक हेल्थमा स्नातक गरेकी छु, त्योभन्दा माथिको उच्च शिक्षा लिन बाँकी नै छ । मलाई धेरै पढेर वकिल बन्नु छ, त्यसका लागि पनि मैले अमेरिका फर्कनैपर्छ । यद्यपि यसबीचमा नेपालमै राम्रो अवसर पाएँ भने मेरो अमेरिका फर्कने मिति पछाडि धकेलिन सक्छ ।
कस्ता अवसरले तपाईंलाई नेपालमै रोक्ला ?
कतिपय अवसर त मैले अहिले नै पाइसकेकी छु । व्यवस्थापनदेखि समाजसेवासम्मका अवसरहरूले मलाई पछ्याउन थालिसकेका छन् । एनआरएनले गोरखाको पुनर्निर्माणमा मेरो साथ र सहयोग खोजिरहेको छ । म जहिलेसम्म नेपालमा छु, तबसम्म कुनै न कुनै रूपमा समाजकै लागि केही न केही गरिरहेकी हुन्छु । यसबाहेक मेरो करियर बन्ने राम्रा अवसरहरू नेपालमै सिर्जना भए भने म अमेरिका नै फर्कनु पर्छ भन्ने केही छैन ।
ग्ल्यामरको क्षेत्रमा आइसक्नुभएको छ, चलचित्रबाट प्रस्ताव आयो भने काम गर्ने कि नगर्ने ?
माफ गर्नु होला, म आफूलाई ग्ल्यामरको क्षेत्रमा आएकी छु भन्न रुचाउँदिनँ । म निकै साधारण युवतीका रुपमा रहन चाहन्छु । मलाई यो ग्ल्याम वल्र्ड नै मन पर्दैन । यद्यपि चलचित्र भनेको बेग्लै करियर हो । मलाई चलचित्रमा रुचि नभएको होइन, असाध्यै रुचि छ, तर म चलचित्रमा अभिनय गरेर जीवन निर्वाह गर्न सक्छु जस्तो लाग्दैन । यद्यपि, कसैले चलचित्रका लागि प्रस्ताव राख्छ भने ठाडै नाइँ चाहिँ भन्दिनँ । किनभने चलचित्र पनि राम्रो अवसर भएको क्षेत्र हो ।
हलिउडकै बारेमा सोच्नु भएको छ कि ?
वाउ...त्यहाँका बारेमा त सपनामात्र देख्ने हो । हलिउडकै चलचित्र पाएँ भने त्यो भन्दा सुन्दर कुरा अरू केही हुने छैन ।
आफूलाई कत्तिको सुन्दर मान्नु हुन्छ ?
अहँ, म पटक्कै सुन्दर छैन । मेरो व्यक्तित्व राम्रो होला, म मनैदेखि सुन्दर हुँला, तर म तपाईंले भनेजस्ती सुन्दर भने छैन ।
मिस नेपालको सहभागिताले जीवन परिवर्तन गरेको अनुभव गर्नुभएको छ ?
अघिल्लो वर्ष हजुर आमालाई भेट्न अनि घुम्ने हिसाबले नेपाल आएका बेला यहाँ मिस नेपालको अडिसन चलिरहेको थियो । एकपटक प्रयास गरौं न भनेर त्यसमा फारम भरेकी थिएँ, भाग्यले आजको दिनसम्म ल्यायो । त्यो हिबासले हेर्ने हो भने मिस नेपालले मेरो जीवनमा परिवर्तन ल्याएकै हो । यद्यपि मिस नेपालमा नआएको भए पनि म नेपाल आएर सामाजिक काममा सक्रिय हुन्थे ।
मिस नेपालको सफलतालाई आफ्नो टर्निङ प्वाइन्ट मान्नु हुन्छ ?
टर्निङ प्वाइन्ट नै चाहिं मान्दिन तर स्टेपिङ स्टोनचाहिं पक्कै हो । यो सफलता मेरो जीवन तथा करियरमा एउटा राम्रो खुड्किलोका रूपमा रहनेछ ।
मिस युनिभर्सको कुन कुरा मिस हुन्छ ?
मिस युनिभर्समा विजेता बन्न नसकेको कुरा नै सबैभन्दा बढी मिस हुन्छ, तर केही छैन, उपाधि नै नजिते पनि नेपालको नाम उच्च पारेर फर्किएको कुरामा भने मलाई गर्व नै लाग्छ ।
मिस नेपाल वल्र्ड श्रृंखला खतिवडाको तुलनामा तपाईंको चर्चा कम भएको महसुस गरियो, किन होला ?
मैले पनि यो कुरा महसुस गरेकी छु । मिस वल्र्डको तुलनामा मिस युनिभर्सले कम चर्चा पाएकै हो । सञ्चारमाध्यमले पनि मिस युनिभर्सलाई जति स्थान दिनु पर्ने हो, त्यति दिएको पाइन । मिस वल्र्ड नेपाल (श्रृंखला खतिवडा) ले मिडिया र दर्शकबाट पाएको जस्तै साथ र समर्थन म लगायत अन्य मिस नेपालका विजेताहरूले पाउन सकेनौं ।
त्यति हुँदा पनि तपाईंले पाएको उपलब्धिप्रति कत्तिको गर्व गर्नुहुन्छ ?
यो उपलब्धिलाई त मैले मिस युनिभर्सको उपाधि जिते जस्तै महसुस गरेकी छु, किनभने दोस्रो पटककै प्रयासमा उत्कृष्ट १० भित्र पर्नु चानचुने कुरा होइन भन्ने कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नै उल्लेख गरिसकेका छन् । यो हामी सबै नेपालीले गर्व गर्नुपर्ने विषय हो । किनभने हाम्रो देश नेपाल निकै सानो छ । हामीसंग पर्याप्त स्रोत–साधन छैनन् । यति हुँदा–हुँदै पनि मैले विश्वका उत्कृष्ट भनिएका देशहरूलाई पछि पार्दै नेपाललाई अग्रस्थानसम्म पुर्याउन सफलता प्राप्त गरे । मेरो यो सफलताले आगामी वर्ष मिस युनिभर्समा जाने नेपाली चेलीलाई अझ बढी सहज बनाउनेछ । नेपाली जनता, सञ्चारमाध्यम तथा सरकारको सहयोग तथा साथ भयो भने हाम्रै चेलीले मिस युनिभर्सको उपाधि जित्ने दिन टाढा हुने छैन ।
मिस युनिभर्सको अक्सनमा तपाईं निकै प्रभावकारी देखिनुभयो नि ?
त्यसका लागि पनि मैले प्रसस्त मेहनत गरेकी थिएँ, दु:ख गरेकी थिएँ । ग्रान्ड फिनालेभन्दा केही दिनअघिको अक्सनमा मैले संकलन गरेको रकम निकै धेरै थियो । मैले लगेका सामग्रीहरू सर्वाधिक मूल्यमा बिक्री भएका थिए । यो पनि हाम्रो सफलताकै उदाहरण हो ।
पहिलो पटक अमेरिका जाँदा कति वर्षकी हुनुहुन्थ्यो ?
१५ वर्षअघि पहिलो पटक अमेरिका जाँदा म करिब ८ वर्षकी थिएँ । म बुवा–आमासँगै अमेरिका पुगेकी थिएँ ।
अमेरिकी जीवन कस्तो छ ?
रमाइलो नहुने त कुरै छैन । त्यो देशमा अवसर मात्र होइन, स्वतन्त्रता पनि छ । म लगायत अमेरिकामा बसोबास गर्ने हरेकले स्वतन्त्रता महसुस गर्न पाउँछन् । अध्ययन र करियरलाई सँगसँगै अघि बढाउन सकिन्छ । मैले पनि त्यही गरिरहेकी थिएँ ।
मिस नेपाल–२०१८ को सहभागिता अचानक थियो कि योजनाबद्ध ?
शत प्रतिशत अचानक थियो । अमेरिकाबाट भारत हुँदै काठमाडौं आउने दिनसम्म पनि मैले मिस नेपालमा भाग लिन्छु भन्ने कल्पना गरेकी थिइनँ । अघिल्लो वर्षको फेब्रुअरी महिनामा काठमाडौं आइपुग्दा मिस नेपालको अडिसनको सूचना सार्वजनिक भएको रहेछ । मैले रहरै–रहरमा आवेदन दिएँ । छनोट हुन्छु कि हुन्न भन्दै अडिसन दिएँ, दुई दिनपछि आफू छनोट भएको खबर पाउँदा खुसीको सिमा रहेन ।
त्यति बेला कुन उद्देश्यले नेपाल आउनुभएको थियो ?
मैले पब्लिक हेल्थमा स्नातक तहको अध्ययन पूरा गरेपछि एक वर्षको ‘ग्याप इयर’ लिएर विश्व भ्रमण गर्ने योजना बनाएकी थिएँ । त्यसका लागि साथीहरूसहित भारतको हैदरावाद अवतरण गरें । भारतसम्म आइसकेपछि आफ्नो देश नेपाल नआउने कुरै थिएन । अमेरिकामै बसेर नेपालमा मैले एउटा सामाजिक काम गरिरहेकाले त्यसलाई नजिकबाट नियालौं भनेर पनि म नेपाल आएकी थिएँ । म अध्ययरत कलेजका विद्यार्थीहरू मिलेर एउटा सामाजिक अभियान सञ्चालन गरिरहेका छौं । त्यसबाट संकलित रकमले पश्चिम नेपाल (विरेन्द्रनगर) का चार जना बालिकालाई केही वर्षदेखि छात्रवृत्तिमा अध्ययन गराइरहेका छौं । त्यसको नेतृत्व मैले नै गरेकी छु ।
अन्त्यमा, नेपाललाई के भन्न चाहनुहुन्छ ?
म मेरो देशलाई भित्री मनदेखि नै धन्यवाद भन्न चाहन्छु । नेपालकी छोरीका रूपमा विश्वमा आफ्नो देशलाई चिनाउने मौका प्रदान गरेकोमा पनि म आफ्नो देशलाई धन्यवाद भन्न चाहन्छु । भविष्यमा म जहाँ पुगे पनि नेपाली छोरी नै भएर चिनिन र बाँच्न चाहन्छु ।