रोजगारीका सिलसिलामा दैनिक सयौं नेपाली बिदेसिरहेका छन् । पछिल्ला केही वर्षमा नयाँ पुस्ताका जनशक्ति विद्यार्थी भिसामा अमेरिका, जापान, अस्ट्रेलिया, युरोप आदि देश पुग्ने क्रम पनि बढिरहेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या पनि दैनिकजसो बढिरहेको छ । विभिन्न खाडी मुलुकलगायत मलेसिया, कोरिया, मकाउ आदि देश नेपालीहरूको भरपर्दो गन्तव्य बनिरहेका छन् । यसमा नेपालीका लागि जापान पनि अब रोजगारीको नियमित गन्तव्य बन्ने सम्भावना छ । जापानले विभिन्न देशबाट ३ लाख ५० हजार कामदार भित्र्याउने निर्णय गरिसकेको छ ।
सन् २०१९ को अप्रिलदेखि जापानले कामदार लान थाल्नेछ । विदेशी कामदारहरूले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाउने गरी दुई प्रकारका नयाँ भिसामार्फत कामदारलाई जापान पुर्याइनेछ । जापानमा उच्च दक्षता भएका कामदारहरूले भिसाको अवधि थप्न पाउनुका साथै सेवा–सुविधाहरू पनि थपिनेछन् ।
जापानमा आधिकारिक रूपमा बसोबास गरिरहेका नेपालीहरूको संख्या ८५ हजारको हाराहारीमा छ, जसमा अधिकांश विद्यार्थी एवं कामदार छन् । व्यवसायीका रूपमा पनि त्यहाँ नेपालीहरूको ठूलो संजाल छ । हाल जापान बसेर अध्ययन एवं रोजगारी गरिरहेका युवाहरूले साप्ताहिकसँग जापानको सुखदु:ख तथा अनुभव साटेका छन् ।
जापानमा भिसा र काम
हाल २७ वटा विविध शीर्षकको भिसामा जापानमा बस्न पाइन्छ, जसमा अब दुईवटा थपेर २९ वटा भिसा प्रदान गर्ने तयारी गरिँदैछ । त्यसमा अर्धदक्ष र दक्ष कामदार छुट्टयाइएको छ, जसको भिषा अवधि पाँच वर्ष कायम गरिएको छ । दक्ष कामदारको हकमा भने भिसा नवीकरण हुनसक्छ । यो नीतिअन्तर्गत करिब १४ वटा औद्योगिक क्षेत्रमा कामको अवसर पाइनेछ, जसमा होटल, रेस्टुराँ, निर्माण, कृषि, उद्योग, नर्सिङ केयर आदि छन् । भाषा र सीप अनिवार्य गरिएको छ र भाषा परीक्षा मार्फत कामदार छनौट गरिनेछ ।
सम्झौता भएको छैन
पछिल्लो समय जापान सरकारले विदेशी श्रमिक लिने मुलुकको सूचीमा नेपाललाई पनि समावेश गरेको समाचार संचारमाध्यमहरूबाट बाहिर आएपछि त्यसलाई ठूलो अवसरका रूपमा लिइए पनि सरकारी अधिकारीहरू नै यसमा अनभिज्ञता व्यक्त गर्छन् । जापानी संसद्बाट विदेशी कामदार लिने विधेयक पास भएपछि यो समाचार बाहिर आएको हो । समाचार आएसँगै जापान काम गर्न जान धेरै दक्ष तथा अर्धदक्ष युवाहरूले तयारी समेत प्रारम्भ गरिसकेका छन् । त्यसका लागि जापानी भाषा सिकाइने इन्स्टिच्युटहरूमा लाम लाग्न थालिसकेको छ । हल्लाखल्ला यति अघि बढिसक्दा पनि श्रमिक लाने देश जापान र अपूर्ति गर्ने भनिएको नेपालबीच भने अहिलेसम्म आधिकारिक रूपमा कुनै सम्झौता भएको छैन । जापान सरकारले नेपाललाई कामदार भित्र्याउने देशको सूचीमा राखेको समाचार आए पनि मुख्य कामदार आयात गर्ने देशमा नभै वैकल्पिक देशका रूपमा राखेको खुलेको छ । तथापि जापान सरकारले कुन मोडलमा श्रमिक लैजान सकिन्छ भनेर नेपाल सरकारलाई खाका पठाएको छ । तर नेपालमा छलफल भएको छैन ।
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जापान गएका बेला नेपाली कामदार लाने प्रक्रियाका लागि त्यहाँका परराष्ट्र मन्त्रीसमक्ष प्रस्ताव राखेका थिए, तर आधिकारिक रूपमा त्यहाँ कुनै सम्झौता नभएको श्रमका अधिकारीहरू बताउँछन् । मन्त्री ज्ञवालीले जापानका परराष्ट्र मन्त्रीलाई नेपाल आउन निम्तो गरेका छन् भने जापानले त्यसलाई स्वीकारसमेत गरेको छ । जापानी परराष्ट्र मन्त्री नेपाल आएर कामदार लाने प्रस्ताव राखेपछि मात्र यो प्रक्रिया अघि बढ्ने श्रम तथा रोजगार मन्त्रालयका प्रवत्ता डा. नारयण रेग्मी बताउँछन् । रेग्मीका अनुसार आधिकारीक रूपमा दुइ देशबीच श्रमिक आदान–प्रदानको कुनै सम्झौता भएको छैन । ‘अहिलेसम्म जापान सरकारका तर्फबाट त्यस्तो कुनै प्रस्ताव आएको पनि छैन ।’ उनले साप्ताहिकसँग भने ‘प्रस्ताव नै नआई हामीले के तयारी गर्ने र ?’
जापानले आगामी पाँच वर्षभित्र झन्डै ३ लाख ५० हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ । जापान सरकारले जुन देशबाट कामदार लाने हो उक्त देशसँग एउटा प्राविधिक टोलीले द्विपक्षीय सम्झौता गर्ने बताएको छ । जापानले पास गरेको विदेशी कामदार भित्र्याउने कानुनले आवासीय सुविधासहितका कामदार लाने परिकल्पना गरेको छ, जसमा दुई किसिमको प्रवेशाज्ञाको व्यवस्था गरिएको बताइन्छ । पहिलो व्यवस्थाअनुसार जापानी भाषाको ज्ञान भएको र निश्चित स्तरको क्षमता भएका कामदारले पाँच वर्षका लागि अनुमति पाउनेछन् भने दोस्रो व्यवस्थामा उच्चस्तरको दक्षता भएका कामदारहरूले प्रवेश पाउनेछन् । उनीहरूले आवासीय आवेदन समेत दिन सक्छन् ।
समान सुविधा
राजन गौतम
म धादिङबाट जापान आएको पाँच वर्ष भयो । यहाँ एक टेलिफोन सेवा प्रदायक कम्पनीमा कार्यरत छु । दैनिक आठ घण्टा काम गर्नुपर्छ । बढी समय गर्नुपर्ने ओभरटाइमको छुट्टै पैसा पाइन्छ । यहाँ भिसाअनुसार तलब सुविधा तोकिएको हुन्छ । यहाँ सामान्य नेपाली वा जापानी सबैको तलब समान हुन्छ । यहाँ आएर जापानी कम्पनीमा जागिर खाने व्यक्तिले न्यूनतम मासिक २ लाख कमाउँछन् ।
कामको अनुभव, सीप तथा शैक्षिक एवं प्राविधिक योग्यता थपिदै जाँदा मासिक तलब ४ लाखसम्म हुन्छ । सम्झौताअनुसार तलब नपाइने समस्या यहाँ पनि छ । विद्यार्थीको हकमा हप्तामा २८ घण्टा काम गर्न पाइन्छ तर त्यसबाट आएको तलबले खान बस्न नै हम्मे–हम्मे पर्छ । २८ घण्टा भन्दा बढी काम गर्दा भिसा एक्स्टेन्सन नहुने, राम्रो काम नपाइने लगायतका समस्या छन् । जापान आउनु अघि जापानी कानुन, नियम, भाषा र सीप जान्नु जरुरी छ ।
कठोर परिश्रम
अच्युतजंग थापा
म सन् २०००८ मा नुवाकोटबाट जापान आएको हुँ । रेस्टुराँको कामदार भएकाले म यहाँ दैनिक १२ देखि १४ घण्टा खट्छु, तर नेपाली कामदारहरूलाई यहाँको भाषा र संस्कृतिले ठूलो समस्यामा पार्छ । कमाउन त यहाँ आएका नेपालीले न्यूनतम १ लाखदेखि २ लाख २० हजारसम्म कमाउँछन् तर परिश्रम धेरै गर्नुपर्छ । आफू जुन पेसामा आबद्ध हुने हो त्यो कुरा नेपालमै निर्णय गरेर आउँदा राम्रो हुन्छ, अन्यथा यहाँ आएर अलमलमा परिन्छ र धेरै दु:ख पाइन्छ ।
भाषामा समस्या
गणेश विष्ट
नेपाली संस्कारमा हुर्किएका हामीलाई जापानमा काम गर्न गाह्रो छ । खोटाङबाट जापान आएदेखि म कडा परिश्रममा दिन बिताइरहेको छु । म दैनिक १२ घण्टा काममा खटिन्छु । हुन त काममा हाकिमदेखि सामान्य कामदार पनि उत्तिकै खटिन्छन् । यद्यपि यहाँको भाषा, संस्कृति तथा दैनिक जीवनशैलीसँग एडजस्ट हुन हामी नेपालीलाई धेरै समय लाग्ने रहेछ । सही परामर्शको अभाव तथा भाषामा कमजोर हुँदा नेपालीहरूले आत्महत्यासमेत गरिरहेका छन् । जापानीहरू धेरै खट्ने मजदुरलाई राम्रो मान्छन्, तर नेपालीप्रति त्यति राम्रो व्यवहार गरिरहेको मैले पाएको छैन ।
बलियो आत्मबल
चासिला वाइबा तामाङ
म काभ्रेबाट चार वर्षअघि जापान आएको हुँ । म एउटा जापानी कम्पनीमा काम गरेर मासिक २ लाखसम्म कमाउँछु । जापान सरकारले दिने विभिन्न प्रकारका भिसा अनुसार पनि कमाइ फरक पर्छ । जापान आउनुअघि आत्मबल बलियो बनाएर हातमा सीप लिएर मात्र आउनुपर्छ । जस्तोसुकै काम गर्न र खटिन तयार हुन्छु भन्ने मानसिकता बनाउनुपर्छ । यहाँ कानुन कडा छ, परिवार ल्याउन पनि समस्या हुन्छ ।
महँगो छ
सिर्जना केसी
म गुल्मीबाट जापान आएको दुई वर्ष नाघ्यो । अध्ययनपछि म दुई ठाउँमा काम गरेर सरदर २ लाख रुपैयाँ कमाउँछु । सुरुमा भाषा र नियम नजान्दा धेरै दु:ख पाइयो । खाना र संस्कृति नबुझ्दा पनि दु:ख पाइन्छ तर विस्तारै बानी पर्छ । सकेसम्म एनफोर लेभलसम्मको भाषा सिक्नु राम्रो हुन्छ ।
सुरक्षित जागिर
नवीना दाहाल
म काभ्रेबाट जापान आएको दुई वर्षभन्दा बढी भयो । म यहाँ पढ्दै काम गरिरहेकी छु । जापान सुरक्षित र योग्यताअनुसार जागिर प्राप्त गर्न सकिने देश हो । भाषामा दक्षता र हातमा सीप भएपछि यहाँ राम्रो जागिर प्राप्त गर्न समस्या छैन, तर परिश्रमचाहिं धेरै नै गर्नुपर्छ । जापानको नियम र संस्कृतिका बारेमा मज्जाले अध्ययन गर्नुपर्ने रहेछ ।
सपना नदेख्नु राम्रो
सुमित गिरी
म सन् २०१४ मा बर्दियाबाट जापान आएको हुँ । बिनायोजना यहाँ आउँदा धेरै दु:ख पाइने रहेछ । यहाँको नियम र भाषाका बारेमा राम्रो ज्ञान लिनुपर्छ । भिसासम्बन्धी नियम र भाषा नजान्दा पनि धेरै दु:ख पाइने रहेछ । यहाँ धेरै पैसा कमाउँछु भन्ने सपना नदेख्नु नै उपयुक्त हुन्छ । जापानमा न्यूनतम कमाइ हुने भनेको १ देखि २ लाख रुपैयाँसम्म हो, तर खर्च धेरै हुने भएकाले बचत गर्न समस्या हुन्छ । कतिपय स्थानमा नेपालीहरूकै व्यवहारले पनि दु:ख पाइन्छ ।