साप्ताहिक संवाददाता
एउटा मनोरञ्जक–मसाला चलचित्रमा के–के कुरा हुनुपर्छ ? नृत्य, एक्सन, कमेडी, रोमान्स अनि एउटा बलवान तथा हेन्डसम नायक, जसले मौका पाएको खण्डमा २०–२५ जनालाई धुलो चटाउन सकोस् । अभिनेता रणवीर सिंहको सिम्बा पनि रोहित शेट्टी मार्काको मसाला चलचित्र हो, जसमा यी सबै कुरा उपलब्ध छन् । यो चलचित्र यदि तपाईं मनोरञ्जनका दृष्टिले हेर्नुहुन्छ भने इन्जोय गर्नुहुनेछ, यदि दिमाग लगाउने प्रयास गर्नुभयो भने तपाईंलाई नमज्जा लाग्न सक्छ ।
चलचित्रको कथामा नयाँपन छैन । पुरानै शैलीअनुसार कथा कसरी एउटा भ्रष्ट प्रहरी अधिकृत आफूसंग भएको दु:खद घटनापछि इमान्दार प्रहरी अधिकृतमा रूपान्तर भएर आफ्नो पुरानो पाप धुन चाहन्छ भन्ने कुरामै केन्द्रित छ । अनाथ सिम्बा अर्थात संग्राम भालेरावले बाल्यकालदेखि नै पैसा कमाउन शक्तिको आवश्यकता पर्छ भन्ने कुरा बुझेका छन् ।
त्यसैले उनी आफ्नो उद्देश्य पूरा गर्न प्रहरी अधिकृत बन्ने मार्गमा अघि बढ्छन् । रात्रीकालीन विद्यालयमा अध्ययन गरेर उनी एउटा त्यस्तो प्रहरी अधिकृत बन्न पुग्छन्, जो बेइमानी पनि इमान्दारीपूर्वक गर्छन् । कर्तव्यपालन गर्ने क्रममा उनी एजेन्डालाई पछ्याउँछन् ताकि जायज–नाजायज तरिकाबाट पैसा आर्जन गर्न सकियोस् । त्यसबीच उनको सरुवा गोवामा हुन्छ, जहाँ उनले धेरै नै धन आर्जन गर्ने अभिलाषा पालेका हुन्छन् । यद्यपि भइदिन्छ ठिक विपरित । त्यहाँ पुगेर उनको जीवनमा परिवर्तन आउनेछ भन्ने कुराको हेक्का उनलाई हुँदैन ।
रोहित शेट्टीको यो चलचित्रमा उनको अघिल्लो चलचित्र सिंघमको गन्ध आउँछ । रमाइलो कुरा के छ भने, सिम्बा तेलगू चलचित्र टेम्परको आधिकारिक हिन्दी रिमेक हो । रोहितले यो चलचित्रलाई मसालेदार बनाउन सक्दो मेहनत गरेका छन् । चलचित्रको पहिलो हाफमा कमेडीको डोज अत्यधिक छ । रणवीर सिंहको इन्ट्रीलाई भव्य बनाइएको छ ।
यद्यपि दोस्रो हाफसम्म पुग्दा चलचित्र आफ्नो ट्रयाकबाट चिप्लिएर बलात्कारको ट्रयाक समात्न पुग्छ । अजय देवगणको आगमनसँगै चलचित्र पुरानै ट्रयाकमा फर्कन्छ । रौं ठाडा पार्ने एक्सन दृश्य रोहित शेट्टीका चलचित्रको आकर्षक पक्ष हो, जुन यो चलचित्रमा पनि समावेश छ । फरहाद समजीको संवादले चलचित्रलाई चोटिलोपन प्रदान गरिरहन्छ । चलचित्रको एक्सन दृश्य तथा क्लाइमेक्स पनि आकर्षक छ, जहाँ अक्षय कुमारको सरप्राइज इन्ट्रिपछि सिम्बाको सिक्वेल बन्ने सम्भावना प्रबल देखिन्छ ।
अभिनेता रणवीर सिंह चलचित्रका मुटु हुन् भन्दा फरक पर्दैन । उनले सिम्बाको चरित्रलाई रमाइलो शैलीमा निर्वाह गरेका छन् । उनको हाउभाउ, लुक, संवाद बोल्ने शैली तथा एक्सन दर्शकलाई सिट्ठी बजाउन बाध्य तुल्याउने शैलीको छ । सारा अली खान रणवीरका साथ सुहाएकी छिन् । यद्यपि उनलाई पर्दामा धेरै समय देखिन पाइँदैन ।
धुर्वा रानाडेको भूमिकालाई सोनू सूदले आकर्षक शैलीमा निर्वाह गरेका छन् । उनी जस्ता शक्तिशाली खलनायक रणवीर जस्ता नायकलाई टक्कर दिन सफल देखिएका छन् । इमान्दार प्रहरी अधिकृतको भूमिकामा आशुतोष राणाले स्मरणीय काम गरेका छन् । यसका साथै सिद्धार्थ जाधवले दर्शकलाई राम्रै मनोरञ्जन गराएका छन् । चलचित्रका गीत आँख मारे, तेरे बिन तथा आला रे आला दर्शकले मन पराएका छन् । समग्रमा रोहित शेट्टीको स्टाइलका चलचित्र मन पराउने दर्शकहरूले सिम्बाबाट निराश हुनु पर्दैन ।
निर्देशक : रोहित शेट्टी
कलाकार : रणवीर सिंह, अजय देवगण, सारा अली खान
अवधि : २ घण्टा
विधा : एक्सन, कमेडी, ड्रामा
(एजेन्सीको सहयोगमा)