साप्ताहिक संवाददाता
कलाकार मनोज गजुरेल मंगलबार आफू अभिनित चलचित्र ‘सयकडा दश’को बटमलाइन सुनाउँदै थिए, –‘भ्रष्टाचार रोक्न प्रेम जरुरी छ ।’ उनले राजनीतिभन्दा प्रेम भ्रष्टाचारविरुद्ध प्रभावकारी हुने पनि बताए ।
चर्चामा रहेको वाइडबडी भ्रष्टाचार प्रकरणको समाधान दीर्घकालीनरुपमा राजनीतिभन्दा प्रेमभित्र खोजिनुपर्ने उनको तर्क थियो । उनले चलचित्रलाई कला र मनोरञ्जनभन्दा समाजको रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने खााचो औंल्याए ।
‘सयकडा दश’ले मंगलबार राजधानीमा अनलाइन मिडियासँग अन्तरसंवाद कार्यक्रम आयोजना गरेको थियो । निर्माता एवं अभिनेता राजाराम पौडेलले आफ्ना लागि पैसाभन्दा धेरै कलाले अर्थ राख्ने बताए । ‘दुई सय जति चलचित्र गरेँ हुँला, केही पेन्डिङमा होलान् । मेरा लागि सयकडा दश सर्वोत्कृष्ट हो’ उनले भने ।
अभिनेत्री करुणा श्रेष्ठ र अभिनेता अमृत ढुंगानाले चरित्र चित्रणबारे चर्चा गरे । ‘गरेजति चलचित्रमा मैले पात्र र शैलीमा नयाँपन पस्कने प्रयास गरेको हुन्छु’ ढुंगानाले भने । डेब्यु गर्ल श्रेष्ठको भनाइमा ‘सयकडा दश’ फिल्म–मेकिङ सिक्ने पाठशाला पनि हो ।
निर्देशक रामशरण पाठक रिलिज अगाडि प्राप्त प्रिभ्यूले पुलकित सुनिए । भन्छन, ‘गीत र ट्रेलरले दिलाएको सुखद फिडब्याकले खुशी अवश्य छु ।’ उनका अनुसार चलचित्रले माघ पहिलो सातादेखि देश दौडाहा थालनी गर्दैछ । माघ १८ मा चलचित्र रिलिज हुँदैछ ।