साप्ताहिक संवाददाता
सांगीतिक क्षेत्रका दुई लोकप्रिय गायक हिमाल सागर तथा आशिष सचिन यतिबेला अष्ट्रेलियामा छन् । नयाँ वर्ष २०१९ को अवसरमा आयोजना भएको सांगीतिक कार्यक्रम न्यू इयर धमाकामा आफ्नो प्रस्तुती दिन उनीहरु सिड्नी पुगेका हुन् । केही दिनअघि सम्पन्न उक्त सांगीतिक कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको गायक हिमाल सागरले जनाएका छन् ।
सिड्नीको स्थानिय इन्द्रेणी फङ्सन सेन्टरमा सम्पन्न उक्त सांगीतिक कार्यक्रममा गायक हिमाल सागरले आफ्नो पछिल्लो लोकप्रिय गीत ‘बाजा...’ सहित झण्डै एक दर्जन गीत प्रस्तुत गरेका थिए । त्यसक्रममा उनले मेरो माया, न मैले लेखें, तीन ढिक्के फुली जस्ता गीतहरु प्रस्तुत गरेर दर्शकको मन जितेका थिए ।
पिरिम नलाउने...गीतबाट लोकप्रियताको शिखरमा रहेका गायक आशिष सचिन उक्त कार्यक्रमको आकर्षण बने । आशिषले उक्त गीतमा वान्स मोर पाएका थिए । कार्यक्रममा उनले मेरो हरपल...शीर्षकको गीत पनि प्रस्तुत गरेका थिए । गायिका टिका प्रसाईंले पनि त्यस अवसरमा आफ्नो प्रस्तुती दिएकी थिइन् ।
सिड्नीपछि मेलबर्नमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाएर उनीहरु अर्को साता काठमाडौं फर्किने कार्यक्रम छ ।