साप्ताहिक संवाददाता
केहि हप्ताअघि सार्वजनिक गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ मार्फत चर्चामा रहेको चलचित्र ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सुशीललाई दुई डेब्यु गर्ल सुबेक्षा खड्का र सुपुस्पासँगको माया र मित्रतासँगै मित्रताको भावमा देख्न सकिन्छ ।
सार्वजनिक पोस्टरमा चलचित्रका लिड कलाकारहरु सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुस्पा भट्टलाई फिचर्ड गरिएको छ । चलचित्रको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माण पक्षले बताएका छन् । यसै चलचित्रको लागि सुशीलले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका थिए ।
झन्डै ६ महिनाको मेहनतपछि सुशील रणवीर बन्न योग्य भएको निर्माण पक्षले बताएका छन् । ‘मेहनत कति गरे भन्ने तथ्यलाई त आउने प्रचार सामग्रीले प्रस्ट्याउने छ, सुशील भन्छन ‘फिल्मको पोस्टरले भावलाई प्रस्ट्याउछ ।’
सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई यसै चलचित्र मार्फत डेब्यु गर्दैछिन । चलचित्रमा मलाइ साथी तथा प्रेमिकाको रुपमा देख्नु हुनेछ’ सुबेक्षा भन्छिन्, ‘यसको कथावस्तुले हाम्रो पुस्तालाई प्रस्तुत गर्नेछ ।’ उनले प्रस्ताव आएको धेरै चलचित्र रिजेक्ट गरेर रणवीर मार्फत डेब्यु गर्न लागेकी हुन ।
माघ १८ मा प्रदर्शन हुने चलचित्र रणविरको कथावस्तु के कस्तो छ भन्ने कुरा देख्न त प्रदर्शन मितिनै कुर्नुपर्छ । तर चलचित्रमा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको निर्माता दिपेन्द्र रेग्मीले बताए । महङ्गो बजेटमा तयार भएको चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।
‘फिल्मको सार्वजनिक पोस्टरबाट पनि यसप्रति अनुमान लगाउन सक्नुहुन्छ’ निर्माता मध्येका एक दिपेन्द्र भन्छन ‘रणवीर मनोरंजनको फुल प्याकेज हो, यो चलचित्रमा आवश्यक सबै खुराक समावेस गरिएको छ ।’
निर्मात्री गोमा पनि चलचित्रलाई विना सम्झौता तयार गरेको बताउछिन् । ‘हामीले फिल्ममा कहिा कतै सम्झौता गरेका छैनौ, एउटा राम्रो फिल्म दर्शकलाई दिने हाम्रो इच्छा हो’ गोमाले भनिन् । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ । चलचित्रमा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । एकगीतमा बाबु श्रेष्ठको छायांकन रहेको फिल्मको ट्रेलर साहिल खानले तयार गरेका हुन् ।