साप्ताहिक संवाददाता
निर्देशक दिवाकर भट्टराई मंगलबार बिहान कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा झुल्किए । महादेवको दर्शनपछि भट्टराईले निधारमा चन्दन लगाएका थिए । मन्दिर नजिकै बसोबास भएकाले उनी नियमितजसो महादेवस्थान मन्दिर पुग्दा रहेछन् । साप्ताहिककर्मीसँगको जम्काभेटमा भट्टराईले प्रदर्शनको तयारीमा रहेको आफ्नै निर्देशनको चलचित्र ‘क्याप्टेन’ का बारेमा कुराकानी गर्न भ्याए ।
भुवन केसीको उक्त चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा छन् । निर्देशक भट्टराईका अनुसार उक्त चलचित्र यतिबेला प्राविधिक कक्षमा छ । ‘अब भीएफएक्सको काम बाँकी छ, भट्टराई भन्दै थिए—‘भीएफएक्समा चाहिँ निकै गारो भैरहेको छ ।’
फुटबल खेललाई मुख्य विषयवस्तु बनाइएको उक्त चलचित्रको फुटबल खेलिरहेको दृश्यलाई भीएफएक्स गर्न लागिएको रहेछ । ‘देशकै योग्य प्राविधिकबाट भीएफएक्स गराउने तयारी हुँदैछ, निर्देशक भट्टराईले चलचित्र क्याप्टेनमार्फत दर्शकले मनोरञ्जनका साथ–साथै धेरै कुराको जानकारी पाउने दाबी समेत गरे ।