साप्ताहिक संवाददाता
आज शुक्रबार नेपाली चलचित्र हलहरूमा दुईवटा चलचित्र प्रदर्शन हुँदैछन्, चौका दाउ र भिलेन । यी दुवै चलचित्रले आ–आफ्नै किसिमले प्रचारप्रसार गरिरहेका छन् । चौका दाउ देशव्यापी रूपमा अन्तक्रिया गर्दै हिँडेको छ भने भिलेनको प्रचार त्यति देखिंदैन ।
चौका दाउ
काठमाडौंपछि देशका प्रमुख सहर नारायणगढ, हेटौंडा, बुटवल, पोखरा आदि पुगेको चौका दाउ निर्माण युनिट काठमाडौं फर्कंदा सकारात्मक प्रतिक्रिया बोकेर फर्किएको बताउँछ । चलचित्रका प्रमुख पात्र सन्तोष पन्तले यो चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । उमेर अन्तर ठूलो भए पनि यो चलचित्रमा उनी वर्षा राउतका प्रेमी भएका छन् । न जोडी मिल्छ केही, कसरी प्रेमी भन्ने प्रश्नमा पन्तको जवाफ छ– ‘यही कुरा त हो चलचित्रको रमाइलो पक्ष ।’ उनि आफ्नी छोरी उमेरकी युवती वर्षाको प्रेमी बनेर चलचित्रमा देखिनु रहर होइन, कथाको माग भएको बताउँछन् । आफू लामो समयको अन्तरालपछि चलचित्रमा फर्किएको जानकारी गराउँदै पन्तले ‘किस्मत–२’ पछि फेरि दुई वर्ष बिश्राम गरेर चौका दाउमा काम गरेको बताए ।
हास्य विधाको चौका दाउका निर्देशक पुर्णेन्दु झा यो चलचित्रले दर्शकलाई दुई घन्टासम्म बाँधेर राख्न सक्ने दाबी गर्छन् । यो पूर्ण मनोरञ्जन प्रधान सिनेमा हो, यसले केही न केही सन्देश पनि दिनेछ, उनले भने, ‘अलिकति बढी मेहनत गरेका छौं, विगतका प्रोजेक्टको तुलनामा राम्रो बनेको छ ।’ निर्देशक झाले चौका दाउमा चार चौकाका रूपमा सन्तोष पन्त, रवीन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह र पाँचौ चौकाका रूपमा अजश्र ढुंगाना रहेको बताए । यो पूर्णतया: सामाजिक कथामा आधारित चलचित्र भएको पनि उनले जानकारी दिए । चलचित्रको कथाले दर्शकलाई प्रभाव पार्ने र यसले पूरा मनोरञ्जन समेत दिने उनले जिकिर गरे ।
चलचित्रकी अभिनेत्री वर्षा राउतले यो चलचित्र आफूले अभिनय गरेका विगतका चलचित्रभन्दा फरक रहेको बताइन् । मैले मुख्य नायिकाको भूमिका निर्वाह गरेको यो दोस्रो महत्वपूर्ण चलचित्र हो र यसमा कथा नै मेरै वरिपरि घुमेको छ, उनले चलचित्रको कथा खुलाउन खोजिन्, ‘ट्ेरलरमा पनि केही त आएको छ, तर ट्रेलरमा नआएका धेरैकुरा चलचित्रमा छन् । ती दृश्यले दर्शकलाई सक्दो रमाइलो प्रदान गर्ने कुरामा ढुक्क छु ।’ चलचित्रमा आफू केटाहरूलाई फसाउने चलाख केटी भए पनि अन्त्यमा पूर्ण सकारात्मक रूपमा प्रस्तुत हुने पनि राउतले बताइन् । चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा गरिएको हो र यसलाई सौर्यजित बास्कोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् । झन्डै १ करोड रुपैयाँ लगानीको यो चलचित्रमा संगीतकार शम्भुजित बासकोटाले चलचित्रको परिकल्पना, कथा र संगीत दिएका छन् ।
भिलेन
लामो समयपछि अभिनेता निखिल उप्रेती चलचित्र भिलेन मार्फत नेपाली चलचित्रमा फर्कंदैछन् । कुनै बेलाका यि हिट अभिनेताको पछिल्लो चलचित्र भिलेनको ट्रेलर तथा पोस्टर अनुसार यो चलचित्र एक्सन र कमेडी जनरामा निर्माण भएको कुरा बुझ्न खासै गाह्रो पर्दैन । यो चलचित्रमा चिरपरिचित कलाकार छन्, निखिल उप्रेती र शिल्पा पोखरेल । निखिल आफ्नो चलचित्र पिंजडा ब्याक अगेनलगत्तै यो चलचित्रको सुटिङमा व्यस्त थिए । भिलेनमा चलचित्रका ट्ेरलर, पोस्टर आदिमा कहीँ पनि नदेखिएकी एक परिचित अभिनेत्री पनि छिन्– निशा अधिकारी । निखिलको जोडी शिल्पा पोखरेलसँग नभै निशा अधिकारीसँग बाँधिएको छ ।
निशा र निखिलले चलचित्रप्रति कुनै चासो नदेखाए पनि अभिनेत्री शिल्पाका साथै निर्देशक तथा निर्माताहरूले भने चलचित्रको प्रमोशनमा राम्रै समय दिइरहेका छन् । चलचित्रमा शिल्पा चौधरी परिवारकी छोरीका भूमिकामा देखिँदैछिन् । एक्सन भूमिकामा निकै रुचाइएकी शिल्पाले चलचित्र भिलेनबाट दर्शकले आफूलाई फरक हिसाबले चिन्नेमा आशावादी रहेको बताइन् । चलचित्रका निर्देशक देवेन्द्र पाण्डे कलाकारहरूको अभिनय तथा चलचित्रमा समावेश गरिएको विषयवस्तुले दर्शकलाई हलसम्म तान्ने बताउँछन् । यो चलचित्र रौतहटको चन्द्रनिगाहपुर र त्यसआसपास छायांकन गरिएको हो ।
४० दिन लगाएर छायांकन गरिएको चलचित्र भिलेन निर्माण सम्पन्न भएको झन्डै डेढ वर्षपछि दर्शकमाझ आउन लागेको हो । निर्देशक पाण्डे भन्छन्– ‘विभिन्न कारणले समयमै हामीले यो चलचित्र प्रदर्शनमा ल्याउन सकेनौं तर यस बीचको समय सम्पादन र अन्य विभिन्न काममा खर्चिएका छौं, यसले गर्दा पनि चलचित्र राम्रो बनेको छ ।’ यो चलचित्र मौनता श्रेष्ठले लेखेका हुन । मदन कास्यप घिमिरे, सौरभ लामा आदिले खिचेको चलचित्र भिलेनको सम्पादन मिलन श्रेष्ठ तथा शाहिल खानले गरेका हुन् । यो चलचित्रको वितरण सुनिल मानन्धरले गर्दैछन् । कपिल खत्री, वालाबहादुर श्रेष्ठ, दीपक श्रेष्ठ, सुरज खड्का आदिको लगानीमा यो चलचित्रका लागि ८० लाख रुपैयाँ खर्च भएको छ ।