साप्ताहिक संवाददाता
‘चंगा चेट’ निर्देशक दीपेन्द्र के खनाल, निर्मात्री शर्मिला पाण्डे तथा निर्माता माधव वाग्लेको सहकार्यमा निर्माण भएको थियो । व्यवसायिक रूपमा यो चलचित्र औसत रह्यो । लगानी उठाउन सफल भएको दाबी गरिए पनि यो चलचित्रको प्रदर्शन लगत्तै निर्माता खनाल तथा निर्मात्री पाण्डे एकातिर, निर्माता वाग्ले अर्कातिर भए ।
यो कुराको छनक गत साता काठमाडौंमा आयोजित चलचित्र ‘घर’ को घोषणा समारोहमा पनि अनुभव गरियो । घरको निर्माणमा शर्मिला र खनाल एक भएका छन् भने वाग्ले बाहिरिएका छन् । निर्देशनको जिम्मा अर्पण थापालाई दिइएको छ । यद्यपि घोषणा समारोहमा वाग्ले उपस्थित मात्र भएनन्, ड्यासमै आसिन भए । एक सञ्चारकर्मीले वाग्लेसँग खनाल र पाण्डेसँगको उनको सम्बन्धका बारेमा जिज्ञासा राखिदिए ।
वाग्लेले ‘त्यस्तो केही होइन’ त भने तर सँग–सँगै खनाल र पाण्डेको सहकार्यका बारेमा चार दिनअघि मात्र जानकारी पाएको समेत बताइदिए । कुनै बेला नङ–मासुको सम्बन्धमा रहेका निर्देशक खनाल तथा निर्माता वाग्लेबीच लामो समयदेखि सम्वाद नभएको अनुमान गर्न गाह्रो भएन । यही प्रसंगमा निर्देशक खनालको तर्क बेग्लै आयो । उनी सञ्चारकर्मीलाई नै ‘अँध्यारोमा तीर त हान्नु भयो, तर गलत ठाउँमा लाग्यो’ भन्दै पन्छिए ।