साप्ताहिक संवाददाता
माघ १८ गतेदेखि प्रदर्शन हुने चलचित्र गोपीका कलाकारहरु बिहिबार बिहान काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत भए । चलचित्रका निर्देशक दीपेन्द्र लामा, लेखक सामिप्यराज तिमिल्सिनासहित चलचित्रका मुख्य कलाकारहरु पत्रकारमाझ प्रस्तुत भएर चलचित्रका बारेमा जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा तथा अंकित खड्का प्रस्तुत भए ।
पत्रकार सम्मेलनमा निर्देशक दीपेन्द्र लामाले चलचित्रको विषयवस्तुका बारेमा प्रकाश पारे भने लेखक तिमिल्सिनाले चलचित्र कृषि तथा गाईपालनमा मात्र सिमित नभइ व्यवसायिक चलचित्रमा हुनु पर्ने सम्पूर्ण मर–मसलासहितको भएको बताए ।
अभिनेता विपिन कार्कीले गाई पालक कृषकको भूमिकामा आफूले सहजता महसुस गरेको सुनाउदै बाल्यकालमा आमा–बुवाले घरमा पालेका गाईं भैंसीलाई स्यहारेको देखेकाले पनि अभिनय गर्न गाह्रो नभएको प्रस्ट्याए । अभिनेत्रीद्वय वर्षा राउत तथा सुरक्षा पन्तले चलचित्रमा गोपीलाई माया गर्ने मायालुको भूमिका निर्वाह गरेको बताए ।