साप्ताहिक संवाददाता
पहिले–पहिले नेपालमा कालिज पाल्न पाइने तर बेच्न नमिल्ने नियम थियो । ०७३ देखि भने उक्त नियम फेरियो । कालिज पाल्न र बेच्न दुवै फुकुवा भयो । जनमानसमा एउटा मान्यता छ, कालिज उच्च वर्गका मानिसहरूले पाल्ने र खाने चरा हो । यद्यपि अहिले समय फेरिएको छ । रहर हुनेहरूले कालिज पाल्न सक्छन् र यसबाट बनेका बिभिन्न परिकारको स्वाद लिन सक्छन् ।
एक महिनाअघि बागबजारमा खुलेको कालिज रेस्टुराँले सर्वसाधारणको ध्यान तान्दै गएको छ । श्रेष्ठ टेलरिङ सेन्टर अघि खुलेको यो रेस्टुराँमा कालिजबाट तयार पारिएका थरीथरीका परिकार उपलब्ध छन् । कालिजको मासुमा बोसो हुँदैन । रातो मासु खान नहुने, युरिक एसिड भएका तथा सुत्केरीलाई कालिजको मासु फाइदाजनक मानिन्छ । एक वर्षदेखि एभरेस्ट वाइल्ड लाइफ एग्रोले दक्षिणकालीमा कालिज फार्म सञ्चालन गरिरहेको छ जहाँ ३ हजार ५ सय कालिज छन् ।
एउटा कालिजको मूल्य ३ हजार ५ सय रुपैयाँ पर्छ । ६ जनाको समूहले सञ्चालनमा ल्याएको उक्त फार्मले नै यो रेस्टुराँ सञ्चालनमा ल्याएको हो । एग्रोका अध्यक्ष सुशिल भट्टराईका अनुसार रेस्टुराँमा एकपटकमा ७० जना बस्न सक्ने क्षमता छ । ०६८ मा इटली घुम्न जाँदा नरेश शाहीले त्यहाँ कालिज फार्म हेर्ने अवसर पाए । नेपालमा पनि त्यस्तै फार्म सुरु गर्ने मनसाय बोकेर उनले त्यसको अध्ययन गरे । कानुनी प्रक्रिया पूरा गर्न नै झन्डै आठ–नौ महिना लाग्यो । ‘इटलीबाट १० हजार २ सय ७५ वटा अण्डा ल्यायौं ।’ नरेशले भने– ‘अण्डालाई ह्याचरीमा लगेर चल्ला उत्पादन गरियो । तिनै चल्ला हुर्काउँदै हामी व्यवसाय सञ्चालन गरिरहेका छौं ।’
कालिजको स्पेसल परिकार
कालिज खाना : ५ सय ५० रुपैयाँ
कालिज सेकुवा : ५ सय रुपैयाँ
कालिज ढिंडो : ४ सय ७५ रुपैयाँ
कालिज सुप : ३ सय ७५ रुपैयाँ
कालिज साधेको : ४ सय ९५ रुपैयाँ
कालिज फ्राई : ५ सय ५० रुपैयाँ
कालिज तास : ६ सय ५० रुपैयाँ