साप्ताहिक संवाददाता
नेपाली चलचित्र बजारमा भन्दै आएको, देख्दै आएको र सुन्दै आएको एउटा कुरा हो— मौलिकताको खडेरी । यही प्रसंगमा यसै साता प्रदर्शित चलचित्र जय श्री दामको कुरा गरौं, यो चलचित्रको कथा गहन छ जसमा आश्रम र विभिन्न कुटीमा बस्ने बाबाहरूको प्रतिनिधि चर्तीकला तथा बेराजगार र खाली गोजीमा भौंतारिने युवाहरू पैसा कमाउन कतिसम्म गर्न सक्छन् ? भन्ने कुरा देखाउन खोजिएको छ । यद्यपि यो चलचित्र अपेक्षा गरेजस्तो चलेन । चलचित्रका निर्देशक हुन्— विप्लोप उप्रेती । उनी अमेरिकामा चलचित्रसम्बन्धी अध्ययन गरेर आएका हुन् ।
यो चलचित्र विगतमा प्रदर्शन हुँदै आएका चलचित्रको धङधङीबाट त मुक्त छ तर चलचित्रमा आउनुपर्ने ट्विस्ट, संवाद अनि मुख्य कुरा यसको प्रस्तुतीकरण फितलो छैन । निर्देशक विप्लोप उप्रेतीका अनुसार जय श्री दामले केही दिन त हल पायो तर यसले भनेजस्तो आम्दानी गर्न सकेन । चलचित्रका लेखक यसका पात्र, कथा र तिनका प्रवृत्तिमार्फत जय श्रीदामप्रति अपनत्वबोध गराउन पनि सफल भएनन् । यद्यपि अभिनयमा अमृत ढुंगाना, विनोद न्यौपाने र राजन खतिवडाको उपस्थितिले चलचित्रलाई प्रभावशाली बनाउने प्रयास नगरेको होइन ।
मौलिक कथा र कथावाचनलाई आत्मसात् गरेकाले चलचित्र जय श्री दामका केही दृश्य सम्झनलायक छन्, तर चलचित्र निर्माणमा पर्याप्त मेहनत गर्न नसक्दा निर्देशक विप्लोबलाई पहिलो गाँसमै ढुंगा लागेको छ ।