साप्ताहिक संवाददाता
मिलन चाम्स अहिलेका सर्वाधिक व्यस्त र सफल निर्देशक हुन् भन्ने कुरामा दुईमत छैन । यही वर्षको प्रारम्भमा ब्लाइन्ड रक्स तथा लिलिबिलीजस्ता सफल चलचित्र दिएका चाम्सले भरखरै चलचित्र वीर विक्रम–२ को छायांकन सम्पन्न गरेका छन् भने लगत्तै बोबी–२ को छायांकनमा जुट्दैछन् ।
आफ्नो कामबाहेक अन्य कुरामा ध्यान नदिने यी निर्देशकले हालै एउटा सार्वजनिक समारोहमा भने राम्रै जोक गरेका छन् । चाम्सले ठाडै भनिदिए– ‘मेरा बारेमा गलत चर्चा गर्नेहरूलाई म श्राप दिन्छु, मैले दिएको श्रापले त्यस्ता गलत ब्यक्तिलाई केही न केही हानि भएकै छ ।’
चाम्स यतिमै रोकिएनन् । उनले थपे– ‘अनमोल केसीसँग जोडेर केही सञ्चारकर्मीले गलत समाचार लेख्नु भएको रहेछ, म गलत समाचार लेख्नेहरूलाई पनि श्राप दिन्छु ।’ चाम्सले श्राप दिने विषयलाई प्राथमिकता दिँदा समारोहमा भेला भएका दर्जनौं सञ्चारकर्मी भने गललल्ल हाँसिरहेका थिए ।