‘माघे सङ्क्रान्ति अर्थात् मकर संक्रान्तिका अवसरमा नुवाकोटको तारुकामा लाग्ने ऐतिहासिक गोरुजात्राका लागि आवश्यक तयारी तीव्र बनाइएको छ । माघे सङ्क्रान्ति गोरुजुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीका अनुसार यो वर्ष १६ हल गोरु जुधाइनेछ ।’
माघे सङ्क्रान्ति अर्थात् मकर संक्रान्तिका अवसरमा नुवाकोटको तारुकामा लाग्ने ऐतिहासिक गोरुजात्राका लागि आवश्यक तयारी तीव्र बनाइएको छ । माघेसंक्रान्ति नजिकिँदै जाँदा स्थानीय किसानहरू जुधाइने गोरुलाई तयार पार्न जुटेका छन् । आफ्ना गोठमा पालिएका बहर गोरुलाई बारीका पाटामा रिहर्सल नै गराएर मेलाको तयारी भैरहेको मेला व्यवस्थापन समितिका सचिव केशव रिमाल बताउँछन् ।
मेलाको तयारीले तारुका यतिबेला बेहुलीझैँ सिंगारिएको छ भने घर–घरमा जुधाइने गोरुको चर्चा–परिचर्चा सुरु भएको छ । माघे सङ्क्रान्ति गोरुजुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीका अनुसार यो वर्ष १६ हल गोरु जुधाइनेछ ।
सदिऔंदेखि चलिआएको गोरु जुधाईमा यो वर्ष पुरस्कार रकम वृद्धि गरिएको बताइएको छ । मेलामा स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले तामाङ तथा मगर जातिको झाँकी, पञ्चैबाजाका साथै बालनसमेत प्रस्तुत गरिनेछ । मौलिक वेशभूषाका साथै राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुतिले समेत मेलालाई थप मनोरञ्जक बनाउनेछन् ।
मल्लकालदेखिको इतिहास बोकेको तारुकाको चन्दनीपाटोमा गोरु जुधाउने परम्परा पुरानै हो । मल्लकालीन राजाहरूको बिर्ता रहेको तारुका क्षेत्रमा गोरुजुधाइको प्रचलन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको पालामा सुरु भएको बताइन्छ ।