साप्ताहिक संवाददाता
कुनै बेला दोहोरो अर्थ लाग्ने संवाद भएका चलचित्र निर्माण हुने क्रम ह्वात्तै बढेको थियो । यौन दृश्यलाई प्रशस्त स्थान दिइने त्यस्ता चलचित्र अहिले फेज आउट जस्तै भएका छन् । ठूलो बजेट, भव्य सेट, आकर्षक लोकेसन भएका चलचित्रले बजार पाउन थालेपछि त्यस्ता चलचित्रको निर्माणमा कमी आएको हो । यद्यपि यदाकदा सानो बजेट, नयाँ अनुहार अनि नयाँ निर्माता–निर्देशकले केही त्यस्ता चलचित्र निर्माण गर्छन्, जसले सिनेमा हलमा न त दर्शक पाउँछन् न त लगानी गरिएको रकम नै सुरक्षित हुन्छ । गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘जे सुकै होस्’ को अवस्था पनि त्यस्तै रह्यो ।
चलचित्रको कथामा खासै खराबी छैन । अहिलेको युवापुस्ता कतिसम्म बिन्दास छ भन्ने कुरालाई यो चलचित्रले पनि उठाएको छ । अहिलेको पुस्तालाई भोलिको चिन्ता छैन भन्ने कुरा नै चलचित्रको मेरुदण्ड हो । अहिलेको पुस्तालाई घरपरिवार मात्र होइन समाजको पनि डर छैन, भविष्यको चिन्ता हुने त कुरै भएन । शारीरिक सम्बन्धमा केन्द्रित माया–प्रेम, अम्मल, टाइम पास आदि कुरामै अहिलेको पुस्ताको ध्यान छ भन्ने कुरा समेटिएको यो चलचित्रका अधिकांश कलाकारले सामान्य भन्दा माथिको अभिनय गर्न सकेका छैनन् ।
करिब ५० लाख रुपैयाँमा तयार पारिएको यो चलचित्रले लगानी सुरक्षित गर्न कम्तीमा डेढ करोड रुपैयाँ कलेक्सन गर्नुपर्छ, तर प्रदर्शन भएको भोलिपल्ट गत शनिबार सिंगल थिएटरमा देखिएको दर्शकहरूको सानो समुहले यसका निर्मातालाई कतिसम्म निराश बनायो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।