साप्ताहिक संवाददाता
नेपाल र फ्रान्सको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्यो । उक्त अवसरमा नेपालमा भव्य कार्यक्रम आयोजित गरियो । फ्रान्सेलीहरू खानपान, वाइन र घुमघाममा निकै सौखिन मानिन्छन् । नेपालका लागि फ्रान्सेली राजदूत फ्रन्सोआ जाविये लेजेले खानपान, घुमघाम तथा अध्ययनका बारेमा साप्ताहिकसँग खुलेर कुराकानी गरे ।
तपाईंको नेपालको बसाइ कस्तो छ ?
राजदूत नियुक्त भएर आएको चार महिना भयो । म नेपालमा रमाइरहेको छु । सक्रिय रूपमा काम गरिरहेको छु, व्यस्त छु । चार महिना बितेको पत्तै भएन ।
पहिलो पटक कहिले नेपाल आउनुभएको थियो ?
पहिले म पर्यटकका रूपमा नेपाल आएको थिएँ । मलाई यहाँका मानिसहरूको मुस्कान लोभ्याउने खालको लाग्यो । यो सहर र देशका बारेमा त्यही बेला केही जानकारी बटुलें । त्यसो हुनाले भावनात्मक रूपमा त्यही बेलादेखि म नेपाल नजिक थिएँ ।
फ्रान्स र नेपालबीच के भिन्नता पाउनुभयो ?
मौसम एकदम फरक छ । त्यस्तै यहाँ पाइने फलफूल र तरकारीमा पनि एकदमै भिन्नता छ । यहाँको हावापानीले गर्दा त्यस्तो भएको होला ।
तपाईंलाई नेपाली परिकारमा के–के मन पर्छन् ?
परम्परागत नेवारी परिकार तथा अयला मनपर्यो । त्यस्तै म:मका साथै दाल, भात, तरकारी पनि मनपर्छ ।
तपाईं प्राय: गैरहने कुनै रेस्टुराँ ?
काठमाडौंमा भएका फ्रेन्च रेस्टुराँहरू गैरहन्छु । जानकारी पाएसम्म प्राय: सबैमा जाने गरेको छु ।
फ्रान्सको वाइन कल्चरका बारेमा केही बताइदिनुहोस् न ?
फ्रान्समा धेरै प्रकारका वाइन पाइन्छन् । जस्तो जुरा, बर्गुन्डी, रोज, बेउजुलस आदि । कतिको त नेपालमा नामसम्म सुनिँदैन । वाइन फ्रेन्चहरूको जीवनशैली नै हो । यो बिना हाम्रो संस्कृति अपुरो हुन्छ । कति त अर्गानिक वाइन पनि पाइन्छन् ।
घुमघाममा कत्तिको रुचि राख्नुहुन्छ ?
एकदमै रुचि राख्छु । म आफ्नो साइकल लिएर काठमाडौं उपत्यका घुम्छु । म चाहन्छु, हरेक साता साइकलमा काठमाडौं घुमौं । यो मेरो रहर र बाचा पनि हो ।
नेपाली युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
एकदम पूर्ण आत्मविश्वासका साथ अघि बढ्नुहोस् । तपाईंहरूमा धेरै नै सम्भावना छन् । प्रशस्त अध्ययन गर्नुहोस् । जब तपाई काम गर्नुहुन्छ, काम गर्नुहोस्, जब पढ्नुहुन्छ, पढ्नुहोस् । आशावादी बन्नुहोस् । चुनौतीहरूको सामना गर्दै अघि बढ्नुहोस् ।
राजदूत फ्रन्सोआ जाविये लेजे, नेपालका लागि फ्रान्सका राजदूत